एकनाथ पक्राउ पर्न सक्ने !

एकनाथ पक्राउ पर्न सक्ने !


युनिफिकेसन चर्चमा आबद्ध रही नेपालमा धर्म परिवर्तनका निम्ति सक्रिय रहेका एकनाथ ढकाल नामक व्यक्तिप्रति कम्युनिस्ट नेताहरूसमेत क्रूद्ध बनेको बुझिएको छ । गत महिना एसिया प्यासिफिक समिटका नाममा यहाँ (काठमाडौंमा) आयोजित इसाईहरूको सम्मेलन समापन भएलगत्तै दक्षिण कोरिया फर्किएर ढकालले दिएको बयानका कारण कम्युनिस्ट नेताहरू क्रोधित बनेका हुन् ।

नेपालमा हामी (इसाई)हरूको भव्य कार्यक्रम सम्पन्न भएको र त्यस कार्यक्रममा सहभागी नेपालका प्रधानमन्त्री तथा ठूलाठूला नेताहरूले म्याडम मुनलाई क्राइष्टको पुत्रीका रूपमा स्वीकार गरेको अभिव्यक्ति ढकालले दिएका थिए । ढकालले भनेका थिए, ‘माताले नेपाल भ्रमण गर्नुभयो र नेपालमा उहाँले थुप्रै राज्य र सरकारका अगाडि ईश्वरीय नेपाल र ईश्वरीय हिमालयको घोषणा गर्नुभयो । त्यहाँ माताले जिससकी एक मात्र छोरी आफू भएको घोषणा गर्नुभयो र यो घोषणाको विरोध कसैबाट पनि भएन । सबैले मातालाई जिससकी एक मात्र पुत्रीका रूपमा स्वीकार गरेका छन् । यसबाट मातालाई जिससकी एक मात्र छोरी भएको वैधानिकता प्राप्त भएको छ ।’

कोरिया पुगेर ढकालले दिएको अभिव्यक्ति झुटो र आपत्तिजनक भएको ठम्याइ स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीको पनि भएको बताइन्छ । गलत र झुटो अभिव्यक्ति दिएर नेपालको सरकार, कम्युनिस्ट पार्टी, प्रधानमन्त्री र कम्युनिस्ट नेताहरूको छविमा नराम्रो धक्का पु¥याएको ठहर प्रधानमन्त्री ओलीलगायत सबै नेताहरूले गरेका छन् । त्यसैले ढकाल नेपालमा फर्किएलगत्तै उनलाई गिरफ्तार गरी आवश्यक कानुनी कारबाही शुरु गरिने सम्भावना रहेको छ ।

नेकपाका नेताहरूले ढकाललाई पक्राउ गरी कानुनी कारबाही गर्न दबाब दिएका छन् । तर ‘होली वाइन’ सेवन गरिसकेका कम्युनिस्ट नेताहरूले ढकाललाई गिरफ्तार गरी कारबाही गर्ने हिम्मत कसरी गर्न सक्ने हुन्, यो भने प्रतीक्षाको विषय बनेको छ ।