‘प्रधानमन्त्रीनिवास परिवर्तन नगरे हरेक प्रधानमन्त्री असफल’– आचार्य सन्तोष वशिष्ठ

‘प्रधानमन्त्रीनिवास परिवर्तन नगरे हरेक प्रधानमन्त्री असफल’– आचार्य सन्तोष वशिष्ठ


antarbichar(महासचिव, नेपाल ज्योतिष परिषद्, काठमाडौं)
० यतिबेला नेपालमा धेरैले चासो राखेको विषय हो संविधान, ज्योतिषीय दृष्टिमा यो कहिलेसम्म आउनेजस्तो देखिन्छ ?
– संविधानसभाको निर्वाचन हुनुभन्दाअघि मङ्सिर ४ को मुहूर्त राम्रो नभएकाले यो मुहूर्तले निकास दिँदैन भनेर भदौको अन्तिमतिरै बीबीसीसँगको अन्तर्वार्तामा भनेको थिएँ । यसरी निकास ननिस्कने मुहूर्तमा संविधानसभाको निर्वाचन भएकाले २०७२ सालको कात्तिक २५ गतेसम्म संविधान बन्न सक्दैन ।
० त्यसपछि चाहिँ यही संविधानसभाले संविधान बनाउला कि यो संविधानसभा नै सङ्कटमा पर्ला त ?
– सही मुहूर्त नभएको कारण संविधानसभा नै सङ्कटमा पर्ने देखिन्छ ।
० वर्तमान सरकारले नै त्यतिबेलासम्म निरन्तरता पाउला कि बीचमा परिवर्तन हुने देखिन्छ ?
– यो सरकारलाई आउँदो चैत अन्तिम या वैशाखको सुरुसम्म खड्गो देखिँदै छ । त्यहीबीचमा यो सरकारको अवधि तलमाथि पर्न सक्ने योग छ । बढीमा ०७२ भदौसम्म मात्र यो सरकार जान सक्छ । त्योभन्दा माथिचाहिँ यो जाँदैन ।
० वैशाखपछिको सरकारको नेतृत्वचाहिँ एमालेको हातमा जान्छ कि के छ ?
– वैशाखमै यो सरकार ढल्यो भने नेपाली काङ्ग्रेसकै हातमा जान्छ । त्यो खड्गो टरेर भदौसम्म यो सरकार गयो भनेचाहिँ त्यसपछिको सरकार नेकपा (एमाले)को नेतृत्वमा बन्न सक्ने प्रबल सम्भावना देखिन्छ ।
० कतिपयले त निकास ननिस्केपछि द्वन्द्व बढ्छ र द्वन्द्वको बीचमा कुनै न कुनै प्रकारको कु हुन पनि सक्छ भन्छन्, यस्तो जोग देखिन्छ ?
– नेपालको जन्मकुण्डलीको वेश (आधार) ज्योतिषीय हिसाबले पृथ्वीनारायण शाहले मुलुक एकीकरण गरेको दिनको कुण्डली, जो मीन राशिमा पर्छ र पुरानो चलनचल्तीमा आएको नेपालकै वृश्चिक राशिवाला जन्मकुण्डली दुवैलाई मिलाएर हेर्दाखेरि गत माघ एकदेखि आगामी कात्तिक २५ सम्म देशका लागि नराम्रो अवस्था निम्तिने देखिन्छ । अर्थात् यो अवधिमा विभिन्न अप्ठ्यारासँग सामना गर्नुपर्ने देखिन्छ । जनताले नसोचेका घटना घट्न सक्ने सङ्केत देखिएको छ यस अवधिमा । यसको मतलब कुनै गम्भीर प्रकृतिको कु नै हुन्छ भन्न मिल्नेचाहिँ देखिँदैन । कात्तिक २५ गते कटेपछि भने नेपालले निकास पाउँछ, देश अलिक सहज किसिमबाट अघि बढ्न सक्ने देखिन्छ ।
० यो संविधानसभा नरहे पनि निकास पाउँछ त ?
– संविधानसभा रहे पनि या नरहे पनि त्यसपछि निकासतिर लाग्ने नै देखिन्छ ।
० हालका राजनीतिक दल र यिनै नेता नै हाबी भइरहन्छन् त्यसपछि पनि ?
