युवा पुस्ताकी चर्चित गायिका हुन् सोनिका लामा । विशेष गरेर डान्सिङ गीतमा यिनको लोकप्रियता बढ्दै छ, तर उनी भन्छिन्, ‘म त्यति लोकप्रिय छैन । म त चिनारी खोज्दै गरेकी नयाँ कलाकार हुँ ।’ सोनिकाले पहिले बेसहारा नामक एल्बम निकालेकी थिइन् भने त्यसपछि आयो उनको ‘यो कस्तो यो जीवन’ । यी दुई एल्बममा मात्र उनको गायकी क्षमता कैद भएन, त्यसपछि फेरि उनले निकालिन् तेस्रो एल्बम ‘सोनिकाको जवानी’ । यस एल्बमबाट पनि सोनिका रामै्रसँग चिनिइन् साङ्गीतिक बजारमा । अब उनी आफ्नो चौथो एल्बम ‘सोनिका’ लिएर आउँदै छिन् ।
० एल्बमहरू फटाफट आइरहेका छन् । बजार राम्रो छ र भन्या ?
– यसमा बजारको कुरा नै के रह्यो र ? यो त आत्मसन्तुष्टि लिने अनि क्षमता देखाउने विषय पो हो त ।
० त्यै पनि आर्थिक रूपमा त घाटा हुन्छ नि, होइन र ?
० यहाँ कसले पो एल्बम निकालेर नाफा कमाएका छन् र ? साँवा उठाउन त गाह्रो छ, तपाईं नाफाको कुरा गर्नुहुन्छ ।
० एल्बम बनाउँदा भिडियो पनि बनाउनुपर्छ । अनि किन बालुवामा पानी हालेझैँ लगानी गर्ने त ?
– यो सब पछिको आशा र नामको लोभ हो । हामी बाँच्ने भनेको एल्बमको बिक्रीबाट होइन, गीत स्टेजमा गाएर त्यसको पर्फर्मेन्सबाट हो । एउटा एल्बमको एउटा गीत चल्यो भने पनि पुग्छ हामीलाई । सबै गीत चल्नुपर्छ भन्ने छैन ।
० अनि आफ्नो गीतमा आफैँ मोडलिङ किन नि ?
– यो पनि रहर र बाध्यता दुवै हो । दाम नभएर बाध्यता, अनि रहर पहिलेदेखिकै हो । आफ्नो गीतमा अरूलाई पारिश्रमिक दिएर खेलाउनुभन्दा आफैँ खेल्दा राम्रो ।
० आफैँ खेल्दा फाइदा के नि ?
– दर्शकमाझ चाँडो चिनिँदोरहेछ ।
० तेस्रो एल्बमको नाम त सोनिकाको जवानी रहेछ, कस्तो छ त सोनिकाको जवानी ?
¬– सोनिकाको जवानी । भर्खरै फक्रँदै गरेको जवानी हो सोनिकाको ।
० अनि सोनिकाको जवानीमाथि आँखा लगाउनेहरू कत्तिको आए नि ?
– आएका होलान्, तर म अहिले नै पट्टिन्नँ । किनकि मेरो सिङ्गो करिअर बाँकी नै छ ।
० जवानी आएपछि के हुँदोरहेछ त ?
– त्यो अनुभवको कुरा हो । त्यसलाई व्यक्त गर्न सकिन्न ।
० एल्बममा पनि त्यस्तै कुरा छन् त ?
– यस्तै कुरा छन् । युवा उमेरमा आउने र देखापर्ने यस्तै बैंसका कुरालाई एल्बममा समेटेकी छु मैले ।
० भिडियोमा त सोनिकालाई ज्यादै ग्ल्यामर्स र कामुक देखिन्छ नि ?
– म भिडियोमा मात्र त्यस्ती हुँ । वास्तविक जीवनमा छैन ।
च्याँखे थाप्न नआएको पुनमको दाबी
एक त नेपाली चलचित्र क्षेत्रमा महिला कलाकारको आगमनलाई त्यति सकारात्मक रूपमा हेरिँदैन, त्यसपछि निर्माणमा हात हालेका महिलालाई हेर्ने सोच, दृष्टि र उनीहरूप्रति गरिने व्यवहार झनै निराशाजनक छ । अवस्था यस्तो हुँदाहुँदै र यस्तो अवस्थाबारे जानकार हुँदाहुँदै पनि पुनम गौतम भने यस्ता कुरालाई चिर्दै अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ चलचित्र निर्माणमा आएकी छिन् । फेसन डिजाइनिङजस्तो सिर्जनशील क्षेत्रमा लागेकी पुनम चलचित्र अझै पनि मार्फत नेपाली चलचित्र क्षेत्रमा आएकी हुन् । उनी भन्छिन्, ‘चलचित्र निर्माण क्षेत्रलाई कसले कुन रूपमा लिन्छन् वा लिए त्यो मलाई थाहा भएन, तर म यो क्षेत्रलाई सिर्जनाको रूपमा लिनछु ।’ ‘चलचित्र क्षेत्रजस्तो सिर्जना अभिव्यक्ति गर्ने बलियो र सशक्त क्षेत्र नै अर्को छैन,’ उनले भनिन् ।
निर्देशक स्वीर्गय आलोक नेम्वाङले निर्देशन गरेको अन्तिम चलचित्र अझै पनि मार्फत चलचित्र निर्माणमा हात हालेकी पुनमले महिलाले नै यहाँ महिलालाई सहयोग नगरेको अनुभव सुनाइन् । पुनमले चलचित्र क्षेत्रमा महिलालाई प्रोत्साहन र हौसलाको खाँचो रहेको कुरा बताइन् । उनले बुझेकी रहिछिन् कि रहरले मात्र चलचित्र क्षेत्रमा आउनेहरूले यो क्षेत्रलाई हलुका रूपमा हेरेका हुन् । ‘तर जति बुझ्यो उति गाह्रो हो चलचित्र क्षेत्र,’ पुनमको भनाइ छ ।
