फन टाइम
लामो समयदेखि अस्टे«लियामा बस्दै आइरहेकी छिन् सुभाङ्गिनी कोइराला । तन उता भए पनि मन भने उनको मातृभूमि नेपालतर्फ नै छ, तर पनि विविध कारणवश उनी अस्टे«लियामा नै छिन् । विशेष गरेर उनको रुचि र चासो भने नेपाली कलाकारितातर्फ बढी छ । उतैबाट बन्ने साना चलचित्रहरूमा आफ्नो दक्षता देखाइसकेकी सुभाङ्गिनीले अभिनय गरेको चलचित्र ‘जंगबहादुरको कोट’ चाँडै प्रदर्शनमा आउने भएको छ । अस्टे«लियामा छायाङ्कन गरिएको यो चलचित्रको प्रदर्शनपश्चात् कलाकारिता क्षेत्रमा आफ्नो नाम रामै्रसँग जम्ने कुरा बताउँछिन् उनी । हाल अस्टे«लियामा नै रहेकी सुभाङ्गिनीसँग अनलाइनमा गरिएको कुराकानी ।
० अब सधैँ उतै बस्ने कि स्वदेश पनि फर्कने ?
– फर्कने नि † तर, समय निश्चित छैन । भविश्य र गन्तव्य त नेपाल नै हो नि ।
० सिनेमा खेल्ने इच्छा त ठूलै छ जस्तो छ नि ?
– इच्छा छ, तर समयको अभावमा त्यो इच्छा पूरा गर्न पाएकी छैन । तर पनि समय मिलाएर अभिनय क्षेत्रमा पनि आफ्नो उपस्थिति दर्शाइरहेकी छु ।
० अब त नेपाल फर्किएर नै फिल्मतिर ध्यान दिए भैगो नि त ?
– योजना त छ । तर, भनेजस्तो कहाँ हुन्छ र ? हेरौँ, समयले कत्तिको साथ दिन्छ ।
० अनि जंगबहादुरको कोट नामक फिल्ममा कस्तो छ नि भूमिका ?
– राम्रो छ । चित्त बुझेर नै यसमा खेलेकी हुँ ।
० अरू नयाँ… ?
– यता बन्ने म्युजिक भिडियोहरूमा काम गर्ने गर्छु अनि सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुन पनि छाड्दिनँ । यसले गर्दा अस्टे«लियामा रहनुभएमा नेपालीमाझ मैले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पनि पाइरहेकी छु ।
० जीवनको यात्रा कसरी अगाडि बढिरहेको छ नि ?
– रामै्र छ । जीवन भनेको जस्तो भोग्यो त्यस्तै हुँदो रहेछ । सोचेजस्तो कहाँ हुन्छ र जीवन ।
० कत्तिको सफल देखिन्छ त्यता बस्ने नेपालीको जीवन ?
– रामै्र छ । सबै आ–आफ्नो काम कर्तव्यमा अगाडि बढिरहेका छन् । कामलाई पूजा गर्ने गर्छन् अनि त्यसैअनुरूप कमाइ पनि छ ।
० अस्टे«लिया जान नेपाली के कुराले बढी आकर्षित भएका हुन् त ?
– कमाइ नै हो प्रमुख कुरा । अनि भविश्यको जोहोका लागि पनि ।
० सुभाङ्गिनीलाई कस्तो कथाबाट अफर आए फिल्म खेलिन्छ त ?
– मेरो त प्रेमकथामाथि आधारित सिनेमा नै हो पहिलो रोजाइ हो ।
० नेपालबाट फिल्म खेल्न कत्तिको अफर आउँछ त ?
– आउने गरेको छ, समय–समयमा ।
० अनि के छ त विचार ?