– कोही कहाँ रहलान् या नरहलान् भन्नेभन्दा पनि के हुँदा राम्रो होला भन्नेचाहिँ ज्योतिषशास्त्रको महत्वपूर्ण पक्ष हो । यस हिसाबमा ज्योतिषीय आधारबाट भन्नुपर्दा अहिले भएका अग्रपङ्क्तिका दश–पन्ध्रजना नेताका कारण देश बन्धक बनिरहेको देखिन्छ । कात्तिक २५ कटेपछि नयाँ अनुहारका व्यक्ति नेतृत्वमा पुग्नुपर्छ । विस्तारै नयाँ–नयाँ अनुहारहरू नेतृत्वमा पुगेपछि तिनैले देशलाई निकास दिनेछन् । सोझै भन्नुपर्दा अहिलेका प्रत्येकजसो दलका नेतृत्वपङ्क्तिले केही समय ‘रिटायरमेन्ट’ लिइदिनुभए देशले सहजै निकास पाउन सक्छ ।
० हालका शीर्षपङ्क्तिका नेताहरू सबैले आफैँलाई ‘राजा’ ठानेका छन्, यस्तो परिवेशमा यिनले सहजै अवकाश लिने सम्भावना कत्तिको देखिन्छ नि ज्योतिषीय दृष्टिमा ?
– त्यस्तो सहज अवकाशको सम्भावना त देखिँदैन । तसर्थ, कात्तिक २५ गतेपछि यस्तो अवस्था निम्तन सक्छ कि यी नेताहरूका कारण ग्रहणमा परेर बसेका थुप्रै युवा नेताहरू नयाँ ऊर्जाका साथ प्रत्येक पार्टीबाट अवरोध चिर्दै नयाँ सम्भावनाको ढोका खोल्न सक्ने अवस्थामा पुग्नेछन् । उदाहरणका लागि भारतको दिल्लीमा केजरिवालको रूपमा नयाँ शक्ति उदय भएको सन्दर्भलाई लिन सकिन्छ । पुराना नेतृत्वपङ्क्तिले सहज ढङ्गले बाटो नछोडे यहाँ पनि जबर्जस्ती खुम्च्याएर राखिएका युवा नेताहरूको ऊर्जा सक्रिय भई कात्तिक २५ पछि उनीहरूलाई नेतृत्वदायी भूमिकामा पु-याउने प्रबलता देखिन्छ ।
० केही वर्षयता नेपालमा विदेशी चासो निकै बढेको देखिन्छ, तपाईंले भनेको कात्तिक २५ पछिको परिवर्तन बाह्य–स्वार्थअनुरूपकै देखिन्छ कि त्यसपछि विदेशी चासो घटेर जाने या कमजोर पर्ने देखिन्छ नि ?
– हाम्रो नेपाल विकराल सम्भावनाको थलो हो । तर, सुनको सिरानी लगाएर विदेशीसँग भीख माग्ने परम्पराले गाँजेको छ । यस्तो प्रवृत्तिले गर्दा देश जहिले पनि अनिर्णीत भइरहेको छ । विदेशीका कारणभन्दा पनि हाम्रा नेताका कमजोरीका कारण यस्तो अवस्था आएको हो । त्यसैले, जब देशहितमा काम गर्ने साहसी नयाँ नेतृत्वको उदय हुन पुग्छ, बाह्यप्रभाव स्वतः घटेको अनुभूति गर्न सकिनेछ ।
० कतिपय विश्लेषकहरूले देशमा गृहयुद्धको सम्भावना देखिरहेका छन्, तपाईं त्यस्तो देख्नुहुन्न ?
– म त्यस्तो सम्भावना देख्दिनँ । ज्योतिषीय आधारमा गणना गरेर हेर्दा गृहयुद्धको सम्भावना छैन । तथापि, तनाव बढ्ने, भित्रभित्रै या घर–घरमा अशान्ति बढ्ने, टोल–टोल या गाउँ(गाउँमा अशान्ति बढे पनि अन्ततः निकास निस्कन्छ । अशान्तिका चरम अवस्था पैदा हुनु नै निकासकै निम्ति हो भन्ने बुझ्नुपर्छ ।
० कात्तिक २५ पछि निस्कने निकासले देशको विकास र स्थायित्वको जग बसाउला त ?
