एकता प्रक्रियाका बाँकी कामको प्रतिवेदन दश दिनभित्र तयार पार्न निर्देशन

एकता प्रक्रियाका बाँकी कामको प्रतिवेदन दश दिनभित्र तयार पार्न निर्देशन


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले आगामी दश दिनभित्र एकता प्रक्रियामा बाँकी रहेका काम टुङग्याउने कार्यादेश पाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) भएको छलफलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता प्रक्रियामा बाँकी रहेका काम टुङग्याउने गरी प्रतिवेदन दिन कार्यदललाई संयुक्त रुपमा निर्देशन दिएका हुन् ।

कार्यदलले केन्द्रीय सदस्यको जिम्मेवारी, जिल्ला कमिटीका अध्यक्ष एवम् सचिवको चयन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति र जनवर्गीय सङ्गठनको एकताका विषयमा सुझाव दिने बताइएको छ ।

यस्तै प्रदेश कमिटी गठन गर्दा देखिएका केही असन्तुष्टिलाई समेत सम्बोधन गर्न कार्यदललाई जिम्मा दिइएको छ ।

नेकपाको हालै सम्पन्न स्थायी समितिको बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम टुङ्ग्याउन कार्यदल बनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य रामबहादुर थापा तथा स्थायी समिति सदस्य शङ्कर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, वेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्रप्रसाद पाण्डे र लेखराज भट्ट सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

कार्यदलले आवश्यक परामर्श गरी प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा एकता प्रक्रियामा बाँकी रहेका कामलाई टुङ्गो लगाउने सो पार्टीका नेताहरु बताउँछन् ।

कार्यदलका एक सदस्यका अनुसार सङ्गठनात्मक एकतासम्बन्धी विषयलाई कार्यदलले समग्र प्रस्ताव तयार पारी बुझाउनेछ ।

बताइएअनुसार पार्टीको विधानमा बाझिएका केही विषयमा समेत कार्यदलले सुझाव दिनेछ । यस्तै पार्टीको तल्ला तहसम्मको एकताका विषयमा समेत प्रस्ताव तयार पार्न अध्यक्षद्वयले निर्देशन दिएका छन् ।