लालबाबु र सिंहदरबारको मुहार

लालबाबु र सिंहदरबारको मुहार


– अर्जुनराज पन्त

मुहार फेर्ने मन्त्री अनि तिम्रो मन्त्रिमण्डल
भएकालाई छैन भन्छौ साधु हौ कि चण्डाल ?

जाबो त्यति तेलमा पनि तिम्रो गिद्देमति
ठूला शीर्षक भेटेकोमा खायौ होला कति ?

नारायणीमा ठेल्छु भन्थेउ डिभी-पिआर वाला
मकै देखाई काजु खाने कस्तो तिम्रो चाला ?

संविधानमै नभएको दियौ संज्ञा भूपू
सोझासाधा झुक्काएर लुट्दा रुछौ आफू

दुईचार जना फटाहासँग होला सायद रिसाई
समुदायलाई गाली गरेउ यस्ता शब्द मिसाई

धान चोर्ने मुसासंगै निर्दोष भ्यागुता मिसाई
तिनलाई समेत दियौ कठै अनाहकको पिटाई

तिम्लाई पनि ठेल्नुपर्ने भन्छन अब होला
नारायणी त के पाउला खै हनुमन्ते खोला !

पवित्र छिन् गंगा नदी तिम्लाई अब लिन्नन्
यस्ता ढोंगी चरित्रलाई छेउमै पर्न दिन्नन्

साइकलमा हिंड्ने तिमी पजेरोमा आज
विगतका तस्बिर देख्दा नलागोस् है लाज

मुहार फेर्छु भनीकन कसम खायो जसले
उसको पनि उही पारा गर्छ अब कसले ?

आश गरेका तिमी मन्त्री आज यस्तो पारा
जोगी सबै कान चिरेका भन्न लागे सारा

चुनाव लड्ने खर्च समेत माग्दै हिँड्यौ पहिले
अजंगको ब्यांकखाता जम्मा भयो कहिले ?

मगन्ते त्यो बानी तिम्रो सम्पति चाहिँ यत्रो !
यति मात्रै हैन होला लुकाका छौ कत्रो ?

अति गरिब निमुखाको पनि लियौ चन्दा
उनकै पेटमा लात हान्दै आज यस्तो धन्दा !

सबै पछि लागे तिम्रा सुशासनको आशले
नपोलोस है अब तिम्लाई गरिबका गाँसले

गरिबलाई लात मार्दै माफियालाई इस्ट
कम्युनिस्टको झन्डा ओढी धन्दा कमाउनिष्ट !

लिएकाथ्यौ जसको पैसा फिर्ता गर सब
ब्याजमाथि बक्सिस थपिदिँदा पुग्छ अब

सरकारले पाको’छ रे सुशासनको तक्मा
कस्तो कार्बाही होला बरै यी मन्त्रीका हकमा

इतिहासमै पहिलोपल्ट दुई तिहाईको साथ
भ्रस्टहरु कार्बाही गर्दा नकाँपोस् है हात

सुशाशनको तिम्रो नारा भए तिम्रो आँट
शुरु गर कार्बाही अब सिंहदरबारबाट

सदनको ब्यवहारले कस्तो नजिर आयो
पक्रिएमा फिर्ता गर्यो अनि माफी पायो !?