– पक्कै बसाउँछ ।
० यसको मतलब अब धेरै टाढासम्म हामीले आजको जस्तो विग्रह देख्नुपर्दैन ?
– हो, हो । देशको जन्मकुण्डलीमा वृहस्पतिको महादशा सुरु हुन्छ कात्तिक २५ बाट । त्यतिन्जेलसम्म शनि छ । शनि जाने बेला अलिक हलचल हुन्छ । कात्तिक २५ पछि १६ वर्ष वृहस्पति रहन्छ । हो, यही १६ वर्षे कालखण्डमा नेपालले तीव्र विकास गर्ने भएकाले नेपालीले राहत पाउनेछन् ।
० हाम्रा कतिपय प्रमुख नेताहरूको स्वास्थ्यस्थिति अत्यन्तै खराब छ, उहाँहरूको स्वास्थ्यस्थितिले देशलाई कुनै असर पार्ने देखिन्छ कि ?
– व्यक्तिको स्वास्थ्यले देशलाई खास असर त पार्दैन, तर नेतृत्वमा बस्ने व्यक्ति रोगी हुनु भनेको उसका काम–कारबाहीमा नकारात्मक असर पुग्नु हो । ठूलो जिम्मेवारीमा बस्नेहरू विचार र भावनाका रोगी हुनुहुँदैन । यस कोणबाट हेर्दा उनीहरू खासै विचार र भावनाका रोगी छैनन् । तर, लोभरूपी खतरनाक रोगले भने उनीहरूलाई गाँजेको छ । जन्मेपछि सबै मर्नुपर्छ, रोग लागे पनि र नलागे पनि । त्यसैले, मर्दाखेरि जम्मा पन्ध्र सयको दाउराले पुग्छ, कात्रोमा गोजी सिलाइएको हुँदैन भन्ने किसिमका भाव जबसम्म नेतामा पैदा हुँदैन, समस्या त्यहाँनेर हुने हो ।
० नयाँ नेतृत्वमा आउने नेताचाहिँ तपाईंले भनेजस्तो भाव राख्ने खालकै होलान् त ?
– पार्टीभित्र मात्र होइन, पार्टीबाहिर पनि त्यस्ता सम्भावना बोकेका राष्ट्रलाई मायामोह गर्ने व्यक्तिहरू छन् । पछिल्लो समयमा मैले त्यस्ता कतिपयको जन्मकुण्डली हेरिरहेको छु, त्यस्ता कतिसँग परामर्श पनि भएको छ । व्यक्तिका कुण्डली हेर्दा मैले त्यो पाएको छु ।
० कुनै न कुनै बेला त संविधान बन्ला नि होइन देशमा ? यसबारे के देखिन्छ ?
– कागजमा नियम–कानुनका केही कुरा उतारेर जारी गरेपछि संविधान त बनेकै भन्न मिलिहाल्ला, तर नेपाली जनताले चाहेकैजस्तो संविधान बन्ने देखिँदैन । किनकि, हालका नेताहरू नै संविधान बनाउन भित्रैदेखि इच्छुक छैनन्, आफ्नो जागिर बचाउने लोभमा परेका छन् उनीहरू । संविधान चाहिएको त जनतालाई हो । जनताका प्रतिनिधि भन्नुहुन्छ उहाँहरू आफूलाई, तर जनताले चाहेको कुरा दिन सक्नुहुन्न । यो कमजोर पक्ष रहेकाले कात्तिक २५ कटेपछि मात्रै सबैलाई समेट्न सक्ने असल छवि भएको व्यक्तिले नेतृत्व लिने अवस्था पैदा हुन्छ । त्यसबेला हालका विद्रोही वैद्य–विप्लवदेखि कमल थापासम्मका भावनालाई मिलाएर समेट्न सक्ने व्यक्तिको पहलकदमीमा सबैलाई स्वीकार्य हुने खालको संविधान लेखिन सक्छ ।
० पूर्वराजा पनि कुरेर बसिरहेका देखिन्छन्, उनले त्यसबेला कुनै ठाउँ पाउने सम्भावना देखिन्छ कि देखिन्न नि ?
