रामचन्द्र पौडेलले गोविन्दराज जोशीलाई महासमिति बैठकमा उपस्थित हुनबाट रोक लगाएपछि जोशीले गृहजिल्ला तनहुँबाट नै पौडेललाई तह लगाइदिने अभियान शुरु गरेका छन् ।
नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य र पूर्वमन्त्री एवम् महासमिति सदस्य गोविन्दराज जोशीलाई यही पुसको पहिलो साता सम्पन्न महासमितिको बैठकमा सहभागी हुनबाट रोक लगाउन रामचन्द्र पौडेलले पार्टी सभापति देउवालाई प्रयोग गरेका थिए । रामचन्द्रले गोविन्दराज जोशी महासमिति बैठकमा आए आफूले सहभागिता नजनाउने भनी सभापति शेरबहादुर देउवासँग घुर्की लगाएपछि देउवाले जोशीलाई टेलिफोन गरी महासमिति बैठकमा नआएर सहयोग गरिदिनुप¥यो भनेका थिए ।
तपाईं आउने भए रामचन्द्र बैठकमा भाग नलिने भन्दै छन्, त्यसैले नआएर सहयोग गरिदिनुप¥यो भनेर पार्टी सभापतिले भनेपछि गोविन्दराज जोशी महासमिति सदस्य भएर पनि बैठकमा सहभागी हुन गएनन् । बैठकमा सहभागी हुन नगए पनि जोशी चुप लागेर भने बसेनन् । उनले आगामी माघ ८ गते तनहुँमा काङ्ग्रेसको जिल्ला भेला आयोजना गरेका छन् । भेलामा गाउँ प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला र क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सहभागिताको निम्ति आमन्त्रण गरिएको छ ।
उक्त भेलाद्वारा जिल्ला कार्यसमितिको निर्माण गरिने र पार्टीमा विधानविपरीत कायम गरिएको ‘वरिष्ठ नेता’ पदवी खारेज गराउन प्रस्ताव पारित गरिने बुझिएको छ । जिल्लामा पौडेलभन्दा सशक्त र लोकप्रिय मानिने नेता जोशीको यो कदमपछि रामचन्द्र पौडेलले तनहुँको राजनीतिबाट पलायन हुनुपर्ने अवस्था आउने अनुमान गर्न थालिएको छ ।
प्रतिक्रिया