‘जोलीसँग दाँजिँदा रमाइलो लाग्छ’

‘जोलीसँग दाँजिँदा रमाइलो लाग्छ’


ashika tamang4आशिका तामाङ यतिबेला काठमाडौंमा छिन् । लामो समयदेखि जर्मनीमा बस्दै आएकी आशिकाको तस्बिर हेर्नेहरू उनलाई हलिउड अभिनेत्री एञ्जिला जोलीजसतै देखिने भन्दै प्रशंसा गर्ने गर्छन् । तर, आशिका भने आफू जोसँग मिल्दोजुल्दो देखिए पनि आफ्नै पहिचान र विशेषता बोकेर अगाडि बढ्ने बताउँछिन् ।
अहिले चलचित्र ‘सुश्री’को छायाङ्कनका लागि काठमाडौं आएकी आशिका बिहीबारदेखि चलचित्रको काममा व्यस्त हुनेछिन् । शिवम अधिकारीले निर्देशन गर्ने यो चलचित्रमा नायक भने आर्यन सिग्देल छन् ।
० आशिकाजी अब हिरोइन पनि भइयो, होइन त ?
– हो, बल्लतल्ल भइयो । चलचित्रमार्फत दर्शकसमक्ष पुग्ने सपना अब पूरा हुने भयो ।
० किन नि यस्तो ढिलाइ ?
– सबै कुरा मुहूर्त आएपछि नै हुँदो रहेछ ? मेरो दिन बल्ल आयो
० दिन आउन किन ढिला भएको होला ?
– म विदेश बस्ने गर्छु । यता आएर फिल्म खेल्न समय पनि मिलाउनुप-यो नि । समय मिलाउने क्रममा ढिला भएको हो ।
० आशिकालाई त एञ्जिला जोली भन्दा रहेछन् नि ?
– मेरो अनुहार एञ्जिलासँग मिल्छ रे । त्यसकारणले पनि मलाई धेरैले नेपाली एञ्जिला जोली भन्छन् ।
० कस्तो लाग्छ यसरी कमेन्ट गर्दा ?
– म त खुसी छु । विश्वचर्चित अभिनेत्रीसँग मेरो नाम जोडिनु खुसीको कुरा हो ।
० भोलि फेरि आफ्नो वास्तविक नाम नै गुम्ला नि ?
– गुम्दैन । मेरो आफ्नो नाम र विशेषता त छँदै छ नि !
० भनेपछि अब विदेश नर्फकने ?
– फर्कने । तर पहिलेजस्तो लगातार धेरै समय विदेश बसिँदैन अब आउने–जाने चलिरहन्छ ।
० के कुराले तान्यो नि चलचित्रतिर ?
– जीवनमा चलचित्र खेल्ने मेरो ठूलो इच्छा, उद्देश्य र ध्येय हो । आफ्नो सपनाभन्दा ठूलो अरू केही हुँदैन रहेछ ।
० नयाँ युवतीलाई फिल्म खेलाउनेले त यौनशोषण गर्छ पनि भन्छन्् नि ?
– त्यो कुरा त मैले पनि सुनेकी छु । तर, त्यो आफूमा भर पर्ने कुरा हो । मलाई शोषित भएर फिल्म खेल्नु भने छैन । कसैले त्यस्तो गरे तुरुन्त भण्डाफोर गर्नुपर्छ । म त गाला चड्काएर सबैको अगाडि बेइज्जत नै गरिदिन्छु ।

देखाइदिए कान्छा निर्देशकले
जीवनमा असम्भव भन्ने कुरा केही पनि रहनेछ । अनि क्षमता, प्रतिभा र दक्षता प्रस्तुत गर्न उमेर पनि छेकबार बन्दोरहनेछ । यो कुराको गतिलो, विश्वासिलो, भरपर्दो र उच्च उदाहरण पेस गरेका छन् आठ वर्षिय सौगात विष्टले । सौगातले विश्वकै चलचित्रकर्मीहरूलाई अचम्भित पार्दै गिनिज बुकमा नाम लेखाएका छन् । अबदेखि विश्वले सौगातलाई विश्वकै कम उमेरको चलचित्रको निर्देशकको रूपमा चिन्ने भएको छ । आठ वर्षमै चलचित्रको निर्देशन गरेर अद्भूत क्षमता प्रदर्शन गरेका सौगातले चलचित्र लभ यु बाबाको निर्देशन गरेर विश्वमाझ नै नेपाल, नेपाली चलचित्र र नेपाली चलचित्रकर्मीहरूको शिर उच्च बनाएका छन् । ‘यो फुच्चेले फिल्मको निर्देशन कसरी गर्न सक्छ ? यो सब हावादारी कुरा हो’ भनी चलचित्र क्षेत्रकै कैयनले गरेको टिकाटिप्पणी अब निस्तेज भएको छ । सौगातको विरोध गर्नेहरूले प्रतीकात्मक झापड खाएका छन् । सौगात भन्छन्, ‘मेरो सपना पूरा भएको छ । ममाथि विश्वास नगर्नेहरूले पनि मलाई बधाई दिएका छन् आई एम भेरी ह्याप्पी ।’
सौगात अभिनेता गजित विष्टका छोरा हुन् । पारिवारिक माहौलले पनि सौगातलाई साथ दिएको छ । अब सौगात आफूले निर्देशन गरेको चलचित्र लभ यु बाबा लिएर मुलुकबाहिर रहेका नेपालीहरूमाझ जाने तयारीमा छन् । उनले हरेक दुई वर्षमा एउटा नेपाली चलचित्रको निर्देशन गर्ने योजना पनि सुनाए ।

