यसरी पनि प्रताडित छन् हाम्रा बालबालिका – युवराज बस्ताकोटी

यसरी पनि प्रताडित छन् हाम्रा बालबालिका – युवराज बस्ताकोटी


bicharसबेरै मर्निङवाकमा निस्किएको व्यक्ति सवारीसाधनको ठक्करबाट ठाउँको ठाउँ मृत्युवरण गर्नुपर्ने, दिनभर शहरमा यातायात जाम भई समयमै आफ्नो काम गर्न नपाइने, आवश्यक ठाउँमा पुग्न नसकिने, साँझ–रातको समय पनि ट्राफिक व्यवस्थापनमा देखिएका गम्भीर समस्या, दुर्घटनाबाट मानिसको अकाल मृत्यु वा अङ्गभङ्ग हुनुपर्ने अवस्था नेपालका शहरहरूको साझा समस्या बनेका छन् । भर्खरै फराकिलो पारिँदै गरेका काठमाडौंका सडकलाई छाड्ने हो भने धेरै गल्लीलाई सडकको रूपमा प्रयोग गर्नुपर्ने हाम्रो बाध्यता छ । आतङ्कवादग्रसित मुलुकमा सोको सिकार बनेका मानिसको सङ्ख्याको दोब्बर जनसङ्ख्याको अकाल मृत्यु नेपालमा सडक दुर्घटनाबाट हुन्छन् । कुनै आतङ्कवादी जत्थाको सिकारमा परेर बालबालिकामाथि जति हिंसा हुन्छ त्यसभन्दा ज्यादा बालबालिका नेपालका सडकमा यातायात दुर्घटनाको सिकार हुने गरेका छन् । विशेषतः नेपालको राजधानी सहरलाई उदाहरणको रूपमा लिने हो भने जोरपाटीमा बस्ने कुनै बालक जावलाखेलसम्म यातायात प्रयोग गरी दैनिक आतेजाते गर्नुपर्ने अवस्थामा छ भने विद्यालय जाने क्रममा त्यो बालकमाथि यातायातमा हुने दुःख र दुव्र्यवहारलाई नेपालले नजरअन्दाज गर्दछ । ३२ सिट क्षमता भएको एउटा गाडीमा ६४ जना विद्यार्थी कोचेर विद्यालय ल्याउने–लाने गर्ने कुनै विद्यालयले बिहान दुई घन्टा र बेलुकी दुई घन्टा आफ्नो यातायातको साधनलाई सडकमा गुडाइरहेको हुन्छ ।
औसत एक घन्टा बिहान र एक घन्टा बेलुकी यातायातको सवारीले दिने तनाव र दर्द, त्यसको नाप के–कति होला, हामी अभिभावकले कहिल्यै सोच्दैनौँ । आफ्ना कलिला नानीहरूलाई चोकबाट गाडीमा हालेर विद्यालय पढ्न पठाउनु नै हाम्रो गर्वको विषय बन्ने गर्दछ । यो एउटा फेसन बन्दै छ । यो कुरा हामी बिर्सन्छौँ कि हाम्रा घरवरिपरि प्रसस्त त्यस्तै विद्यालय छन् जस्तोमा हाम्रा नानी पढ्न जान्छन सधैँ । हाम्रो देशको विद्यालय शिक्षाको पाठ्यक्रम एउटै छ । शिक्षक उस्तै हुन् । जो मिहिनेती छन् ती सफल छन् जो अल्छी छन् ती असफल, मात्र यत्ति हो ।
बेलायतलगायत विकसित देशहरूमा विद्यालयको निश्चित दूरीभन्दा टाढा बसोबास गर्न पाइँदैन । यदि आफ्ना नानीहरूलाई कुनै निश्चित विद्यालयमा पढाउने निर्णय गर्नुहुन्छ भने तपाईंले आफ्नो वासस्थानलाई त्यस विद्यालयकै तोकियाको दूरीभित्र पार्नुपर्ने हुन्छ । कतिपय अभिभावकले त आफ्नो पुरानो घर बेचेर विद्यालयले तोकेको क्षेत्रमा घर किन्ने गरेका हुन्छन् । वा, त्यसभित्र आफ्नो आवासको व्यवस्था गर्दछन् । बालअधिकारको भाषण, पेपर र अन्तर्वार्ता दिएर नथाक्ने साथीहरू नै आफ्ना बालबालिकालाई दैनिक घन्टौँ यातायातको साधनमा वा पैदल हिँडाउने गर्दछन् । उनीहरू यो बिर्सन्छन् कि दैनिक एक–डेढ किलो मिटरको हिँडाइभन्दा १० मिनेट गरिने बस यात्रा दोब्बर घातक हुन्छ ।
