यस्तो आयो पौडेलको तर्क- ‘हात मिलाउँदैमा पार्टी एकता हुन्छ ?’

यस्तो आयो पौडेलको तर्क- ‘हात मिलाउँदैमा पार्टी एकता हुन्छ ?’


हालै सम्पन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवासँग हात मिलाएर चर्चा बटुलेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने अभिव्यक्ति दिएर कार्यकर्तालाई रनभुल्ल तुल्याएका छन् ।

काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ (तनहुँ)ले मंगलबार नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताए ।

न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुने उनको धारणा थियो ।

नेता पौडेलले विषयवस्तुमा आधारित भएर एकता चाहेको उल्लेख गर्दै विधानमा एकता गर्न सकिने बताए। ुपार्टीमा क्यालेण्डरअनुसार काम गरौँ, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौँ, त्यसमा एकता हुन्छ, देखाउनका लागि मात्रै नक्कली एकता काम छैनु भन्दै उनले
पार्टीमा गलत काम भएपछि विरोध हुनु स्वभाविक हुने र सभापतिले समग्र पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।

सभापति पार्टीका कार्यकर्ताको भावनाअनुसार चल्न नसकेका कारण आफूले सभापति विरुद्ध आवाज उठाउनु परेको उनको भनाइ थियो । काङ्ग्रेस सदनमा हराएको जस्तो देखिएको उल्लेख गर्दै पौडेलले सरकारलाई खबरदारी गर्न समेत प्रतिपक्षीले नसकेको बताए ।

कार्यक्रममा महासमिति सदस्य रामचन्द्र अधिकारी, महाधिवेशन प्रतिनिधि दीपक भट्टराई र मानकाजी श्रेष्ठ, क्षेत्रीय संयोजक सहदेव अधिकारी, बन्दिपुर गाउँपालिका सभापति कर्णबहादुर खत्री, वडा नम्बर १ का सभापति रेशमबहादुर थापालगायतले पार्टीमा गुटबन्दी अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।