नयाँ पुस्ताविरुद्ध देउवा-पौडेल एकता

नयाँ पुस्ताविरुद्ध देउवा-पौडेल एकता


नयाँ पुस्ताका नेताहरूप्रति कार्यकर्ताको आकर्षण बढ्न थालेपछि नेपाली काङ्ग्रेसको पुरानो पुस्ताका नेताहरू झस्किएका छन् । काङ्ग्रेसमा सभापति बन्ने योग्यता पुगेका नेताहरूको सङ्ख्या पौने एक दर्जन भए पनि अहिले तीनजनाको तयारी अलिक बढी आक्रामक देखिएको छ । सभापतिका निम्ति शेरबहादुर देउवा पुनः तयारी गर्दै छन् भने प्रकाशमान सिंह, डा. रामशरण महत, डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, डा. शशाङ्क कोइराला र गगन थापा पनि पार्टी सभापति बन्ने तयारीमा रहेको बुझिन्छ ।

उल्लिखित नेताहरूमध्ये शेरबहादुर देउवा, डा. शेखर कोइराला र गगन थापाको तयारी अलिक बढी नै आक्रामक देखिएको छ । तेह्रौँ महाधिवेशनबाट सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा विजयी डा. शेखर कोइरालालाई चौधौँ महाधिवेशनपछिको सभापतिका रूपमा काङ्ग्रेसभित्र चर्चा गर्न थालिएको छ ।

तयारी पक्षको मात्र अध्ययन गर्दा गगन थापा सबैभन्दा आक्रामक देखिएका छन् । तर, यसबीचमा एकथरीले गगनलाई महामन्त्री र डा. शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाएर नयाँ टिम पैदा गर्ने कसरत पनि गरिरहेका छन् । गगन टिममा रहे पनि नरहे पनि डा. शेखर कोइराला सभापतिको उम्मेदवार बन्ने निश्चित मानिन्छ । यद्यपि कोइरालाले प्रकाशमान सिंह, डा. रामशरण महत र अर्जुननरसिंह केसीदेखि कृष्ण सिटौलासम्मको विश्वास आर्जन गर्न भने सक्नुपर्ने हुन्छ ।

रामचन्द्र पौडेल पनि ‘साथीहरूको साथ’ भए सभापतिमा पुनः एकपटक उम्मेदवार बन्न इच्छुक रहेका छन् । आफू उम्मेदवार बन्न नपाएको अवस्थामा रामचन्द्र पौडेल आफ्नै टिमका अरू कसैलाई सभापति स्वीकार गर्ने मानसिकतामा छैनन् । त्यस्तो अवस्थामा नयाँ पुस्ताको बाटो छेक्न पौडेल शेरबहादुर देउवासँग गठबन्धन बनाउन तयार हुने सङ्केतहरू देखापरेका छन् । डा. शेखरलाई कमजोर तुल्याउन देउवा र पौडेल एक ठाउँमा उभिने सम्भावना बढेको छ । तर, सभापतिमा देउवा उठ्ने भएपछि पौडेल के लिएर देउवासँग गठबन्धन बनाउन तयार भएका हुन् सो भने स्पष्ट हुन सकेको छैन ।

नेपाली काङ्ग्रेसका अधिकांश कार्यकर्ताहरू देउवा र पौडेलको विकल्पको खोजीमा छन् र त्यस्तो विकल्प डा. शेखर नै बन्न सक्ने सम्भावना बढेर गएको छ । पार्टीको नयाँ विधानअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री पद पनि प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पूर्ति गरिनेछ । पार्टीका वरिष्ठ नेताहरू प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला र गोपालमान श्रेष्ठ उपसभापति र महामन्त्री पदमा उम्मेदवार बन्ने सम्भावना छ भने डा. प्रकाशशरण महत, डा. नारायण खड्का, बालकृष्ण खाण र विश्वप्रकाश शर्मालगायतका नेताहरू सहमहामन्त्रीको उम्मेदवार बन्न सक्ने सम्भावना देखिएको छ ।