– यो देशमा सक्रिय राजा त अब कहिल्यै हुँदैन, तर सांस्कृतिक राजा, बेबी किङजस्ता शब्दले पनि यहाँ चर्चा जो पाइरहेका छन्, त्यस्तो प्रकारको स्थान पाउन सक्ने सम्भावनाचाहिँ कायमै देखिन्छ । ०७३ सालको अन्तिम या ०७४ को सुरुमा वृहस्पति सिंहमा गएपछि त्यस्तो सम्भावना बढेर आउँछ ।
० राजसंस्थाले स्पेस पाउँदा पूर्वराजा ज्ञानेन्द्रकै वर्चश्व रहला कि नातिराजाहरू या कुनै अर्कै शक्तिको रूपमा प्रकट होला नि ?
– त्यस्तै कुनै संस्थाले स्पेस पाउन सक्छ, पूर्वराजाले नै स्थान लिन सक्ने सम्भावना त खासै देखिँदैन ।
० ज्योतिषीय दृष्टिमा सङ्घीयताको कुराचाहिँ कुन रूपमा अघि बढ्ने या नबढ्ने देखिन्छ ?
– यो देशलाई ज्योतिषशास्त्र या वास्तुशास्त्रीय आधारबाट हेर्दा सङ्घीयतामा जाँदैन या जान अनुकूल नै नभएको भौगोलिक अवस्थिति छ नेपालको । देशलाई सङ्घीयता नफाप्ने निश्चित छ र पनि नेतागणहरू सङ्घीयताको रटान लगाइरहेका छन् । देश सङ्घीयतामा नजाने ग्रहगोचर रहे पनि नेतृत्वले बलजफ्ती लैजाने भएमा पनि पछि फर्कन सजिलो हुने किसिमबाट जानसक्छ । तीन या चार प्रदेश त्यो पनि जातको आधारले नभई नामको आधारले जाला । तर, ग्रह हेर्दा त सङ्घीयतामा जानै सक्दैन यो मुलुक । यदि गएछ भने पनि चार–पाँच वर्षमै नयाँ पृथ्वीनारायण जन्मन सक्छ यहाँ । तसर्थ, सङ्घीयतामा नगएकै राम्रो हुन्छ ।
० धर्मनिरपेक्षताको कुरा कार्यान्वयन हुने–नहुने के देखिन्छ नि ज्योतिषीय आधारमा ?
– अकारण शब्दमा मात्रै धर्मनिरपेक्ष बनाइएको छ नेपाललाई । तर, यो सदा धर्मसापेक्ष मुलुक बनेर रहने देखिन्छ ।
० नेपालमा बनेका प्रधानमन्त्री सबै असफल नै बनेको देखिनुको मूल कारणचाहिँ के होला नि ?
– राजसंस्थाले सारा शक्ति आफ्नो हातमा लिएर देखावटी प्रधानमन्त्री बनाउने, दोषजति प्रधानमन्त्रीमा थोपर्ने कालखण्डमा हालको प्रधानमन्त्रीनिवास निर्माण भएकाले यस्तो अवस्था रहेको हो । बालुवाटारको त्यही प्रधानमन्त्री क्वार्टर कायम रहेसम्म भगवान्कै अवतार प्रधानमन्त्री भएर गए पनि असफलता र अपजस हासिल हुने देखिन्छ । प्रधानमन्त्रीनिवास तुरुन्त परिवर्तन गरिनुपर्छ । ०७२ को कात्तिक २५ पछिका प्रधानमन्त्री त्यो निवासमा नबसे राम्रो ।
० सिंहदरबार नि ?
– त्यसको पनि वास्तु खास मिलेको छैन । त्यसलाई पनि मिलाउनुपर्छ, मिल्न सक्छ ।
० हालका राष्ट्रपतिको अवस्थाचाहिँ कात्तिक २५ पछि कस्तो् रहला नि ?
– ०७२ सालपछि उहाँको समय सकिएको देखिन्छ ।