थारु समुदायमा माघी अर्थात् नयाँ वर्षको रौनक

थारु समुदायमा माघी अर्थात् नयाँ वर्षको रौनक


थारु समुदायले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा लिने गर्दछन् । माघी पर्वका रुपमा आजको दिनलाई ‘उन्मुक्ति दिवस’का रुपमा समेत यो समुदायले मनाउँदै आएका छने् ।

पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् ।


सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ थारु बाहुल्य क्षेत्रमा यो पर्व मनाइन्छ । पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने चलन रहँदै आएको छ ।

२०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेकै दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो । यसैले यस पर्वलाई उन्मुक्तिको पर्व भनेर पनि थारु समुदायमा मनाइँदै आएको हो ।


माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउने गरिन्छ । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् ।

यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीन दुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले यही दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता पनि यस समुदायमा छ ।