एकसाथ ६ कृतिको विमोचन
राजधानीमा एकैपटक ६ कृति विमोचित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले तन्नेरी द्वैमासिक पत्रिकाले प्रकाशन गरेको ६ कृतिको राजधानीमा विमोचन गरेका छन् । गोपीकृष्ण ढुंगानाको गजलसङ्ग्रह ‘आफैँभित्र’, तारानाथ गौतमको कवितासङ्ग्रह ‘भावनाका फूलहरू’, नरेन्द्र दाहालको संस्मरणसङ्ग्रह ‘आत्मालाप’, विनयराज गौतमको ‘नेपालको शिक्षामा राजनीतिको प्रभाव’, मीनप्रसाद आचार्यको कवितासङ्ग्रह ‘रंगिएको आकाशमुनि’, तेजप्रकाश श्रेष्ठको कथासङ्ग्रह ‘अनन्त मन’ र ‘यात्राका बिम्बहरू’ विमोचन गरिएको हो ।
कार्यक्रममा लेखन र प्रशासनिक क्षेत्रमा ६ दशकको शिक्षासेवाका लागि प्राध्यापक गोपीकृष्ण शर्मालाई २०७० सालको आरपी शर्मा तन्नेरी शिक्षा पुरस्कार र २०७० सालमा प्रकाशित बालसाहित्यका कृतिमध्ये बालउपन्यास लालुको यात्राका लेखक विजय चालिसेलाई पुष्कर गौतम तन्नेरी बालसाहित्य पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि क्रमशः २० हजार र १० हजार थियो । विशिष्ट तन्नेरी सम्मान पाउने साहित्यकारहरूमा रामप्रसाद दाहाल, मोहन दुवाल, रामप्रसाद पन्त, डा. यादवप्रकाश लामिछाने, डा. कृष्णप्रसाद दाहाल, रामेश्वर राउत मातृदास रहेका छन् । यसैगरी प्रशासनतर्फ शंकरप्रसाद खरेल र चूडामणि शर्मा र समाजसेवातर्फ पुष्पादेवी सर्राफले सम्मान पाएका थिए ।
६ जना कृतिकारलाई विशिष्ट तन्नेरी कृति सम्मान प्रदान गरिएको थियो । बृहत् तन्नेरी सम्मान कृति लोकार्पण तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले तन्नेरी र तन्नेरीका सम्पादक एवम् प्रकाशक विदुर गौतमले एक्लो प्रयासबाट ३८ वर्ष पूरा गर्दै वर्षेनी स्रष्टाहरूलाई हौसला र प्रेरणा प्रदान गरेको बताए । उनले व्यक्तिले वर्षेनी यतिका योगदान साहित्यमा दिँदा साहित्यको श्रीवृद्धिमा ठूलो टेवा पुग्ने बताए ।

लोककवि अली मियाँको ९७औँ जन्मजयन्ती
लोककवि अलि मियाँको ९७आँै जन्मजयन्ती गत १५ गते विशेष कार्यक्रमका साथ मनाइएको छ । सो अवसरमा अली मियाँ लोकवाङ्मय प्रतिष्ठानद्वारा प्रदान गरिने अली मियाँ लोकवाङ्मय पुरस्कार–०७१ बाट कवि, गीतकार तथा गायक ठाकुरप्रसाद सिग्देललाई सम्मानित तुल्याइयो । लोकचन्द्र खनालको संयोजकत्वमा प्राज्ञ हरिदेवी कोइराला र वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्णप्रसाद बास्तोला सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसअनुसार सिग्देललाई दश हजार नगद, ताम्रपत्र र दोसल्लासहितको सो पुरस्कारद्वारा सम्मानित गरिएको हो । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डा. बाबुराम अधिकारीद्वारा लिखित ‘अलि मियाँका गीतमा सामाजिक चेतना’ पुस्तकको लोकार्पणसमेत गरिएको थियो ।

funtimeझिलझिलेमा राईको एकल कविता
बिर्तामोड (झापा)का कवि तीर्थविक्रम राईको एकल कविता वाचन कार्यक्रम झिलझिलेमा हुने भएको छ । आउँदो शनिबारका दिन कवि राईको दोस्रो एकल कविता वाचन हुने भएको हो । लामो समयसम्म रोजगारीको सिलसिलामा कतारमा बस्दै आएका राईले घर आउँदा कविता सुनाउन लागेका हुन् । यसअघि कतारमै सन् २०१२ मा उनको पहिलो एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रवास बसेर साहित्यिक आन्दोलनमा होमिएका कवि राईले एकल कविता वाचन कार्यक्रममा देश, मायाप्रेम तथा विचारको कविताभन्दा पृथक साहित्यिक खुराक दिने बताए । उनले देशदेखि प्रवासमा रहेका नेपालीको अवस्थालाई नजिकबाट प्रस्तुत गरिने औँल्याए । साहित्यिक कार्यक्रमहरू शहरमुखी हुँदै गएको परिवेशलाई चिर्नका लागि आफूले गाउँलाई नै रोजेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर शाखाका अध्यक्षसमेत रहेका कवि राईको एकल कविता वाचन कार्यक्रममा प्राज्ञ श्रवण मुकारुङलगायतका चर्चित साहित्यकारहरूको उपस्थिति रहने बुझिएको छ ।