फन टाइम

फन टाइम


susmaअष्ट्रेलियामा सुष्माको चर्तिकला
जसका लागि निम्त्यायो, त्यसका लागि उपस्थित नभएर अन्य घुमघामतिर लाग्नाले मोडल एवम् नृत्याङ्गना सुष्मा अधिकारी अष्ट्रेलियामा आलोचित बन्न पुगिन् ।
विभिन्न कलाकारहरूसँग सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न गत साता अष्ट्रेलिया पुगेकी सुष्मालाई अष्ट्रेलिया निम्त्याउनु नै ठूलो गल्ती भएको महसुस स्थानीय आयोजकले गरेको छ । कार्यक्रम प्रस्तुत गर्ने समयमा स्टेजमा देखिनुपर्ने सुष्मा समुद्री तटमा फोटो खिच्न र घुम्नतिर व्यस्त हुन थालेपछि अब आगामी दिनमा अष्ट्रेलियामा हुने कुनै पनि कार्यक्रममा उनलाई ननिम्त्याउने निष्कर्षमा आयोजक पुगेका छन् । ‘त्यत्रो खर्च गरेर अष्ट्रेलिया ल्याइयो तर यहाँ आएपछि उनी आफ्नै मर्जीमा हिँडेपछि अब उनको आवश्यकता हामीलाई महसुस भएन,’ कार्यक्रम आयोजकको गुनासो रहेको छ ।
सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न गएकी सुष्माले कार्यक्रममा भाग नलिएर म्युजिक भिडियोको सुटिङतिर समय दिँदा आफ्नो समूह धोकामा परेको कुरा आयोजकहरूले बताएका छन् । ‘खर्च हाम्रो तर सुटिङ अरूहरूको ? यसले गर्दा पनि उनमा कामप्रति इमानदारिता झल्किएन,’ आयोजकको गुनासो छ । यस्ता केही कलाकारको यस्तो अशोभनीय र गैरजिम्मेवार व्यवहारले गर्दा अरू कलाकारलाई हेर्ने दृष्टि पनि गलत पर्न जान्छ भन्ने धारणा आयोजकको रहेको छ । पहिले अष्ट्रेलिया जानका लागि सियो भएर छिरेकी सुष्मा भिसा मिलेपछि फाली भएर निस्किएकोमा आयोजक रिसले आगो बनेका छन् ।
तीनवटा शोका लागि नृत्य प्रस्तुत गर्न अष्ट्रेलिया पुगेकी सुष्मा एउटा कार्यक्रममा मात्र सहभागी भएकी थिइन् । जुन कार्यक्रममा उनलाई निम्त्याउन पनि हम्मे–हम्मे भएको थियो । अष्ट्रेलिया पुगेपछि उनी आयोजक र अन्य कलाकारसँग नबसेर मेरा आफन्त भन्दै अरूहरूसँग बस्न पुगेकी थिइन् ।

