अफगान गुप्तचर केन्द्र आक्रमणमा कम्तीमा ६५ को मृत्यु

अफगान गुप्तचर केन्द्र आक्रमणमा कम्तीमा ६५ को मृत्यु


अफगान गुप्तचर केन्द्रमा मंगलबार गरिएको तालिवानी आक्रमणबाट कम्तीमा ६५ जनाको मृत्यु भएको अफगान सुरक्षा निकायले जनाएको छ । यसअघि उक्त आक्रमणबाट १२ जनाको मात्र मृत्यु भएको समाचार आएको थियो ।

गुप्तचर निकायको तालिम केन्द्रमा शुरुमा विस्फोटक पदार्थले भरिएको एक सवारीसाधन विस्फोट गराइएको थियो । त्यसलगत्तै कारमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको सुरक्षा स्रोतले जनाएको छ । ‘हामीले सोमबार ६५ जनाको शव निकाल्यौँ,’ वार्दाक प्रान्तका प्रान्तीय परिषदका उपप्रमुख मोहम्मद सरदार बखयारीले बताए ।

आफ्नो नाम बताउन नचाहने एकजना उच्च सुरक्षा अधिकारीले आक्रमणबाट ७० जनाभन्दा बढी मारिएको हुन सक्ने बताए । सोमबार प्रान्तीय अधिकारीहरूले उक्त आक्रमणबाट १२ जना मात्र मारिएको बताएका थिए । तर, केही सञ्चारमाध्यमले सयभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक गरेका छन् ।

राष्ट्रिय सुरक्षा विभाग (एनडीएस)को तालिम केन्द्रमा आक्रमण भएकोले मृतकको वास्तविक संख्या बाहिर आएको छैन । राजधानी काबुलबाट करिब ५० किलोमिटर दक्षिणको मैदान शाहरमा उक्त तालिम केन्द्र रहेको छ । आक्रमणबाट तालिम केन्द्रको भवनको छाना आंशिक ध्वस्त भएको देखिएको छ । आक्रमणकारी पनि जवाफी कारबाहीमा मारिएका छन् । वार्दाक प्रान्तीय परिषदका सदस्य अब्दुल वाहिद अक्बरजाईले भवनको छाना ढलेकाले सबैभन्दा बढी क्षति भएको बताए ।

‘यो ठूलो क्षति हो,’ परिषदका प्रमुख अख्तर मोहम्मद ताहिरीले बताए । ‘एनडीएस सैन्यबल अफगान प्रहरी र सेनाको तुलनामा निकै राम्रो तालिमप्राप्त एवं हातहतियारबाट सुसज्जित हुन्छन्,’ उनले तालिबानी लडाकुहरूले अफगान विशेष फौजले लगाउने पोसाक लगाएको पनि जानकारी दिए ।

आइतबार मात्र तालिबानी आत्मघाती आक्रमणबाट लोगार प्रान्तका गभर्नरको सुरक्षामा खटिएका सातजना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सुरक्षा फौज र तालिबान लडाकुबीचको संघर्ष पछिल्ला दिनमा अझ बढेको अनुभव गरिएको छ । विगतमा अफगानिस्तानमा चिसो मौसममा प्रत्यक्ष युद्धका घटना कम हुने गरेका थिए ।