किन भयो प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित ?

किन भयो प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित ?


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बिहीबार गर्ने भनेको सम्बोधन स्थगित भएको छ । कार्यव्यस्तताका कारण भन्दै अन्तिम समयमा आएर प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले बिहीबार संसदमा सम्बोधन बताइएको छ ।

प्रधानमन्त्री ओलीको कार्यव्यस्तता भने पनि संसदमा वाइडबडी जहाज भ्रष्टाचारकाण्ड प्रकरण तथा जेलमा रहेका रेशम चौधरीको शपथलगायतका विवादास्पद विषयको जवाफ दिनुपर्ने अवस्था आउने देखिएपछि उनले आज संसदमा गर्ने भनिएको सम्बोधन आइतबारका लागि सरेको हो ।

लेखा समितिले गठन गरेको उपसमितिले वाइडबडी जहाज खरिदका क्रममा चार अर्ब ३५ करोड ५६ लाखबराबरको आर्थिक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बुधबार समितिमा पेस गरेपछि सार्वजनिक रूपमा केही नबोलेका प्रधानमन्त्री ओलीले आज गर्ने भनिएको सम्बोधनमा यस विषयमा केही बोल्ने अपेक्षा थियो ।

उपसमितिले बुधबार पेस गरेको प्रतिवेदनमा बहालवालामन्त्री रवीन्द्र अधिकारीसहित दुई पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्र देव र सचिव, पूर्वसचिवहरू नै भ्रष्टाचारमा संलग्न भएको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ ।