झुटको खेती कहिलेसम्म ?-विश्वम्भर चञ्चल

झुटको खेती कहिलेसम्म ?-विश्वम्भर चञ्चल


खेती धेरै प्रकारका हुन्छन् । तीमध्ये अहिलेको अवस्थामा र हाम्रो देशको परिप्रेक्ष्यमा सबभन्दा उत्तम खेती झुटको खेती हो । यो खेती हुने क्षेत्र भनेकै राजनीति हो र यसको इतिहास पनि धेरै लामो छ । तापनि अहिले म यहाँ २००७ साल अर्थात् राणा शासनको अन्त्य र प्रजातन्त्रको अभ्युदयपछिको मात्र व्यहोरा प्रस्तुत गर्दै छु ।
लौ, १०४ वर्षे एकतन्त्री शासनको अन्त्य भयो र अब प्रजातन्त्रमा के-के न देलान् राजाले भनेर आश गरेका जनतासामु संविधानसभाको भाकल गरे राजा त्रिभुवनले । जनतालाई रैतीबाट नागरिकमा बदल्छु र त्यही सभाबाट सबैको भलो हुने, देशको सबै समस्याको अन्त्य हुने लोभ त उनले देखाए तर लटरपटरमै उनको इहलीला समाप्त हुनपुग्यो । फेरि चपरचण्ड भएर राजा महेन्द्र निस्के । भुलाए भुलाउनसम्म यी जनतालाई । पहिले यिनले लोभ्याए २०१६ साले आमचुनावको चिचीपापा देखाएर र अन्ततोगत्वा पुस-माघको ठण्डी महिनामा बरफवाग र सुन्दरीजल जेलको हावा ख्वाए नराम्रोगरी जनताका तिनै नेतालाई । अनि जनता जनार्दन भनेका उनका आफ्नै रैती भइहाले, मानौँ तराईका हाम्रा बिर्तावाल जमिनदारहरूले दलिया, हलियालाई गरेजस्तो व्यवहार गरे उनले र कहिले लोककल्याणकारी पञ्चायती व्यवस्था, कहिले प्रजातान्त्रिक पञ्चायत व्यवस्था भनेर झुटकै खेतीमा भुलाए । देश विकासका कुरा पनि गरे राम्रा राम्रा र शिक्षा र उद्योगमा केही प्रगतिका चिह्न पनि देखाए, तर डाँडाकाँडा, पहाड जङ्गल तथा हवेली र दरबार आदि आदिलाई आफ्नै सम्पत्तिमा दर्ता पनि गराए ।
गए उनी पनि जनताका इच्छा र आकाङ्क्षालाई त्यसै छोडेर र आफ्ना भन्नेको भरपूर बन्दोबस्त गराएर । अनि उदय भयो राजा वीरेन्द्रको । बेलायती र अमेरिकी पढाइ लिएर आए उनी जनताको शासन गर्न र आफ्नो राज्याभिषेकको अवसरमा ‘देशका कुनै पनि बालबच्चा शिक्षाबाट वञ्चित हुन नपरोस्’ भनेर घोषणा नै गरिदिए । यति मात्र होइन त्यसका लागि मेरो सरकारले ‘यो यो कार्य गर्नेछ….’ भनेर फेहरिस्त पनि सुनाए । अनि त अरूअरू पनि के-के घोषणा भए-भए । कहिले नेपाललाई एसियाको मापदण्डमा पुर्‍याइने, कहिले कहाँ पुर्‍याइने भनेर सन् वा इस्वी नै तोकिदिए । देश भ्रमणको दौडाहामा पनि लागे । भाटगिरी र चम्चेहरूले जयजयकार खुब गरे उनको । जहाँजहाँ पुगे धागो टाँगेर र राता, हरिया धर्सा कोरेर विकासका प्रगति देखाए । उद्योगका खानीहरू पत्ता लगाए, मानौँ अब नेपाल कृषिप्रधान देश होइन कि औद्योगिक देशमा गनिने छ । यी सब देख्दा उनले प्रफुल्ल मुद्रामा मुन्टो हल्लाउँदै हिँडे । धाप दिए, बकस दिए, तक्मा दिए, जागिर दिए तर साँच्चिकैको यस देशका सुदूर बस्ती, डाँडापाखा र कुनाकाप्चाका गरिब र अशिक्षित जनतालाई केही दिएनन् । केवल उनी र उनका सरकारकोे झुटको खेतीमा नै आश गरेर बसे जनता । उनीबाट पनि केही टाठाबाठा र आसेपासे भाइभारदारहरूले मात्र ‘केही’ लिए । यस्तै सीमित व्यक्ति त हुन् झुटको खेती छरेर वा छर्न लगाएर आफ्नो स्वार्थ पूरा गर्नेहरू ! निराश जनता र उनका नेताले मागे उनीसँग केही नभए पनि हामीलाई झन्डा बोक्ने, नारा लगाउने र बोल्ने अधिकार त लेऊ तिम्रा बाउले खोसेका भनेर । आए प्रजातान्त्रिक नेता विश्वेश्वरप्रसाद कोइराला पनि भारत प्रवासबाट ‘राजा र मेरो गर्धन जोडिएको छ र राजासँग नमिली देशको अस्तित्व पनि रहँदैन’ भन्ने आत्मज्ञान प्राप्त गरेर । भन्नेले त भन्छन्- त्यो पनि झुटको खेती गरेकै हुन् जनतामा र स्वदेश फर्किने वहानामा । किनकि, भारत प्रवास त्यतिबेलाको स्थितिमा उनका लागि उपयुक्त बनेन । यता फेरि