सत्तारूढ दलका प्रमुख एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेपाली काङ्ग्रेस दलप्रति अभिव्यक्त हडबडीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको महासमितिको बैठकप्रति ध्यान दिनुभएकोप्रति धन्यवाद व्यक्त गर्दछु ।
सर्वप्रथम महासमितिका सबै सदस्यहरू नेपाली काङ्ग्रेसका नेता हुनुहुन्छ भन्ने स्मरण गराउन चाहन्छु । पचास प्रतिशतभन्दा बढी सदस्य नेताहरूद्वारा हस्ताक्षर गरी छलफलका लागि बैठकमा प्रस्तुत गरिएको प्रस्ताव नेपाली काङ्ग्रेसको परिचय र झण्डासँग सम्बन्धित प्रस्ताव हो । नेपाली काङ्ग्रेसको झण्डामा अङ्कित चारतारामध्ये एउटा ताराले ‘नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र बनाउनुपर्छ’ भन्ने कुराको प्रतिनिधित्व गर्दछ ।
नेपाली काङ्ग्रेस लोकतन्त्रमा विश्वास गर्छ । लोकतन्त्रले जनताको बहुमतलाई पहिलो महत्त्व दिन्छ । ८१ प्रतिशत सनातन वैदिकधर्मी अर्थात् हिन्दूधर्मी एवम् लगभग ९७ प्रतिशत ॐकारधर्मी नागरिकको मनमा तथाकथित धर्मनिरपेक्षताले चोट पारेको कुरा नेपाली काङ्ग्रेसका नेताहरूले राम्ररी अध्ययन र मनन गर्नुभएको छ ।
१.३ प्रतिशत इशाई र अन्य विभिन्न धर्ममा आस्था राख्ने सबैलाई सम्मानजनक व्यवहार गर्ने सहिष्णु र उदार स्वभावका ॐकारधर्मीहरू धार्मिक स्वतन्त्रताका पक्षमा छन् ।
एकनाथ नाम गरेका एकजना व्यक्तिको लहैलहैमा लागेर सत्तासीन दल, त्यस दलका शीर्ष नेतृत्व एवम् स्वयम् प्रधानमन्त्रीले ९७ प्रतिशत नेपाली जनताको आस्था, विश्वास र भावनामा लगाएको ठेस टुलुटुलु हेरेर बस्नु भनेको लोकतन्त्रमाथि नै अपमान गर्नु हो । नेपाली काङ्ग्रेस शत प्रतिशत नेपालीहरूलाई ससम्मान धार्मिक स्वतन्त्रता दिन चाहन्छ र कथित एशिया प्यासेफिक सम्मेलनका नाममा बहुसंख्यक नेपालीलाई सरकार एवम् सरकार प्रमुखबाट गरिएको चरम अनादर र अपमानप्रति गम्भीर भएको छ ।
धर्मनिरपेक्षताको आवरणमा नेपाली जनतालाई अनेक प्रलोभन र धम्की दिएर इसाई धर्मको नाममा धन्दा गर्नेहरूलाई सम्पूर्ण संरक्षण दिइएको छ ।
कहिले लुम्बिनीलाई बौद्ध धर्मको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकसित गर्ने अनि कहिले देवघाटधामलाई हिन्दूधर्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउने जस्ता गफ छाँट्दै हिँड्ने तपाईंका विगत र वर्तमानका चरित्र सम्पूर्ण नेपाली जनतासमक्ष उदाङ्गो भइसकेको छैन र ?
प्रचण्डज्यू, तपाईं प्रधानमन्त्री हुनुहुँदा राष्ट्रदेव पशुपतिनाथको पुजारी प्रकरण र तपाईंकै पार्टीका वर्तमान प्रधानमन्त्रीले ‘मूत्र–मदिरा’पान गरेर लिनुभएको पुरस्कारबाट तपाईंको पार्टीलाई मतदान गर्ने सार्वभौम अधिकारसम्पन्न नेपाली मतदाताको मनमा परेको चोट तपाईंकै पार्टीका वरिष्ठ नेताहरूले सञ्चारमाध्यमदेखि पार्टीको बैठकमा समेत जोडदार रूपमा राखिसक्नुभएको छ ।
आफ्नो पार्टी समाप्तिको सीमासम्म पुगिसकेको पीडाबोध भएर नै तपाईंले नेपाली कांग्रेसप्रति इर्ष्या व्यक्त गर्नुभएको त होइन ? आज म तपाईंलाई नै गम्भीर प्रश्न गर्न चाहन्छु- ९७ प्रतिशत नेपाली जनताको आस्था र भावनाका विरुद्ध विषवमन गर्नुपर्ने बाध्यता तपाईंलाई कहाँबाट र कसरी आयो ?
जय नेपाल !
(नेपाली कांग्रेसका डडेल्धुरा सभापति कर्ण मल्लको फेसबुक वालबाट)
प्रतिक्रिया