कविगोष्ठीमा घन्किए जेबी टुहुरे

कविगोष्ठीमा घन्किए जेबी टुहुरे


‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयक परिचर्चासहित साहित्य सन्ध्यामा कविगोष्ठी आयोजना भएको छ । सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्राज्ञ डा. हेमनाथ पौडेल, जनगायक जे.बी. टुहुरे, गायक एवम् सङ्गीतकार माधव प्रधानलगायत उपस्थित थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. पौडेलले ‘समाजवादी यथार्थवाद र नेपाली साहित्य’ विषयमाथि तथ्यपरक, यथार्थपरक र विश्लेषणमूलक ढङ्गले उदाहरणसहित विशद चर्चा गरेका थिए ।

जनगायक जे.बी. टुहुरेले ‘देशभक्तहरू सबै जुट्नुपर्ने भो’ र ‘पानी सलल’ बोलका गीत गाएका थिए भने गायक माधव प्रधानले ‘जाति र पाती म मान्दै मान्दिन’ बोलको चर्चित गीत गाएका थिए । सोही समारोहमा बालसाहित्यकार देवकी के.सी.द्वारा लिखित ‘अनौठो तरिकाले’ बालकथा सङ्ग्रहको पनि लोकार्पण गरिएको थियो ।

गोष्ठीमा कणाद महर्षि, उमेश उपाध्याय, धनबहादुर मगर, देवकी केसी, ओमप्रसाद कोइराला, डिल्लीराज अर्याल, राम विनय, मुकुन्द न्यौपाने, गोपाल नेपाल, डा.हेमनाथ पौडेल, डा. हरिप्रसाद सिलवाल, उर्मिला पन्त, कात्यायन, असीम सागर, गणेश घिमिरे ‘मार्मिक’, पार्वती ज्ञवाली, मिसन अधिकारी, मदन मगर, नन्दु उप्रेती, नारायण निरासी, प्रकाश जोशी, अनिता लामा, ऐश्वर्य जोशी, बैरागी जेठा, भावना न्यौपाने, प्रशान्त खरेल र ख्यालमान राईले आआफ्ना कविता, गजल वाचन गरेका थिए ।

वाचित कवितामाथि टिप्पणी गर्दै समालोचक डा. हरिप्रसाद सिलवालले समीक्षा गरेका थिए भने राम विनयले साहित्य सन्ध्याले हरेक महिनामा कुनै न कुनै समसामयिक विषयमा गम्भीर बहस गर्ने र कवितावाचन गर्ने विशेष समारोहको आयोजना गर्ने गरेको जानकारी दिए ।