पहिलोपटक चलचित्र निर्माणमा हात हाल्दा चलचित्रको निर्देशनको जिम्मा दिएका निर्देशक आलोक नेम्वाङको निधनले चलचित्रलाई यस्तो गर्छु उस्तो गर्छु भन्ने योजनामा केही असर त परेकै रहेछ । चलचित्र रिलिज हुन नपाउँदै निर्देशकले संसार छाडेपछि निर्मात्री पुनम गौतमको मनमा पनि चिसो पस्यो । अवस्था यस्ता भए तापनि साहस जुटाउँदै उनले अन्य कलाकारहरूको साथमा चलचित्रलाई रिलिजको मुखमा ल्याएकी छिन् यतिबेला । फागुन १५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अझै पनि’को बारेमा पुनमले थपिन्, ‘यो पारिवारिक चलचित्र हो ।’ ‘नेपाली चलचित्र हेर्नका लागि अहिले हलमा जाने परिवारको सङ्ख्यामा कमी आउन थालेको छ । हलबाट टाढिएका नेपाली चलचित्रप्रेमी दर्शकहरूलाई यो चलचित्रले फेरि हलतिर फर्काउनेछ । ठूलो कुरा होइन, सानै कुरा छन्, तर गहकिला, सान्दर्भिक र समयअनुसारका कुरा छन् यो चलचित्रमा,’ उनले चलचित्रका बारेमा जानकारी दिइन् ।
सामान्य कथामा पनि राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने उदाहरण चलचित्र अझै पनि ले पेस गरेको कुरा निर्मात्री पुनम गौतमले बताइन् । नेपाली दर्शकहरूको मन, इच्छा र भावनालाई आत्मसात् गर्दै अझै पनि बनाएको कुरा बताउने चलचित्र निर्मात्री पुनम गौतम अब चलचित्र निर्माणलाई निरन्तर रूपमा अगाडि बढाउने योजनामा रहेको जानकारी दिन्छिन् । उनले भनिन्, ‘म रहरले मात्र यो क्षेत्रमा आएकी होइन । रहर मेटाउन र अरूलाई देखाउन नभएर व्यावसायिक सोच र उद्देश्य बोकेर आएकीहुँ म । अब पछाडि हट्ने त कुरै छैन । केही आएजस्तो चलचित्र क्षेत्रलाई च्याँखे थाप्न पनि आएकी होइन । दुई–चार लाख तलमाथि भए पनि चलचित्र क्षेत्रलाई बाइबाई गरिहाल्ने सोच, विचार, उद्देश्य र ध्येय छैन मेरो ।’
प्रेमिल दिवसमा वसन्तका स्वर
यस वर्षको ‘भ्यालेन्टाइन डे’का अवसरमा गत आइतबार कवि तथा गीतकार वसन्त चौधरी ‘लभ इन दि एयर’अन्तर्गत आफ्ना प्रेमिल कविताका साथ प्रस्तुत भए । ‘तिम्रो मायामा म बहकिएँ, यसलाई म हार भनूँ कि जित’ भन्दै आफूले २२ वर्षअघि रचेका रचनादेखि हालसम्मका झन्डै डेढ दर्जन प्रेमिल कविता कवि चौधरीले सुनाउँदा श्रोताहरू उमङ्गले झुम्न पुगे । आफ्ना रचनामार्फत कवि चौधरी प्रेम नै जीवनको सार हो, राष्ट्रभक्तिभन्दा अर्को ठूलो भक्ति छैन र शान्तिका लागि सबैले आ–आफ्नो ठाउँबाट हरसम्भव प्रयत्न गर्नुपर्छ भन्ने मान्यतामा दृढ देखिए । उनले कविता वाचन गर्ने क्रममा भने, ‘प्रेमलाई सजिलै व्यक्त गर्न सकिँदैन, सीमित शब्दमा यो व्यक्त हुनै सक्तैन । यो केवल हृदयले बुझ्छ र यसैले मात्र व्यक्त गर्न सक्छ ।’
कविता वाचनको अवसरमा वसन्तले जब आफ्नो एउटा हिन्दी गजल सुनाए, अनि श्रोता झन् रोमाञ्चित भएर हत्केला तातुन्जेल ताली बजाउन थाले । प्रेमले लपक्क भिजेका शब्द र वाक्यहरू पाठ गरिरहँदा श्रोता हर्षोल्लासले उम्लिएर कर्तलध्वनिले समर्थन गरिरहेका देखिन्थे । पाका प्रेमीहरू हल्लाकै बीच हल्का ताली बजाउँथे भने नवयुवा दिल खोलेर आफ्ना प्रेमिल अभिव्यक्ति साटिरहेका देखिन्थे ।
प्रेमिल दिवसकै अवसरमा पाँचवटा पुस्तक, आठवटा सीडी एल्बम र ९० वटा गीत रेकर्ड गरिसकेका कवि–गीतकार चौधरीका नेपाल प्रज्ञा–प्रतिष्ठान, ललिककला प्रज्ञा–प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपतित्रय क्रमशः गङ्गाप्रसाद उप्रेती, रागिनी उपाध्याय र सरुभक्तले तीनवटा नवीनतम गीति एल्मब ‘वसन्त बेला’, ‘कुछ ख्वाइशें कुछ बन्दिशें’ र ‘मुमेन्ट्स् अफ लभ’को संयुक्त रूपमा विमोचनसमेत गरेका थिए ।
प्रतिक्रिया