बामियानी सर्जक यात्री
०४७ मा कृष्ण शाह यात्रीको पहिलो नाटक प्रकाशित भएको थियो– ‘चिसो बस्ती’ । उसबेला नाटकमा पाइला चाल्दै गरेका यात्री अहिले नेपालका एक प्रतिनिधि नाटककारका रूपमा कहलिएका छन् । उनका आधा दर्जन नाटकहरू विद्यालयदेखि विभिन्न विश्वविद्यालयका विभिन्न तहका पाठ्यक्रममा पढाइ हुन्छ । यिनै यात्रीले अहिले नयाँ नाटकसङ्ग्रह ‘बामियानका चिसा बुद्धहरू’ सार्वजनिक गरेका छन् । यात्रीको यो दशौँ नाट्यकृतिलाई राष्ट्रिय नाचघरमा लोकार्पण गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले भने, ‘कृष्ण शाह यात्रीले नेपाली नाट्य साहित्यमा आफ्नै मौलिक पहिचान बनाएका छन् । उनले नाटकमा मात्र नभई रङ्गमञ्चमा समेत विभिन्न सफल प्रयोग गरेका छन् । मैले दुई दशकदेखि उनको नाट्यकर्मलाई नजिकबाट नियालिरहेको छु ।’
नेपालमा नाटकका पुस्तक थोरै प्रकाशित हुन्छन् । अरू विधाबाट पनि आख्यानमा भटाभट धेरै साहित्यकार आकर्षित भइरहेका छन् । यात्री भने लामो समयदेखि अनवरत नाटकलेखन र प्रकाशनमा सक्रिय छन् । सँगसँगै नाटक निर्देशन र शोध–अनुसन्धानमा समेत काम गरिरहेका भेटिन्छन् । यस्तो समर्पण किन त ? उनी भन्छन्, ‘नाटकले नै मलाई स्थापित गरायो । त्यसैले जस्तोसुकै अप्ठ्यारो र अनाकर्षणको अवस्थामा समेत नाटक लेख्न मैले छाड्नुहुँदैन भन्ने कुराले मलाई झकझकाइरहन्छ । लेख्न छाड्दिनँ पनि ।’
कृष्ण शाह यात्री अहिले आफूले वर्षमा बढीमा दुईवटासम्म नाटक लेख्ने गरेको बताउँछन् । कुनै विषय मन परे त्यसबारे कम्तीमा ६ महिनासम्म सोधी–खोजी र अध्ययन्पश्चात मात्र उनी लेख्ने गर्छन् । ‘बामियानका चिसा बुद्धहरू’ नाटकसङ्ग्रहभित्रका पाँचवटा नाटक लेख्न त उनलाई लगभग पाँच वर्ष नै लाग्यो । उनले यी नाटकहरूलाई पूर्णता दिनका लागि महाभारत, रामायण र गीतालाई मिहिन रूपमा अध्ययन गरे । कतिपय कुरा नजिकबाट नियाल्न नेपाल, भारत र अमेरिकाका केही स्थानहरूको स्थलगत भ्रमणसमेत गरे । यसै सङ्ग्रहभित्रका ‘निरावण’ र ‘बामियानका चिसा बुद्धहरू’ शीर्षकका दुई नाटकले रङ्गमञ्चमा समेत राम्रो छाप छोडिसकेका छन् ।
मदन पुरस्कार विजेता नाट्यविद् प्रा. डा. केशवप्रसाद उपाध्यायले पुस्तकको भूमिकामा भनेका छन्, ‘यात्रीका नाटकहरू अन्तर्वस्तु र प्रस्तुति दुवै दृष्टिले शक्तिशाली छन् । अढाइ दशकदेखि नाट्यकर्म र नाट्यलेखनमा निरन्तर लागिरहेका यात्री उत्तरप्रयोगधर्मी नाटककार हुन् र उत्तरआधुनिक नाट्यकलालाई अग्रगति दिने, आफ्ना समकालीन नाटककारहरूमा सम्प्रति उनी नै सर्वाधिक क्रियाशील र सिर्जनशील छन्जस्तो मलाई लाग्छ ।’
नयाँ नाटकसङ्ग्रहभित्रको नाटक ‘हामी’ले माओवादी जनयुद्धताका बेपत्ता पारिएका नागरिकको कथा बोकेको छ । नाटक ‘अनन्त सपनाहरू’ले युरोप र अमेरिका पलायन हुने लाखौँ नेपालीको पीडा बोकेको छ । यसैगरी ‘आयुयन्त्र’ले बाबु र छोराबीचको सम्बन्धलाई नयाँ किसिमले परिभाषित गर्न खोजेको छ । पूर्वीय मिथक र संस्कृतिको प्रभाव पनि उनको नाटकमा देख्न सकिन्छ । विभिन्न कलेजमा नाटक अध्यापनसमेत गराउँदै आएका यात्री भन्छन्, ‘हामीले टिप्न बाँकी अनेकौँ विषय हाम्रावरिपरि छरिएका छन् । धेरैले नाटकमा कलम चलाइदिऊन् जस्तो लाग्छ ।’
कृष्ण शाह यात्री अहिले ‘भरतमुनिको नाट्यशास्त्रमा गैरशाब्दिक सञ्चार’ शीर्षकमा विद्यावारिधि गरिरहेका छन् । उनकै परिकल्पनामा विगत डेढ दशकअघिदेखि नेपाली रङ्गमञ्चमा सुरु भएको आवाजबिनाको सङ्केत नाटक अभियानसम्बन्धी अनुभव सङ्गालिएको पुस्तक ‘सङ्केत नाटक ः सिद्धान्त र प्रस्तुति’ प्रकाशनको अन्तिम चरणमा रहेको बताउँछन् । यात्रीको यस्तो सक्रियता देख्दै आएका डा. कुमार कोइरालाले ‘बामियानका चिसा बुद्धहरू’ लोकार्पण समारोहमा भने, ‘उनले यो उमेरमा गरेको योगदान निकै प्रशंसनीय छ । उनीबाट नाटक र रङ्गमञ्च क्षेत्रले धेरै आशा गरेको छ । नेपाली नाटकमा एक किसिमको खडेरी छ राम्रा नाटकहरूको । उनको कलम निरन्तर चलिरहनुपर्छ ।’
यात्रीका अहिलेसम्म साहित्यका अन्य विधाका समेत गरी तीन दर्जन कृति प्रकाशित छन् । सङ्गीत नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्यसमेत रहिसकेका funtimeयात्रीको निर्देशनमा तीन महिनायता मात्रै पनि लियो टल्सटाय, भीमनिधि तिवारी, विजय मल्ल र दिनेश अधिकारीका नाटकहरू मञ्चन भएको देखिन्छ । बामियान सर्जक यात्री अहिले त्रिभुवन विश्वविद्यालयको बीए र बीएडको अनिवार्य नेपालीमा पढाइ हुने आफ्नै नाटक ‘पीडा आरोहण’को मञ्चनको तयारीमा जुट्न लागेका छन् ।