नेपालको विद्यालय शिक्षा समग्रमा लेख्न पढ्न सिकाउने, समाज बुझ्न सिकाउने, बाबुआमा, घरपरिवार समाज र देशप्रति भक्तिभाव देखाउन सिकाउने उद्देश्य बोकेको शिक्षा हो । यसले श्रमको सम्मान गर्न र सामाजिक सद्भाव कायम गर्न, अनुशासित रहन सिकाउँछ । यो अर्को पाटो हो कि उनीहरूको कति सिक्दछन् ? सामान्य हिसाबबारे जान्नु विद्यालय शिक्षाको उद्देश्य हो । देशैभरिका विद्यालयमा एउटै शिक्षा पाठ्यक्रम र शिक्षण विधि छ । फरक यति छ कि निजी क्षेत्रका विद्यालयहरूले बढी मिहिनेत गर्छन्–गराउँछन् र अङ्ग्रेजी भाषालाई माध्यम बनाउँछन् ।
दैनिक सडक (यातायात) यात्राले बालबालिकाको जीवनमा पर्ने असरबारे गम्भीर अध्ययन हुनु जरुरी छ । सरसर्ती हेर्दा र केही अध्ययनहरूका निचोड पढ्दा के पाइन्छ भने दैनिक छोटो दूरी पैदल यात्रा गरेर अभिभावकसँग विद्यालय जाने–आउने गर्ने बालक यातायातको साधनमा यात्रा गर्नेभन्दा झन्डै तेब्बरले दुघर्टनाबाट सुरक्षित हुन्छ । यातायातको साधनबाट निस्कने कीटाणुयुक्त धुवाँको मात्रा, थकान र समयमा स्टेसनमा पुग्नुपर्नेजस्ता मानसिक तनावमा बिताउने बालकको मस्तिष्क अनवरत यी जीवनमा नभए पनि हुने तनावले गर्दा लेख्न र पढ्नमा मन नगर्ने हुने गर्छ । उसको बौद्धिक स्तर पैदल यात्रा गर्ने बालकभन्दा स्वभावले कमी आउँछ । गाडी–घोडाको यात्रामा हुन सक्ने सम्भाविक दुर्घटनाको भयका कारण त्यसरी यातायातमा ओहोरदोहोर गर्ने बालबालिका र तिनका अभिभावकसमेत मानसिक रूपले अस्वस्थ हुन सक्ने र ग्यास्ट्रिक, अल्सरजस्ता रोगको सिकार हुन जान्छन् । औसत दिनको दुई घन्टा बसको यात्रा अर्को दुई घन्टा थकान महसुस घटाउने कार्य गर्नुपर्दा चार घन्टाको समय दैनिक बचत हुन जान्छ । थकाइ र तनावको कारण कलेजोको रोग लाग्न गई खाना अरुचि रहन सक्ने, जसले गर्दा बालकको तौल घढ्ने दुब्लाउने हुन जान्छ । आफूलाई कमजोर ठान्ने र साथीहरू माझ आफू निरीह सम्झन पुगी ऊ फ्रस्टेक्सनमा गई डिप्रेसनको बिरामी बन्न सक्छ ।
दैनिक विद्यालय आवतजावत गर्नुपर्दा विविध समस्या पर्न जाने, दुर्घटनामा पर्न सक्ने बदमास ग्याङ्स्टरमा फस्न सक्ने, साथी–साथी मिलेर गलत कार्यमा पर्न सक्ने हुँदा विद्यार्थी दुव्र्यसनी बन्न सक्ने, आमाबाबु तथा परिवारभन्दा साथीसङ्गीसँग समय बिताउन रुचाउने हुँदै जाँदा अभिभावकबाट टाढिन सक्छ । हामी मनन गरौँ कि न्युरोडबाट सामान खरिद गरेर घर फर्कंदा ट्राफिक जाममा पर्न जाँदा हामी कति टर्चरमा पर्छौं ? हो, हाम्रा नानीहरू दैनिक त्यही समस्याबाट गुज्रिरहेका छन् ।
आधुनिकताका नाममा होस् वा स्तरीय शिक्षा पाइने नाममा बालबालिकालाई कोसौँ टाढा विद्यालय पठाउनुमा अभिभावकको निम्न मनसाय हुन सक्छ ।
