को हुन् केसीलाई चुनौती दिने युवा ?

को हुन् केसीलाई चुनौती दिने युवा ?


  • चन्द्रकला भण्डारी, इलाम

प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसेका प्राडा गोविन्द केसीलाई एक युवकले चुनौती दिएका छन् । काठमाडौं, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा हालै समितिले बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दबाब र प्रभावमा नपरी सार्वभौम संसदबाट पारित हुनुपर्ने माग गर्दै यहाँ आमरण अनशन बसेका छन् ।

काठमाडौंस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशन थालेका हुन् । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्राडा केसीको मुख्य मागको ठीक विपरीत छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्राडा केसीले इलाम बजारको पश्चिममा इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि अनशन शुरु गरेका हुन् । दुवै अनशनस्थलको दूरी एक किलोमिटरभन्दा कम छ ।

oppo_2

प्राडा केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बसेका यो १६ औँ पटक हो भने विद्यार्थी थापाको दोस्रोपटक हो । प्राडा केसीले यसअघिको १५औंँ अनशन तोड्दा भएका सम्झौता सरकारले हुबहु पालना नगरेका कारण १६ औंँ चरणको आमरण अनशन बस्नुपरेको उनका निकट सहयोगी धर्म गौतम बताउँछन् । चाँडै सङ्घीय संसदले प्राडा केसीका मागलाई विधेयकमा समेट्ने अपेक्षा गरिएको गौतमले बताए ।

थापाले काठमाडौंं उपत्यका बाहिर इलामलगायत देशैभरि चिकित्सा कलेज खोल्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । यो मागले समेत प्राडा केसीलाई चुनौती दिएको छ । केसी उपत्यकाबाहिर समेत मेडिकल कलेज तत्काल खोल्न नदिनुपर्ने अडानमा छन्। उनले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाही हुनुपर्ने भनी अनशनको मागपत्रमा उल्लेख गरेका छन् ।

थापाले बलात्कारजस्तो जघन्य अपराधलाई निरुत्साहन गर्न पन्तका हत्यारासहित सबै दोषीलाई फासीको सजायको व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपालमा एमडी तथा पिजी क्लासको दरबन्दी कम्तीमा एक हजार ५०० पु¥याउने व्यवस्था तत्काल गर्न, अध्ययनका लागि वर्षेनी विदेशिने रु ७० अर्ब रोक्नका लागि प्लस टुमाथिको शिक्षा निःशुल्क गर्न, बङ्गलादेशबाट चिकित्सा विषय पढेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनामा परी मृत्यु भएका १८ जनाको परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न, खाडी मुलुकमा रगत र पसिना बेच्न बाध्य नेपालीलाई स्वदेशमै सम्मानजनक रोजगारीको व्यवस्था गर्न आमरण अनशन बस्नुभएका थापाको माग छ ।

इलाममै जन्मिएकाा थापाले आफ्ना बुबा भूतपूर्व नेपाली सैनिक भएको र आफू विभिन्न सामाजिक अभियानमा पहिलेदेखि नै निरन्तर लागिरहेको बताए ।

स्वदेशमा चिकित्सा कलेज खोल्न नदिने र विदेशका कलेजमा घरबारी बन्धक राखेर अभिभावकले आफ्ना छोराछोरीलाई पढाउन पठारहनुपरेको अवस्था देखेर गत वर्ष बैशाख १३ गते काठमाडौंंको खुलामञ्चमा पहिलो पल्ट आफूले निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको माग राखेर सत्याग्रह गरेको जानकारी उनले दिए ।

इलामकै भिन्न भिन्न स्थानमा आमरण अनशन भइरहेपछि इलामका बासिन्दा विभाजित बनेको पाइएको छ । दुवै अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा पहरा दिँदै आएको छ । दुवैका पक्षमा समर्थनका जुलूस निस्कन थालेका छन् ।

rss