सन्त नेता कृष्णप्रसाद भट्टराईले निःस्वार्थ भावले देश र जनताको हितमा सदैव लाग्ने पाठ सिकाएको प्रधानमन्त्री केपी शर्मा ओलीले स्मरण गरेका छन् । सन्त नेता किसुनजीको कृष्णप्रसाद ९५औँ जन्मजयन्तीका अवसरमा वाणेगाउँ गोदावरीमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपाल र नेपालीको हितमा आफू डटेर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै देश र जनताको हितमा सदैव तत्पर भएर लाग्ने उद्देश्यका साथ सरकारले विभिन्न योजना बनाएर तदनुरुप काम गरिरहेको दाबी गरे ।
सत्यको पक्षमा स्वर्गीय भट्टराई सधैँ अडिग रहनुभएको, देश र जनताप्रति समर्पित उहाँले १४ वर्ष जेलजीवन बिताएको खुलासा गर्दै प्रधानमन्त्री ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा किसुनजीले निर्वाह गर्नुभएको भूमिकाको सराहना गरे ।
देशको अर्थतन्त्रको विकास तथा आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अग्रसर तुल्याउने वर्तमान सरकारका लक्ष्य र उद्देश्यबाट आफू विचलित नहुने स्पष्ट गर्दै उनले लगानी जुटाउन आगामी मार्चको अन्तिम साता काठमाडौँमा लगानीसम्बन्धी सम्मेलन हुन लागेको जानकारी दिए ।
सोही अवसरमा नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शन्त नेता भट्टराई बहुआयामिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो भन्दै विसं २०४६ को आन्दोलनको नेतृत्व र संविधान निर्माणमा सन्त नेता भट्टराईको अविस्मरणीय योगदान रहेको स्मरण गरे । जेलमा रहँदा भट्टराईले धर्म र दर्शनका बारेमा अध्ययन गर्न सिकाउनुभएको र आज त्यसैलाई अनुशरण गरेर आफूहरू अघि बढिरहेको उनको भनाई थियो ।
कार्यक्रममा उपस्थित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि शन्त नेता भट्टराई इमान र निष्ठाको प्रतीक हुनुहुन्थ्यो भन्दै उहाँले राजनीतिक जीवनमा कहिल्यै पनि छलकपट र बेइमान नगरेको दृष्टान्त प्रस्तुत गरे ।
प्रतिक्रिया