१) आफूलाई सरसल्लाह दिने आफन्तको नजरमा स्तरीय विद्यालय भन्ने विश्वास,
२) सामाजिक स्तरीयता कायम गराउनु महँगो विद्यालयमा भर्ना गराउनु,
३) विविध अतिरिक्त क्रियाकलापले गर्दा नानीहरूको बहुआयमिक विकास हुन्छ भन्ने विश्वास हुनु,
४) आफ्नो टोल छिमेकमा अन्य अभिभावकभन्दा पृथक र स्तरीय देखिन खोज्नु,
५) विद्यालय सञ्चालक चिनजानको हुनु,
६) कुनै विद्यालयलाई अन्तर्राष्ट्रिय ब्राण्डको रूपमा लिइनु,
७) व्यस्त बाबुआमाका लागि बालबालिका गाडीमा पठाइदिन सकेपछि दिनभर ढुक्क हुन्छ भन्ने भान हुनु,
कारण जेसुकै भए पनि आफ्ना नानीको स्वास्थ्य, मानसिक अवस्था र सुरक्षाभन्दा अन्य कुनै पनि प्रसङ्ग वा कुरा महत्वपूर्ण हुनै सक्दैन । कलिला नानीहरूलाई बस वा गाडीमा यात्रा गराएर विद्यालय पठाउन छाडेर नजिकैको विद्यालयमा दैनिक निगरानीमा पढाउन सकियो भनेचाहिँ निम्न फाइदाहरू हुन सक्छन् ।
१) बालबालिका मानसिक रूपले स्वस्थ रहन मद्दत पुग्दछ ।
२) समयको बचत हुँदा पढ्ने, खेल्ने तथा परिवारका सदस्यसँग घुलमिल हुन सहयोग पुग्छ ।
३) थकान कमी हुन गई नियमित लेखाइ तथा पढाइमा ध्यान दिन सक्छन् ।
४) कमसेकम गाडीघोडाको सम्भावित दुर्घटनाको भयबाट मुक्ति पाउन सक्छन् ।
५) अभिभावकलाई चटारो हुँदैन र मानसिक तनावका कमी आउँछ ।
६) घरनजिकैको विद्यालयमा नानीहरू पढाउन पठाउँदा उनीहरूको क्रमिक विकासका चरणहरूबारे नियमित सम्पर्कले गर्दा आफ्ना बालबालिकाका प्रत्येक गतिविधि, लगाव, साथी सङ्गत, नयाँ व्यवहार तथा समस्या पहिचान आदिमा मद्दत पुग्छ जसले गर्दा पछुताउन पर्दैन । यीबाहेक पचासौँ फाइदाहरू छन् जसले गर्दा सामाजिक विकृति र विसङ्गतिका सिकार हुनबाट आफ्ना नानीहरूलाई जोगाउनुका साथै कतिपय रोगबाट मुक्ति पाउन सकिन्छ ।
विद्यालय उमेरमा नानीहरू जहिलेसुकै परिवारका सदस्य, विद्यालयका शिक्षक तथा समुदायका सबल र असल मानिसका सरसङ्गतमा हुनुपर्दछ जसले गर्दा आफ्ना नानीहरूको मानसिक, शारीरिक तथा सामाजिक विकासमा सकारात्मकता प्राप्त होस्, पछुताउन नपरोस्, समाजले केही पाओस् ।
अतः सम्पूर्ण अभिभावकले आफ्ना नानीहरूलाई कुनै विद्यालयमा नै पढाउनु छ भने उसको बासस्थान अनिवार्य रूपमा विद्यालयको बढीमा एक किलोमिटर वा नजिक होस् जसले गर्दा आफ्ना नानीहरूलाई लिन पु-याउन सकियोस् । उनीहरूको समग्र विकासका प्रत्येक पललाई सूक्ष्म अध्ययन तथा दर्शन पाइयोस् । समस्याग्रस्त नानीका पहिचानमा मद्दत पुगोस् र सामाजिक विकास तथा पारिवारिक सन्तुष्टिमा इँटा थपियोस् भन्नेतिर हामी सबै सचेत हुनुपर्छ एकातिर भने अर्कोतर्फ विद्यालय सञ्चालन निर्देशिकामा विशेष विद्यालयबाहेक कमसेकम १६ वर्षमुनिका बालबालिकालाई दैनिक बसयात्रा गरी विद्यालय जान आउनबाट रोक लगाउनु आवश्यक देखिएको तर्फ सरकारी निकायले ध्यान दिनु सान्दर्भिक छ ।
email:[email protected]