- बबिता बस्नेत
तपाईंले विवाह किन गर्नुभएन ?
– अँ, गरिनँ ।
इच्छा भएन या अरू नै कुनै कारणले ?
– अब इच्छा पनि रहेन ।
इच्छा नभएको पनि कारण त होला नि ?
– कारण ? शायद समय भएन ।
मानिसहरू भन्छन्, तपाईं झूट बोल्नुहुन्न, तर अहिले जे भन्नुभयो, त्यसलाई सत्य मान्न सकिएन भने ?
– मैले झूट बोलेको छैन ।
फेरि पनि सत्य त बोल्नुभएन ?
– म यो विषयमा प्रवेश गर्न चाहन्न ।
सत्य त बोल्नु भो तर किन प्रवेश नगर्ने ?
– यो कुरा मैमा निहित रहन दिनोस् ।
जीवनमा लुकाउनुपर्ने कुरा धेरै हुन्छन् कि खोल्नुपर्ने ?
– थाहा भएन ।
लुकाउनुको अर्थ के हुँदोरहेछ जीवनमा ?
– शायद यही समाज जसले सत्य बुझ्न चाहँदैन, कदाचित बुझिहाले पनि आफ्नै अर्थमा बुझ्छ ।
जीवन के हो जस्तो लाग्छ ?
– निश्चित परिभाषा छैन, तपाईं कसरी जिउनुहुन्छ त्यसमा भरपर्छ ।
तपाईंका लागि ?
– अधुरा प्रयासहरूको थालनी ।
यस्तै प्रश्नोत्तरहरूले करिब एक घन्टाको समय बित्यो । जीवनमा अन्तर्वार्ता त उसले धेरै दिइ, तर यो अन्तर्वार्ताले आज उसलाई नराम्ररी बिथोलेको छ । कुनै दिन कुनै पत्रकारबाट यस्ता प्रश्नहरूको वर्षा होला भन्ने सोचेकै थिइन । जीवनका ३५ वर्ष विभिन्न अनुसन्धानहरूमा बिताएकी उसले आफ्नो जीवनलाई कमै मात्रामा फर्किएर हेरेकी छे । सधैं हतार र दौडधुपमा जीवन गुजार्दै हिजै मात्र आफ्नो जीवनको ६०औं वर्ष प्रवेश आफ्ना केही नातेदार र साथीहरू माझ मनाएकी थिइ । बाल्यकाल र किशोरावस्थामा ६० वर्षलाई उसले जीवनको उत्तरार्द्ध या भनौं मृत्युलाई अत्यन्त नजिक पुग्ने वर्षको रूपमा लिएकी थिइ । तर, अहिले लागिरहेको छ, जीवनमा थुप्रै-थुप्रै अधुरा कामहरू बाँकी छन् र मृत्यु उसको कल्पनाभन्दा निकै टाढा छ ।
टेलिभिजनमा आएको एक घन्टा लामो अन्तर्वार्तापछि धेरैले उसलाई टेलिफोनबाट बधाई दिए र अन्तर्वार्ताको प्रशंसा गरे । तर, ऊ त्यो अन्तर्वार्तापछि यसरी बिथोलिएकी छे कि त्यति ठूलो असन्तुष्टि त जीवनमा उसलाई कहिल्यै भएको थिएन । अन्तर्वार्ताको क्रममा सोधिएको जीवनमा लुकाउनुपर्ने कुरा धेरै हुन्छन् कि खोल्नुपर्ने ? भन्ने प्रश्नको जवाफले उसलाई आत्मग्लानिको महसुस गराएको छ । प्रश्न आशा गरिएको भन्दा भिन्न थियो तर जवाफ दिनै नसक्ने प्रकारको भने थिएन । उसलाई भन्न मन लागेको थियो- ‘शायद लोग्नेमान्छेहरूले सार्वजनिक गर्ने धेरै कुराहरू हुन्छन् र महिलाहरूले लुकाउने ।’ त्यो नै उसको जीवनको अनुभव थियो, तर उसले भन्न सकिन । आफूभित्र लुकेको एउटा सत्य खुल्ला गर्ने क्रममा उसले कैयन दिन र रातहरू तनावमा बिताएकी छे, धेरै मान्छेलाई चिन्ने मौका पाएकी छे, लोग्नेमान्छेहरूप्रति धारणा बनाउने दुस्साहस गरेकी छे । ‘विवाह किन गर्नुभएन ?’ प्रश्न साधारण थियो, तर दिनुपर्ने उत्तरभित्र लुकेको वास्तविकतालाई उसले त्यो उमेरमा आएर पनि व्यक्त गर्न सकिन । उसलाई लाग्छ- यदि कसैले म सार्वजनिक जीवनमा भएको कारणले व्यक्तिगत जीवनतर्फ रुचि नै भएन भन्यो भने कि त ऊ ढोंगी हो कि त उसले सोचेजस्तो जीवन नै बाँच्न पाएको छैन । त्यही सोचेजस्तो जीवन बाँच्न नपाएको मानिसभित्र ऊ पनि पर्छे ।
भौतिक सुखसुविधा त ऊ आफैं पनि जुटाउन सक्थी, त्यसैले उसलाई लाग्थ्यो- यस्तो मान्छे जीवनमा आओस् जो उसलाई निसर्त माया गरोस् र निस्वार्थ रूपले उसले चालेका कदमहरूमा साथ देओस् । सर्तरहित माया गर्ने जीवनसाथी उसको जीवनको सपना नै थियो भने पनि हुन्छ ।
हरेक मानिसको व्यक्तिगत जीवनले ऊभित्र कति फरक पारिरहेको हुन्छ र त्यो कति महत्वपूर्ण हुन्छ भन्ने कुरा उसले अनुभव नगरे पनि राम्ररी बुझेकी छे । जीवनमा खुसी खोज्ने क्रममा कतिपय मानिसहरूका अगाडि ऊ पटक-पटक टुक्रिएकी छे, आफूलाई दुखाएकी छे । आफ्नो बाल्यपन, किशोर अवस्था र यौवनका क्षणहरूको सम्झना र विश्लेषण गर्ने क्रममा अहिले उसलाई लागेको छ, ‘मानिसहरू कति स-साना कुराहरूमा अल्झिएर अमूल्य समय केवल गुजार्ने काम गरिरहेका छन् । र, यो संसारमा आफ्नो स्वार्थबाट मात्रै निर्देशित कुनै प्राणी छ भने त्यो पनि मानिस नै हो ।’ यो निष्कर्षका पछि उसको जीवनका सारा भोगाइहरू साक्षी छन् ।
विवाहको अर्थ नबुझ्दै उसको विवाह भएको थियो, जतिबेला ऊ मात्र तेह्र वर्षकी थिइ र आठ कक्षामा पढ्थी । विवाहको भोलिपल्टै लोग्नेले घर छोडेर हिँडेपछि माइतमा बसेर पढाइलाई अघि बढाउँदै आएकी उसले श्रीमान्ले सानैदेखि आफूले मन पराएकी केटीलाई लिएर तराईमा बसिरहेको खबर करिब एक वर्षपछि पाएकी थिई । उसको विवाह किन भएको थियो र उसले किन छाड्यो भन्ने कुरा न त उसले थाहा पाई न बुझ्ने कोसिस नै गरी । उसका दाजुभाइहरूले पनि त्यो विषयमा कहिल्यै चर्चा गरेनन् । बुबाले भने पटकपटक ‘हामीले गल्ती गर्यौं माफ गर’ भनेको उसलाई सम्झना छ । पश्चिम पहाडी जिल्लामा जन्मिएकी उसलाई विवाहको नाममा जग्गे, बाजा र रातो सारी लगाएर करिब एक दिनको बाटो हिँडेको सम्झना छ । श्रीमानको अनुहार त उसले राम्ररी देखेकी पनि थिइन र ऊसँग कुनै प्रकारको संवाद पनि भएन । पछि एसएलसी गरेपछि नचिनेको ठाउँमा विवाह गरिदिन सजिलो हुने ठानी मामलीहरूले पढाइको निहुँमा काठमाडौं ल्याएका थिए । पढाइ सकेपछि ‘अनुसन्धान’लाई उसले आफ्नो करियरको क्षेत्र बनाइ र देश, विदेश, गाउँ, सहर, काम र दौडधुपको यात्रा करिब ३५ वर्षसम्म जारी रह्यो ।
आममानिसलाई जस्तै जीवनमा खुसी हुने रहर उसलाई पनि नभएको होइन । ऊ चाहन्थी- उसलाई हरप्रकारले बुझ्ने जीवनसाथी होस्, जोसँग ऊ हरेक कुरा खुलस्त भन्न सकोस्, विगत, वर्तमान र भविष्यका कल्पना र योजनाहरू सबै-सबै नै । भौतिक सुखसुविधा त ऊ आफैं पनि जुटाउन सक्थी, त्यसैले उसलाई लाग्थ्यो- यस्तो मान्छे जीवनमा आओस् जो उसलाई निसर्त माया गरोस् र निस्वार्थ रूपले उसले चालेका कदमहरूमा साथ देओस् । सर्तरहित माया गर्ने जीवनसाथी उसको जीवनको सपना नै थियो भने पनि हुन्छ । मानिसहरू नभेटिएका पनि होइनन्, कामकाजी जीवनमा प्रवेश गरेपछि जीवनमा कहिल्यै अनुभूति नगरेको प्रेम भएको थियो कसैसँग । करिब तीन वर्ष उसले त्यही मानिसलाई आफ्नो जीवनसाथीको कल्पना गरेर बिताई । जब उसले विवाहको प्रस्ताव राख्यो ऊ खुलस्त हुन चाही र आफ्नो तीतो यथार्थलाई अगाडि सारी । ‘मेरो तेह्र वर्षको उमेरमा विवाह भएको थियो’ मात्र उसले के भनेकी थिई ‘तिमी यति ढोंगी हौली भन्ने मैले सोचेको पनि थिइनँ’ भन्दै विभिन्न लाञ्छना लगाएर तत्कालै उसले सम्बन्ध टुटेको घोषणा गऱ्यो र त्यहाँबाट हिँड्यो ।
समाज केवल मानिसको सुखका पछाडि दौडिन्छ भन्ने उसको अनुभव छ । कसैले सुख पाए समाजले राम्रो गर्छ, दुःखीहरूको पछाडि समाज हुँदैन । दुःख यस्तो कुरा हो जसले मानिसलाई एक्लै बनाउँछ र एक्लो हुनुको परिणति केवल आफूले मात्र भोग्नुपर्छ न कि समाजले । दुःखीहरूको पछाडि भीड हुँदैन, शुभेच्छाहरू हुँदैनन्, सुख पाउनेहरूका पछाडि शुभचिन्तकहरूको लाम लागिरहेको हुन्छ ।
त्यसको दुई महिनापछि केटाको विवाहको निम्ता पाएकी थिइ । त्यो पीडाबाट मुक्ति पाउन उसलाई वर्षौं लाग्यो । यात्रामा अर्को एउटा मान्छे भेटियो जो उसलाई दिनको एउटा प्रेमपत्र लेख्थ्यो र ऊबिना बाँच्ने कल्पना पनि नगर्ने कुरा गर्थ्यो । पछि जब उसले विवाहका लागि काम छोड्नुपर्ने सर्त राख्यो ऊ छाँगाबाट खसेजस्तै भई । ऊसँग शायद त्यति धेरै निकटता महसुस गरेकी थिइन, त्यसैले त्यति ठूलो अर्थ राखेन जीवनमा उसको उपस्थिति र अनुपस्थितिले । जस-जसले उसलाई मन पराउँछु या प्रेम गर्छु भने, तिनीहरू सबैमा उसले कुनै न कुनै स्वार्थ देखी । उसलाई लाग्यो- कसैले उसको कामलाई मन पराए, कसैले अनुहारलाई, कसैले सम्पत्तिलाई त कसैले यौवनलाई । जुन प्रकारको प्रेम ऊ चाहन्थी, कहिल्यै महसुस गर्न सकिन, जीवनसाथी ऊ चाहन्थी- त्यस्तो प्रकारको छाया पनि देख्न पाइन ।