उनलाई मृत्युदण्डको हौवा पनि पिटायो तत्कालीन सरकारले ‘ए ! राजासँग घाँटी जोडिएको छ भन्ने तँ’ भनेर र ‘छोरी कुटेर बुहारी तर्साउने’ कामजस्तो गर्‍यो । आखिर राजा र उनका अनुचरको केही लागेन । ‘लौ लाओ त लाओ’ भनेर दिएजस्तो पनि गरेे २०३७ सालको जनमतसङ्ग्रहमार्फत तर अर्को एउटा झुटको खेती छरिहाले ‘बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायत’ भनेर । उनको झुटको खेतीमा तत्कालीन सरकारले भरमग्दुर र भ्याएसम्मको मलजल गरिदियो र सुधारिएको पञ्चायतलाई नै जिताइदियो ।
आरामले राज गरे राजा वीरेन्द्रले ०४६ सालसम्म त, तर टिक्न दिएनन् फेरि तिनै बहुदलको माग गर्नेहरूले । गुहारेर ल्याए क-कसलाई हो आफ्नो घर-आँगनमा र विगुल फुके प्रजातन्त्रको देशमा । आयो पनि प्रजातन्त्र र यसलाई ‘प्रजातन्त्रको पुनर्स्थापना’को नामकरण गरियो । बेपत्ता खुसी भए सारा जनता ‘देश अब कस्तो न हुने भयो, आफूले के-के न पाइने भयोे’ भनेर । तर ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ मात्र पो भयो सबका लागि । राजा वीरेन्द्रको अधिकार कटौती गरेर आफ्ना हातमा डाडुपन्यु त लिए नेताहरूले र टुँडिखेलमा उभिएर कुर्लिए पनि काठमाडौंका सडकसडकमा समेत पानीको छताछुल्ल पारिदिन्छौँ र देशलाई पाँच वर्षभित्रमा सिङ्गापुर बनाइदिन्छौँ भनेर । तर, तातोभुत्लो केही खुइलिएन । मेलम्चीको पानी आज बीस वर्षमा पनि काठमाडौं आइपुगेन र अझ आइपुग्ने सम्भावना पनि छैन । जनता काकाकुल बनेर आकाशतिर घाँटी तेर्स्याएर बस्न बाध्य भए । जलस्रोतको धनी देश भनिएको देशमा चौबीस घन्टाको दिनमा सोह्र-अठार घन्टासम्म लाटोकोसेरो भएर बाँच्नुपर्‍यो । देश सिङ्गापुर होइन, केहीअघिसम्म आठौँ कि नवौँमा भएको यो देश अन्तर्राष्ट्रिय विकासको मापदण्डमा अहिले बंलादेशभन्दा पनि तल झर्‍यो र अब त कुनै दिन भ्रष्टाचारमा पनि एक नम्बरमा आयो भनेर खुसी मान्नुपर्नेछ हामीलेे । जनता उही दु:ख, उही पीडा, अभाव र महँगीमा रुँदै छन् । सीमित आम्दानीका जनतामा आम्दानी बढाउने कुनै उपाय भएन । आम्दानी गर्न नै नसक्नेका लागि कुनै राहत कार्यक्रम ल्याइएन । पहिले दरबार र दरबारका आसेपासेले मात्र पैसा कमाउँथे अब त नेता-नेताले कमाउने भए । उद्योगहरू बेचिए व्यक्तिका नाममा वा भएका पनि बन्द हुने स्थितिमा आए । कालोबजारीले प्रश्रय पायो । नेताज्यूहरूको नजरानामा वा चन्दामा सबै किसिमका अपराधीको अपराध माफ भयो । देश बनाउँछौँ भनेर चप्पल लाएर सहर पसेका नेताले विदेशी जुत्ताको चमक देखाए । डेरामा बसेर भाडा तिर्न नसक्नेहरूलेे महल ठड्याए । डाँडाकाँडा र पाखापर्वत पुगेर जनतासँग उनीहरूका इच्छा पुर्‍याइदिन र उनीहरूकै सेवाका लागि भोट माग्नेहरू सहर पसेपछि ती जनतालाई नाङ्गा खुट्टामा र उनीहरूका हात-काँधका ठेला छाडेर आफूचाहिँ बलेरो र पजेरो नभई बाहिर निस्कन नसक्ने बने । उनीहरूका अनुहार ती गरिब जनताले फेरि कहिल्यै देख्न पाएनन् अर्को चुनाव नआउञ्जेल र वाचाबन्धनका विकासका कुराहरू पनि सिंहदरबारभित्रै हराए । बेइमानीबाट नै मानिसले आर्जन गर्न थालेपछि इमानको मतलबै रहेन । देश झन्झन् भासिँदै गयो । हरेक सरकारका पालामा धेरै कुराका नीति नियम बने, भ्रष्टाचारीलाई कारबाहीका घोषणा पनि भए यो गर्ने र ऊ गर्ने भनेर । तर, ती नीति-नियम कहिल्यै कार्वान्वयन भएनन् मात्र होइन जति भ्रष्टाचार र अपराध गर्न सक्यो उही यस देशका नेता र प्रशासक बन्न पुगे । संविधान र नियम-कानुनको सबले आ-आफ्नै माने लगाए । ऊ पार्टीले पायो एउटा माने लगायो, अर्को पार्टीले पायो अर्को माने लगायो । देश बनाउने नेताहरूकै बीचमा आ-अफूमा बाझाबाझ भयो ।क्रमश: