झुटको खेती कहिलेसम्म ?-२

झुटको खेती कहिलेसम्म ?-२


-विश्वम्भर चञ्चल
यसैबीच अचानक र अपत्यारिलो तथा रहस्यात्मक ढङ्गले ०५८ साल जेठ १९ गतेको राति नारायणहिटी दरबार हत्याकाण्ड भयो । देशमा कहिल्यै नछरिएको झुटको खेती पनि यसै बखतमा छरियो र थरीथरीका आशङ्काले मानिसका मनमा बास जमायो । यसको सत्य-तथ्य भने आजसम्म कसैले बाहिर ल्याउन सकेनन् र सरकारी रिपोर्टमा पनि धेरैको विश्वास रहेन । देश झन् अस्थिर बन्यो र त्यसपछिका दिनमा एउटा नीतिकथाको भारन्डा पक्षीको दर्ुदशा भोग्यो देशले । प्रजातन्त्रवादी पार्टी भनाउँदो पार्टीले नै पुनः दरबारमा नै जनताको हातको सत्ता बुझायो । जसले जे माने लगाए पनि हुने संविधानको एउटै धाराबाट दरबारिया राजाले पनि आफ्नै माने लगाए र फेरि सत्ता चलाए । ०१७ सालपछिका अबुझ र अशिक्षित जनताले ‘लौ राजाले ५५ धारा लिएपछि हामीले भर्खर गाउँमा ल्याएको धाराबाट समेत पानी खान नपाउने भयौँ’ भनेर कंकलाशब्द गरेर हिँडेभैँm यसपालि त १२७ धाराले जनतालाई भन्दा नेताहरू नै कंकलाशब्द गरी रुने पारिदियो ।
नयाँ राजा भए पनि अकस्मात् भाग्यले नै तीनवर्षो उमेरमा श्रीपेच ढल्काउन पाइसकेका पुरानै राजाको हातमा भाग्यले अर्को पटकको पनि शासन दिलायो । उनमा पहिलेको राजाको भन्दा पनि फूर्ति बढ्यो । भने उनले ‘म मेरा दाजुजस्तो कानले एकोहोरो सुनिरहने र आँखाले टुलुटुलु हेरिरहने मात्र राजा होइन । राजा भएपछि मेरो पनि केही अधिकार र देशप्रतिको जिम्मेवारी छ ।’ ‘ए ! लौ यिनले त के-के न राम्रो गर्ने भए’ भनेर जनताले हर्षोल्लास पनि मनाए । भाँडभैलो गरेर हिँडेका पार्टीहरूलाई तह लाउँछु र देशका मेरा जनतालाई सुख दिलाउँछु भनेर देश भ्रमण पनि गरे । झुत्रो-मैलो र फाटेका लुगा लगाएका आफ्ना प्रजाको दुःखका बेलीविस्तार पनि सुने । उनीहरूका फोहोरी बालबच्चालाई काखी च्यापेर सत्ययुगीन राजाको वात्सल्यता पनि दर्शाए । पढ्नका लागि कापी, कलम र खानका लागि मिठाइ पनि बाँडे । आफूले जयजयकार पनि खाए र यता काठमाडौंका सडकभरि उफि्रएर हिँड्ने नेता तथा कार्यकर्तालाई लोप्पा पनि ख्वाए । तर, तिनले पनि झुटकै खेतीमा जनतालाई भुलाए । राजा आफ्नो गाउँमा आएका र गएका केवल सपनाजस्तो मात्र भयो गाउँले जनताका लागि । जनता उही शोषण, पीडनका सिकार भई नै रहे । उद्योग, कलकारखाना खुल्न सकेनन् र भएका पनि माओवादी जनयुद्धको नामले दिनानुदिन ध्वंश हुने वा बन्द हँुदै गए । कृषियोग्य जमिनको कमी थियो पहाड-पर्वतमा । तराईका उर्वर भूमिमा पनि वैज्ञानिक तरिकाको खेतीबिना उब्जनी बढ्न सकेन र मानिसको जीवन कठिनभन्दा कठिन बन्यो । जीवन व्यतीत गर्ने र जहान, बालबच्चाको पेट भर्ने तथा शिक्षा, स्वास्थ्य र पोषणजस्ता आधारभूत कुराहरूको व्याप्त अभावका बीच उनीहरू छटपटिइरहे । कैयौँ युवा काम र मामको खोजीमा बिदेसिए भने प्रतैढहरू सहर पसे । केही महिलाको उपस्थितिबाहेक गाउँघरका आँगन खाली-खाली बने । त्यसमाथि जातीय र छुवाछुत प्रथाको उन्मूलनका लागि २०१९ सालकै मुलुकी ऐनले उन्मूलन भइसकेको भए तापनि जनताको अल्पज्ञान र अचेतन अवस्थाले गर्दा समाजमा यसले व्याप्त जरा गाडेकै थियो । ठूलाठालुको हैकमी गाउँघरमा कायमै रह्यो ।
बस, यही मौका छोपे सर्वहारावर्गको अधिनायकवाद ल्याउँछौँ भनेर लागेको एउटा जत्थाले र गाउँले र निमुखा जनतामाझ विभिन्न प्रकारका झुटको खेती रोपे । २०५१ सालमै सुरु गरिएको यस खेतीले ०५८ सालसम्म आइपुग्दा व्यापकरूप अङ्गालिसकेको थियो । लागे जनता उनैका पछि आशाको बिटुलो बोकेर । तर बम, बारुद र बन्दुक बोक्नेमा पो परे उनीहरू । कतिले त लास र मान्छेका गिँडका डोका पनि बोके । यता सहरमा बसेर राज्य चलाउनेहरूले अर्को झुटको खेती छरे उनीहरूका विरुद्धमा र देशको विकास र प्रगति गर्र्छौं भन्नेहरूले आ-आफू मिलेर ‘आऊ बसौँ सँगै र बाँडी-चँुडी भागवण्डा जयनेपाल गरौँ, बाँकी केही जनतालाई पनि दिऔँ’ भन्नुको साटो उल्टै आफ्नै दाजुभाइ र बन्धुबान्धवको टाउकाको मूल्य तोकेे । जनतालाई जङ्गलमा बसेर उपद्रो मच्चाइरहेेको जत्थाको बारेमा सत्य-तथ्य लुकाएर अनेक वहानामा आश्वासन मात्र बाँडे- ‘केही होइन यो । एउटा सानु आतङ्ककारी जत्थाको असन्तोष मात्र हो’ भनेर । अखिर त्यो जत्था सहर पसिसक्दा र गाउँ सहर जताततै आगो लागिसक्दा पनि महल र दरबारमा बसेर राज्य गरिरहनेहरूले रोमको राजा निरो बनेर तमासा हेरिरहे र जनतामाझ झुटकै खेती छरिरहे । उनीहरूले बुझनै सकेनन् एक दिन उनीहरूले नै भनेजसो गरेर ‘ढाडमा टेकेर टाउकोमा हिर्काउने’ काम यिनीहरूले गर्छन् भनेर । सोच्नै सकेनन् ‘शत्रुलाई जहिले पनि आफूभन्दा बलियो देख्नुपर्छ’ भनेर । यिनीहरूको मूढबुद्धिले यस्ता कुरा ठम्याउनै सकेन । जहिले पनि उनीहरूलाई कमजोर- कमजोर देखिरहे यसकारण कि जनतामाथि झुटको खेती गरेर सदाकालको लागि तर मार्न पाइराखियोस् ! यसैले आफू-आफूमै सत्ताको फोहोरी खेलमा रुमल्लिरहे र राजाले पनि यिनीहरू खेलिरहेको धमिलो पानीमा माछा मार्ने काम गरिरहे । अन्ततोगत्वा आफूलाई प्रजातन्त्रको नाइके भन्नेहरूकै ढाडमा टेकी देशकै इतिहासको एउटा सिङ्गो पाटो बोकेको राजसत्ताको टाउकोमा हिर्काइछाड्यो उसलेे र पछिसम्म पनि टेकेको टेक्यै गर्‍यो । केवल यिनीहरूले आफ्नो ढाड सोझयाइरहे । यी सबको परिणाम अज सबैले देखिरहेकै छन् ।
जङ्गलबाट लावालस्कर लिएर माओवादी नेता राम्री दुलही लिन आएको जन्तिजस्तै गरेर सहर पसे । संसद् र चुनाव भनेको कुन जन्तुको नाम होे थाहै नपाई असी जनाको एकै जत्था हतियारैसहित संसद् भवनभित्र छिरे । विधि-विधान, नियम कानुन सबै राजनीतिक सहकार्यमै भर पर्‍यो । ‘ए ! हतियारको बलमा त सत्ताको बाटो पो खुल्दोरहेछ’ भन्ने भ्रामक सन्देश देशभरि फैलियो र तराई पहाड जताततै अनेकथरीका हतियारधारी विद्रोहीको जन्म भयो र आ-आफ्नो हिसाबले चाहिने-नचाहिने माग सरकारसामु तेर्स्याए । दिनदिनै अपहरण र हत्याका शृङ्खला बढ्दै गयो । सम्पूर्ण जनता त्राहीमाम् बने ।