तर, ती सबैमा एउटै कुरा समान के रह्यो भने उनीहरू खुलेर पूर्वप्रेमिकाहरूको कुरा गर्थे, तिनको कुरा गरेर खिल्ली उडाउन र भावुक हुन स्वतन्त्र थिए उनीहरू । जीवनको पछिल्लो चरणमा विवाह असफल भएका र पत्नीको देहान्त भएकाहरूसँग समेत नातेदार र साथीहरूले उसको कुरा चलाए । तिनमा पनि उस्तै प्रवृत्ति देखियो । कसैले स्वास्नीको आलोचना गरे, कसैले बूढेसकालमा सहाराका लागि विवाह जरुरी भएको बताए । आफ्नो विगतका विषयमा उनीहरू खुलस्त रहे र ऊ सधैं खुम्चिरही । जीवन-यात्राको क्रममा उसले कुनै पनि महिलालाई कामका कारणले दिने सम्मानको आँखाले भन्दा यौनिकताका आँखाले हेरेको अनुभव गरी । आफूले आदर्श ठानिरहेका कतिपय व्यक्तिहरूले समेत एकान्तमा भेट्न राखेको चाहनाले उसलाई लोग्नेमान्छेहरूप्रति फरक धारणा बनाउन बाध्य बनाएको छ ।
चाहेर-नचाहेर जीवनको उत्तरार्द्धमा अहिले ऊ जीवनलाई फर्किएर हेर्न बाध्य भएकी छे । जीवन-यात्राका क्रममा उसले धेरै उतारचढावहरू भोगेकी छे । समाजसँग डराएर मानिसहरूले आफ्ना खुसीसँग सम्झौता गरेको देखेकी छे । ऊ आफैंले पनि स-साना कुराहरूमा अल्झिएर जीवनको भागदौडमा थुप्रै-थुप्रै कुराहरू, आफ्ना खुसीहरू समाजका नाममा आहुती दिएकी छे । बाँचुञ्जेलको खुसी एउटा सुन्दर अनुभूति बनोस् भन्ने ऊ चाहन्थी । मृत्युसँगको भय पनि उन्मूलन गर्न सक्ने खुसीको अपेक्षा गरेकै कारणले होला सायद उसले व्यक्तिगत जीवनमा त्यस्तो अनुभूति कहिल्यै गर्न पाइन । समाज केवल मानिसको सुखका पछाडि दौडिन्छ भन्ने उसको अनुभव छ । कसैले सुख पाए समाजले राम्रो गर्छ, दुःखीहरूको पछाडि समाज हुँदैन । दुःख यस्तो कुरा हो जसले मानिसलाई एक्लै बनाउँछ र एक्लो हुनुको परिणति केवल आफूले मात्र भोग्नुपर्छ न कि समाजले । दुःखीहरूको पछाडि भीड हुँदैन, शुभेच्छाहरू हुँदैनन्, सुख पाउनेहरूका पछाडि शुभचिन्तकहरूको लाम लागिरहेको हुन्छ । यद्यपि कसैले पाएको व्यक्तिगत सुखले समाजलाई खासै योगदान भने पुऱ्याइरहेको हुँदैन ।
ऊ देखिरहेकी छे- कति मानिसहरू नामका पछाडि दौडिएका छन्, कति धनका पछाडि हात धोएर लागेका छन् । जो-जेका लागि हिँडिरहेका छन्, आफूले के-के नै गरिरहेको अनुभूति गरिरहेका छन् ।
