लेखा समितिको बैठक उछिन्दै मन्त्री रविन्द्रद्वारा पत्रकार सम्मेलन किन ?

लेखा समितिको बैठक उछिन्दै मन्त्री रविन्द्रद्वारा पत्रकार सम्मेलन किन ?


वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचार प्रकरणका कारण विवादित एवम् आलोचित बन्न पुगेका पर्यटनमन्त्री रविन्द्र अधिकारी अन्ततः पदबाट राजीनामा दिने मानसिकतामा पुगेका नेकपासुत्रले जनाएको छ ।

स्रोतका अनुसार यस प्रकरणमा आफ्नै दलभित्रबाट समेत आलोचित बन्न पुगेका अधिकारीले आइतबार एकाएक राजीनामा दिने मानसिकता बनाएका हुन् । विमान खरिद प्रकरणबाट आफूले आर्थिक लाभ नलिएको जिकीर गर्दै आएका रविन्द्र यही हठका साथ पदमा रहिरहने सोचमा देखिएका थिए । पार्टीका उपल्लो तहका नेताहरुबाट आफूलाई साथ, समर्थन र सहयोग रहने उनको विश्वास थियो । तर, नेताहरु मन्त्री रविन्द्र अधिकारीलाई भन्दा गृहसचिव प्रेम राईलाई कुनै हालतमा जोगाउने धुनमा रहेको चाल पाएपछि उनमा निराशा जागेको स्रोतको अनुमान छ ।

यस्तै, नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई कार्यकक्षमै मोसो दलेको र आइतबार दिउँसो विप्लव नेतृत्वको नेकपानिकट अनेरास्ववियु (क्रान्तिकारी)का युवा विद्यार्थीले भ्रष्टाचारविरुद्ध निकालेको जुलुसका कारण पनि उनी केही हच्किन पुगेको बताइन्छ । पदमा रहिरहँदा झन् बदनामी हासिल हुन सक्ने भन्दै उनका शुभेच्छुकहरुले पनि राजीनामा दिन सल्लाह दिएका थिए ।

यसैक्रममा सोमबार ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकले मन्त्रीलाई कारवाही तथा सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई निलम्बनको निम्ति सिफारिस गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भएको थियो । यसले मन्त्री अधिकारीलाई तत्काल राजीनामा दिन उत्प्रेरित गरेको देखिन्छ । कारवाहीको सिफारिस हुनुअघि नै राजीनामा दिँदा इज्जत जोगिने सोच उनले बनाएका हुन सक्छन् ।

सोमबार १० बजे नै पत्रकार सम्मेलनको तयारी गर्नुलाई लेखा समितिको निर्णय उछिन्ने प्रयत्नकै रुपमा हेरिएको छ । यस आधारमा सोमबार एघार बजेभित्रै पर्यटन मन्त्री अधिकारीको राजीनामा आउने सम्भावना बढेर गएको छ ।