नयाँ उदय भएका माओवादी पार्टीका नेताहरूले जनतालाई राम्रै आश्वासन दिए । अरू सुन्दर सपनाहरू बाँडे र घोषणा गरे ‘हामी तिमीहरूका मसिहा हौँ, हामी तिमीहरूका तारनहार हौँ, दुःखका मोक्षदाता हौँ, सुखका दाता हौँ ।’ स्तुति गाए जनताले यिनीहरूका अगाडि आँखा चिम्लेर, भक्ति गरे रात दिन यिनीहरूका माला जपेर । तर पाए के त यी पाँच वर्षमा ? हात लाग्यो शून्य ? दुई वर्षमा बनाउँछौँ देशको नयाँ संविधान र देशलाई सुशासन दिन्छौँ, देशको आर्थिक वृद्धि गराउँदै समुन्नत नेपाल बनाउँछौँ, स्वीट्जरल्याण्डको दाँजोमा पुर्‍याउँछौँ भनेर संविधानसभाको चुनावमा अत्यधिक मत त ल्याए तर अर्को एक वर्ष थप गरिँदा पनि ल्याउन सकेनन् । केवल राष्ट्रिय एकता, मेलमिलाप र सहकार्यको विकल्प छैन भन्दै मुख बङ्ग्याई बङ्ग्याई, खुट्टा उफारी उफारी र मुन्टो बटारी-बटारी बोले यी सबै पक्षका र सबैखाले नेताहरूले राम्रा-राम्रा र आदर्शका वाक्यहरू । तर ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्याभैँm केवल सत्ता र कुर्सीका लागि झगडा गर्दागर्दै दिन बिताए । मुखले सहकार्यको नारा त दिइरहे तर कामले दुष्कार्य मात्र गरिरहे । सहकार्यका लागि भनेर गोकर्णदेखि गोदावरी र दक्षिणकालीदेखि नगरकोटसम्मका होटल र रिसोर्टहरू पनि चाहारे । ‘सबै कुरा सौहार्दपूर्ण वातावरणमा प्रगतिका साथ अगाडि बढिरहेछ र अब छिट्टै सम्पूर्ण समस्याको समाधान हुन्छ’ पनि भनिरहे जनताका सामुन्ने तर माझीको सल्लाहैसल्लाहमा सात गाउँ डुबेको कथाजस्तै गरी संविधानसभाको म्याद नै गुजारे । आफ्नो देशको समस्याको अन्त्य गरी जनतालाई नयाँ संविधान जारी गर्नुपर्ने बेलामा कहिले विदेशको सयरै सयर गरे त कहिले विदेशी मालिक र प्रभुहरूलाई रिझाउन रातारात गायब भए । कहिले पार्टीको काम, कार्यकर्ता प्रशिक्षण भनेर लट्ठी र भालाको खेल पनि देखाए त कहिले क्षणमा शान्तिको भाषा र क्षणमा विद्रोहको भाषाले पनि जनतालाई आजित पारे । कोही एउटाको बललाई अर्कोले मुक्का हान्ने भनेर सङ्गठन खोल्नतिर लागे भने कोही ‘लगनको बेलामा हगन’ भनेभैँm संविधान बनाउने नै बेलामा जनजागरण अभियान रे भनेर आफ्नो तागत जाँच्ने कार्यमा नै समय खेर फाले । उता, यी अनेकन नारा दिइएका सामाजिक सञ्जालले पनि संविधानसभाबाट अब संविधान नबन्ने पक्का भयो भनेपछि मात्र ‘जब पर्‍यो राति, अनि बूढी ताती’ भन्या जसरी तमासा देखाए । उनीहरूका यस्ता घेराउ र नाराबाजीे पनि झुटकै खेती भए ती जनताका लागि जो भन्ने गर्छन् ‘कौवालाई बेल पाक्योे हर्ष न विष्मात् ।’ क्रमशः