– राम्रो कथा र ब्यानरबाट अफर आयो भने फिल्म खेल्न नेपालमा नै आउने योजना छ मेरो । हेरौँ, कत्तिको सम्भव हुन्छ ।
जललाई फिल्मको प्यास
नेपाली कलाकर्मीमा अब विदेश बस्ने मोह विस्तारै कम हुन थालेको आभास हुन्छ । कलाकारितामा लाग्दा पाइने इज्जत, सम्मान र वाहवाही विदेशमा नपाउँदा उनीहरूको मन अशान्त हुनु अस्वाभाविक पनि होइन । केही समययता आएर विदेश भासिएका कलाकर्मी स्वदेश फर्कने क्रमलाई निरन्तरता दिँदै अब अभिनेत्री जल शाह पनि नेपाल फर्कने सन्दर्भ यतिबेला चलचित्र बजारमा चर्चामा छ । विविध कारणवश केही वर्षअघि विदेश भासिएकी जल अब चाँडै स्वदेश फर्किएर पुनः चलचित्र क्षेत्रमा सक्रिय हुने चर्चाले नायिकाहरूको अभाव भइरहेको समयमा राहत मिल्ने कुरा बताइएको छ । त्यसो त उनलाई चलचित्रमा लिन पनि निर्माता, निर्देशकहरू आतुर नै देखिएका छन् । कुनै समय हिट फिल्म दिने र चलेकी अभिनेत्रीको रूपमा स्थापित जलको पुनःआगमनलाई सकारात्मक रूपमा लिइएको छ ।
अब केही समयमा नै अमेरिकाबाट नेपाल फर्कने तयारीमा रहेकी जल शाह आउनासाथ उनलाई आफ्नो चलचित्रमा लिन निर्माता–निर्देशक पनि आतुर देखिएका छन् । सीमित हिरोइनको भरमा अडिएको चलचित्र बजारमा जलको आगमन साँच्चि नै फलदायी हुने देखिन्छ ।
गोविन्दको गङ्गा विमोचित
चर्चित रङ्गकर्मी एवम् साहित्यकार डा. गोविन्दसिंह रावतको कथाकृति ‘गङ्गा’को गत शुक्रबार एक समारोहबीच लोकार्पण गरियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले पुस्तकको विमोचन गरे ।
एपेक नेपालद्वारा आयोजित कथासङ्ग्रह विमोचन कार्यक्रममा प्रमुख अतिथि उपकुलपति डा. घिमिरेले पुस्तकका श्रष्टा गोविन्दसिंह रावत कुशल रङ्गकर्मी मात्र नभई कुशल कथाकारसमेत भएको बताए । ३५–३६ सालदेखि रावतसँग आफ्नो सम्बन्ध रहेको बताउँदै डा. घिमिरेले कथाकार रावतले यस कथासङ्ग्रहको माध्यमबाट आमाप्रति अगाध स्नेह र माया समर्पण गरेको उल्लेख गरे । डा. घिमिरेले नेपाली भाषा–साहित्यको केन्द्र काठमाडौं मात्र नभएर सर्वत्र फैलिँदै गएको बताउँदै गोविन्दसिंह रावत पनि भाषा–साहित्यलाई विश्वसामु पु-याउने सत्प्रयासमा जुटेको बताए ।
वरिष्ठ समालोचक प्राध्यापक मोहनराज शर्माले कथालेखन चुनौतीपूर्ण कार्य रहेको बताउँदै कथाकार डा. रावतले जीवनका यथार्थवादी विसङ्गतिहरूलाई कथामा समेटेको उल्लेख गरे । उनले कथाकारले कथासङ्ग्रहका हरेक कथामा कुनै न कुनै पात्रका रूपमा गंगालाई प्रस्तुत गर्ने नयाँ प्रयोगको थालनी गरेको पनि बताए ।
अर्का समालोचक डा. खगेन्द्र लुइँटेलले डा. गोविन्दसिंह रावत आफ्नो विद्यार्थी रहेको बताउँदै नेपाली साहित्यको श्रीवृद्धिमा रावतको योगदान अतुलनीय रहेको बताए । उनी आफ्ना विद्यार्थी गोविन्दसिंहका बारेमा भन्दै थिए, ‘ख’ (खगेन्द्र)ले राम्रो ‘ग’ (गोविन्द) जन्माएको छ । यसमा मलाई औधी खुसी लागेको छ ।
कार्यक्रमका सभापति एवम् आयोजक संस्था एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले नेपाली साहित्यको श्रीवृद्धिका लागि निरन्तर क्रियाशील डा. गोविन्दसिंह रावतले उत्तम कृति नेपाली पाठकलाई सुम्पिएको बताए । कार्यक्रममा साहित्यकर्मी राजेश खनाल र राजेन्द्र शलभले समेत बोलेका थिए ।
प्रतिक्रिया