त्यसैले अहिले उसलाई लागिरहेको छ- मानिसले जे गर्नुछ त्यो आफ्ना लागि गर्नुपर्छ । यसको अर्थ आत्मकेन्द्रित हुनुपर्छ भन्ने होइन । काम गर्दै जाँदा जानेर/नजानेर, चाहेर/नचाहेर त्यसले समाज र राष्ट्रलाई योगदान पुऱ्याइरहेको हुनसक्छ । कतिपय अवस्थामा मानिसले जीवन बाँच्ने क्रममा केही गर्दागर्दै त्यसले स्वतः समाज र राष्ट्रलाई योगदान पुऱ्याइरहेको हुन्छ । आफ्ना लागि गरिरहेका कतिपय मानिसहरूले ‘म देशका लागि गरिरहेको छु’ भनेको उसले प्रशस्त सुनेकी छे । त्यस्ता ढोंगीहरूको जमातबाट छुटकारा पाउने चाहनामा उसले आफू संलग्न कति सङ्घ/संस्थाहरू छोडी, कति साथीहरूसँगको सङ्गतबाट आफूलाई टाढा राखी, तर परिणाम के भयो ? त्यसको हिसाबकिताब कहिल्यै राखिन । ऊ देखिरहेकी छे- कति मानिसहरू नामका पछाडि दौडिएका छन्, कति धनका पछाडि हात धोएर लागेका छन् । जो-जेका लागि हिँडिरहेका छन्, आफूले के-के नै गरिरहेको अनुभूति गरिरहेका छन् ।
उसलाई पनि हिजो त्यस्तै लाग्थ्यो, विदेश भ्रमणमा जाँदा होस् या आफ्नो अनुसन्धानको प्रस्तुति गर्दा- म जस्तो ज्यादै कम मान्छेहरू छन् भन्ने भान नभएको होइन । तर, के भयो ? गरुञ्जेलको सन्तुष्टि, एउटा भ्रम । अहिले ऊ सोचिरहेकी छे- टाढाको किन कुरा गरौं ? एक सय वर्षअगाडि यो मुलुकमा कति मानिसहरू विद्वान् थिए होला, कतिले धन कमाए होला, कतिले खान पाएनन् र सडकमा जीवन गुजारा गरे होला, कतिले पे्रम गरे होला, कतिले धोखा दिए र पाए होला, कतिले समाजका लागि आफ्ना खुसी बलिदान गरे होला । खै आज तिनको हिसाबकिताब कसले राखेको छ ? उनीहरूले पाएको दुःख, खुसी र भोगेको पीडाले आज के अर्थ राखेको छ ? त्यसैले जीवन बाँचुञ्जेलका लागि हो । मानिस एकपटकका निम्ति यो पृथ्वीमा जन्मन्छ र जब उसको मृत्यु हुन्छ कहिल्यै फेरि फर्किएर आउँदैन । यदि जीवनको यो अन्तिम सत्यलाई स्विकार्ने विवेक मानिसहरूमा हुँदो हो त संसार साँच्चीकै रोमाञ्चकारी र उल्लासमय हुने थियो होला । तर, जिन्दगीको भागदौडमा मानिसले मुख्य कुरा नै बिर्सिरहेको हुन्छ । अन्तिम सत्यबाट गुज्रिनुपर्ने तीतो सत्यलाई आत्मसात् गर्न त्यति सजिलो पनि छैन ।
उसलाई अहिले लागिरहेको छ- धेरै खोजी नगर्ने हो भने जीवन कम्तीमा आफ्नो खुसीका निम्ति बाँच्नुपर्छ, तर आफू खुसी हुनका लागि अरूलाई दुःखी बनाउन भने हुँदैन । विगतको सम्झनाबाट मुक्त हुन नपाउँदै अनुसन्धानको क्रममा विभिन्न दृष्टिकोणबाट समाजलाई नियालेकी उसलाई विश्वविद्यालयमा उसकै जीवनमा शोधपत्र लेख्दै गरेको उही पत्रकारले टेलिफोनमा प्रश्न गऱ्यो- तपाईंको व्यक्तिगत भोगाइमा समाज ? उसले यति भनी- जीवनमा कैयनपटक वर्षात् हुने त्रासमा बिस्कुन सुकाइएन, घाम लाग्ने आशमा छाता बोकिएन, जे सोचियो त्यो उल्टो भयो, जसको हिसाबकिताब समाजले राखेन ।
(‘सम्बन्धहीन सम्बन्धहरु’बाट)
प्रतिक्रिया