प्राज्ञ परिषद् पदाधिकारीहरूको विदाई

प्राज्ञ परिषद् पदाधिकारीहरूको विदाई


नेपाल प्रज्ञा–प्रतिष्ठान वर्तमान प्राज्ञ परिषद्ले निवर्तमान प्राज्ञ परिषद् पदाधिकारीहरूलाई स–सम्मान विदाई गरेको छ । गत मंगलबार एक समारोहको आयोजनासहित गरिएको विदाई कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ र सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले फूलमाला, सम्मानपत्र र मायाको चिनो समर्पण गरी निवर्तमान प्राज्ञ परिषद्का सदस्य सचिव प्राडा जीवेन्द्रदेव गिरी, प्राज्ञ परिषद् सदस्य मातृका पोखरेल र नर्मदेश्वरी सत्याललाई सम्मान गर्नुभएको थियो ।

विदाई समारोहमा अन्य प्राज्ञहरू भने व्यस्तताका कारण उपस्थित हुन सक्नुभएन । निवर्तमान प्राज्ञ परिषद्का कुलपति उप्रेतीसहित प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त र प्राडा उषा ठाकुर भने वर्तमान प्राज्ञ परिषद्मा पुनः अर्को कार्यकालका लागि मनोनित हुनभएको छ ।

समारोहमा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानको समग्र प्राज्ञिक उन्नयनका लागि निवर्तमान प्राज्ञ परिषद्का पदाधिकारीहरूले खेल्नुभएको भूमिका र पुऱ्याउनुभएको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो ।

कुलपतिले आगामी दिनमा पनि निवर्तमान प्राज्ञ परिषद्का पदाधिकारीबाट प्रतिष्ठानले रचनात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा उपकुलपति डा. गुरुङ र सदस्य सचिव प्रा. उपाध्यायले पनि बोल्नुभएको थियो ।

निवर्तमान सदस्य सचिव प्राडा गिरीले वर्तमान प्राज्ञ परिषद्ले कुनै पनि प्राज्ञिक सहयोगका लागि सम्झेको खण्डमा सहयोगका लागि आफूहरू सदैव तयार रहेको बताउनुभएको थियो । कार्यक्रम तथा योजना महाशाखाका बुद्धि तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो ।