नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेश कुमार सिंहले वाइडबडी विमानमा व्यापक भ्रष्टाचार भएको र यसको सम्पूर्ण प्रमाणको कागजात आफूसँग रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आजको पहिलो बैठकलाई सम्बोधन गर्दै सांसद् डा. सिंहले जहाज खरिद गर्दा नेपालको खरिद ऐनलाई पालना नगरिएको उल्लेख गरेर संसदको ध्यान आकर्षित गरे । उनले अमेरिकन कम्पनीसँग एमयु तथा विडिङ गरेर खरिदचाहिँ आयरल्याण्डको कम्पनीसँग गरिएको खुलासा गर्दै सो कम्पनी ‘एक डलरको कम्पनी’ रहेको र भ्रष्टाचार गर्नकै लागि रातारात खडा गरिएको समेत दाबी गरे ।
उनका अनुसार सो जहाजको खरिद सम्झौता २६ जनवरी २०१७ मा गरिएको छ भने यसरी सम्झौता गरिएको कम्पनीको दर्ताचाहिँ एक महिनापछि अर्थात् २१ फेब्रुअरी २०१७ मा भएको छ । पहिले सम्झौता र पछि मात्र कम्पनी खडा भएको देखिनु भ्रष्टाचारको ज्वलन्त प्रमाण भएको उनको दलील छ ।
यस्तै, २ सय ४२ टनको जहाज किन्ने सम्झौता भएको तर सप्लाई गर्दा २ सय ३० टनको मात्र गरिएको खुलासा गर्दै यसबाट पचास जना यात्रु क्षमता कम हुन जाने र मासिक घाटा करोडौँ हुन पुग्ने उनले जानकारी दिए । यस्तै, चाँडो जहाज आवश्यक परेको भन्दै आउटडेटेड किनिएको पनि उनले बताए ।
संयुक्त संसदीय समिति गठन गरी यस महाभ्रष्टाचारको छानविन गर्न सांसद सिंहले माग गरेका छन् । नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्ने पनि उनले औंल्याएका छन् ।
बुलन्द आवाजमा सांसद डिा. सिंहले भने– ‘६ अर्बको भ्रष्टाचार भएको छ, त्यो रकमले करोड–करोडका ६ सय वटा स्कुल बन्ने थियो, दस–दस करोडका साठी वटा अस्पताल बन्ने थियो, त्यत्तिका संख्याको स्कुल र अस्पतालको पैसा खाने यही भ्रष्ट सरकार हो ।’ प्रधानमन्त्रीतर्फ तोकेरै उनले भ्रष्टाचारीमाथि कारवाही हुनुपर्ने माग गरे ।
प्रतिक्रिया