बैठकपछि साङ्गठनिक एकता पूरा गरिने दाबी

बैठकपछि साङ्गठनिक एकता पूरा गरिने दाबी


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले सात महीनासम्म पनि एकता पूरा नभएकाले स्थायी कमिटी बैठक लगत्तै साङ्गठनिक एकता पूरा गरेर पार्टी एकताको उद्देश्य सफल बनाउने प्रष्टिकरण दिएका हुन् ।

जारी बैठकले सचिवालयबाट घोषणा गरिएको प्रदेश कमिटी अनुमोदन गर्ने, पार्टीको जिल्ला कमिटी, महानगरलगायत तल्ला कमिटी तथा जनवर्गीय सङ्गठनको एकीकरणको आधार तयार गर्ने, केन्द्रीय सदस्यको जिम्मेवारी निश्चित गरी शक्तिशाली र क्रान्तिकारी पार्टी निर्माण गर्न बैठक प्रस्थानविन्दु हुने नेता श्रेष्ठले जानकारी दिए ।

वर्तमान सरकार सफल हुनु र नहुनुमा समग्र देश र पार्टीको समेत भविष्य जोडिएकाले सरकारलाई हरहालतमा सफल बनाइने तर्क गर्दै उनले इतिहासकै शक्तिशाली सरकारसँग जनताको ठूलो अपेक्षा रहेको र यो सरकार असफल भए प्रधानमन्त्री, मन्त्री मात्र असफल नभई देश तथा पार्टीको भविष्यलाई समेत असर गर्ने बताए ।

सो अवसरमा नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपालीले साङ्गठनिक एकता सम्पन्न नहुँदा पार्टी गतिविधि सञ्चालन गर्न अप्ठ्यारो भएको दुखेसो गरेका थिए ।

तस्बिर रासस