उसबेलाको कुरा हो । देशका राजकुमारको बिहेभोज आयोजना गरिएको थियो । राजदरबारमा आयोजित बिहेभोजमा देशभरिका जनतालाई फरक–फरक लटमा खान बोलाइएको थियो । जनताको घरमा मासुभात दशैँमा मात्रै पाक्थ्यो । कहीँकतै कुनै रैतिको घरमा बिहे हुँदा अलिक हुनेखानेकहाँ एउटा जन्तीबाख्रो ढालिन्थ्यो । तीन–चार गाउँका मानिसलाई निम्तो गरिन्थ्यो । एउटा बाख्रोको मासुबाट बीसौँ खड्कौलो झोल उमालिन्थ्यो । टपरीमा मासुको झोल र भात दिइन्थ्यो । भात मुछेर गाँस हाल्नुअघि नै टपरीको प्वालबाट झोल चुहिएर सकिन्थ्यो । भात कपाकप निस्तै खानु पथ्र्यो । यसैबीच हरेकको टपरीमा एक–एक चोक्टो मासु पनि हालिन्थ्यो । जिन्दगीमा कहिलेकाहीँ मात्रै तिनको मुखमा एकचोक्टो मासु छिथ्र्यो । दशैँलाई अपवादको रुपमा राखिन्थ्यो ।
यसरी मासु भन्ने शब्द सुन्नेवित्तिकै मान्छेका मुखबाट पानी रसाउने अवस्थामा राजाको पटाङ्गिनीमा राजकुमारको बिहेभोज आयोजना हुनु र त्यस भोजमा मासु–चिउरा खान दिने हल्ला पिटाइनुले मान्छेहरूको ओइरो लागेको थियो । सबै मान्छे मासु–चिउरा खान लाइनमा उभिएका थिए । धेरै मान्छे भएका कारण टपरी थालको व्यवस्था गर्न अप्ठ्यारो भएकोले होला हातहातमै मासु–चिउरा दिने व्यवस्था गरिएको थियो । मासुचिउरा थाप्न सबै लाइनमा उभिएका थिए । दिनेले दिइरहेको थियो, थाप्नेहरूले थापिरहेका थिए । दरबारको पटाङ्गिनीमा खम्बाहरू थिए बुट्टा कुँदेका । मासु–चिउरा थाप्दै गर्दा एक युवकले कुनै कारणवश खम्बालाई बीचमा पारेर हात थाप्यो । दिनेले पनि हतारमा हातमा मासु–चिउरा हालिदियो । युवक एकैछिनमा आत्तियो । यता तान्दा पनि हात आउँदैन, उता धकेल्दा पनि हात फुत्किँदैन । युवकले लगातार मासु–चिउराले भरिएको हात आफूतिर तान्ने र अगाडि धकेल्ने गर्न थाल्यो । केही सिप नलागेर युवक डाँको छाडेर रून थाल्यो । सबैजना भेला भए । खम्बाबाट हात छुटाउन युवकले पहिले जसो गरेको थियो सबैले त्यसै गरे तर हात छुटेन । उता मासुचिउरा पोखिएला भन्ने पिर पनि सबैलाई भयो । युवक अझै चर्किएर रून लाग्यो । एक–दुईजनाले खम्बा काट्ने कुरा गरे । अधिकांशले राजाको दरबारको खम्बा ढाल्नुभन्दा जाबो एकजना गरीबको दुबै हात काट्न वेश भन्न थाले । बहुसङ्ख्यकले होमा हो मिलाए । युवकको हात काट्नका लागि खुँडा उद्याइयो । युवकका बाबुआमा छाती पिटीपिटी रून लागे– ‘लौन ! छोरोको हात नकाट्ने उपाय गरिदेउ ।’ तिनको बिलौना सुन्न कोही तयार थिएनन् । ‘काट्ने हो काट्ने हो, हातै काट्ने हो’– प्रायःसबैको राय एउटै थियो ।
त्यसैबखत दुनियाँलाई राम्रैसँग अध्ययन गरिभ्याएका ज्ञानी पुरुष त्यही दरबारको बाटो कतै जाँदै थिए । होहल्ला सुनेर ज्ञानी पुरुष नजिक आए । एकैछिनमा कुरा बुझे । कठै विचरा ! यिनीहरूको बुद्धि । ज्ञानीले मनमनै सोचे र भने, ‘केही समस्या भए म समाधान गरौँ कि ?’ सबैले एकै स्वरमा खम्बामा हात अड्किएर निकाल्न नसक्दा हातै काट्न लागेको बताए । यो पनि भने कि यदि ज्ञानी नवआगन्तुक पुरुषले सके हात छुटाउने उपाय बताउन् । ज्ञानी पुरुषले एउटा थाल मगाए । थाल पाएपछि युवकलाई मासुचिउरा थालमा खन्याउन भने र उनले थाल थापे । युवकले खन्याए । मासुचिउरा पनि पोखिएन । हात खम्बाबाट छुट्यो । हात काट्नै परेन । युवक खुशी भए । सबै मान्छेहरू दङ्ग परे । सबैले ‘वाह् ! क्या विद्वान रहेछ’ भने । केहीबेर सबैले विद्वानको जयजयकार गरे, तर एकैछिनमा भिडमा खासखुस कुरा चल्न थाल्यो । यति विद्वान मान्छेको मासु खान पाएदेखि त हामी पनि यस्तै विद्वान हुन्छौँ । फेरि आवाज आयो ‘हो हो, खाने हो । यो विद्वानलाई मारेर खाने हो ।’ कसैले भन्यो, ‘म कलेजो खान्छु ।’ अर्कोले भन्यो, ‘म गिदी खान्छु ।’ यसैगरी ‘म फियो खान्छु’, ‘म फल मासु खान्छु’, ‘मलाई त गर्दनको मासु भए पनि हुन्छ’ आदि तर्कहरू छरपस्टिन थाले । मुर्खहरू आपसमा म यो खाने र तँ यो खाने विवादमै व्यस्त थिए, ज्ञानी पुरुष तिनका कुरा सुनेर मौका पाउनेवित्तिकै सासै रोकेर कुलेलम ठोके । निकै टाढाको डाँडामा उक्लिएर पछि फर्किएर हेर्दै ज्ञानीले फुसफुसाए– ‘मान्छेको शरीरमा मान्छेको स्वभाव हुन्छ भन्ने सुनेको थिएँ, होइन रहेछ । मान्छेको शरीरमा राक्षसको हंसले पनि बास गरेको हुँदोरहेछ ।’
आज नेपाली नागरिक समाजका बहुसङ्ख्यक सदस्यहरू त्यही ‘मुटु, कलेजो र गिदी खान्छु’ भन्ने खालको अवस्थामा रहेका हुँदा यो कथा लेखियो । हुन पनि हो । प्रष्ट देखिएको छ । यो देश हाँक्ने जिम्मेवारी पाएका राजनीतिज्ञहरू कथाका युवकको जस्तै विनासोचविचार या उपायको खोजी नै नगरी एकैपटक कुनै एक व्यक्ति राजनीतिमा सक्रिय रहने भन्ने कुनै हिसाब छैन यो देशमा । बुद्धि भएका र ज्ञान भएका मानिसहरूलाई जबर्जस्ती पाखा पारिएको छ । ज्ञानीहरूसँग, उपाय भएकाहरूसँग ज्ञान र बुद्धि लिनु त परै जाओस् उल्टै ज्ञानीहरूलाई, सक्षमहरूलाई सम्पूर्ण रूपले अपमान गरिएको छ ।
उदाहरणका लागि सामान्य जीवन गुजारिरहेका केही नागरिकहरूको नाम लिऔँ । काठमाडौंमा छन् डाक्टर जयराज आचार्य । यिनी संयुक्त राष्ट्रङ्घका लागि नेपालका भूतपूर्व स्थायी प्रतिनिधि हुन् । अङ्ग्रेजी र संस्कृतका प्रकाण्ड विद्वान मात्रै होइनन् नेपाललाई विश्वसामु कसरी ठीक तरिकाले उभ्याउन सकिन्छ भन्ने उपाय भएका व्यक्ति समेत हुन् । यिनलाई विश्वका धेरै मानिसले सम्मान पनि गर्छन् । तर नेपालका यतिबेलाका शासकहरूले यिनको ज्ञान र वुद्धिलाई सदुपयोग गर्नेतर्फ ध्यान दिएनन् । हिमालय शमशेर जबरा नेपाल राष्ट्रबैंकका प्रथम गभर्नर, प्रथम अर्थसचिव हुन् । यिनीसँग मुलुकलाई आर्थिक रूपले समृद्ध बनाउने तरिका छ । नयाँ संविधान कुन प्रकारको बनाउनुपर्छ भन्नेमा यिनले नेपाल सरकार र दलहरूलाई राम्रो सल्लाह दिन सक्छन् । तर, वर्तमान शासकहरूले हिमालय शमशेरको बुद्धि र ज्ञानलाई प्रयोग गर्नपर्छ भन्ने सोचेका छैनन् । परराष्ट्र मामलामा कसरी सफलता हात पार्न सकिन्छ– डा. भेषबहादुर थापा र रमेशनाथ पाण्डेहरू बताउन सक्छन् । देशको स्वास्थ्य क्षेत्रलाई कसरी व्यवस्थित गर्न सकिन्छ, यसबारे डाक्टर गोविन्द केसी, डाक्टर भगवान कोइरालाहरूको बुद्धि लिन सकिन्थ्यो । शान्तिसुरक्षालाई कसरी मजबुत बनाउन सकिन्छ भन्ने रायसल्लाह पूर्वप्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रविक्रम महत लगायत अन्य पूर्व कर्मचारीसँग लिन सकिन्थ्यो ।
उदाहरण अरू पनि दिन सकिन्छ । नतिजाशुन्यको अवस्थाबाट चितवन भरतपुरमा रहेको नारायणी उच्चमाविलाई त्यही विद्यालयका टेकबहादुर थापाले चमत्कारिक ढङ्गले सुधारेर निजी विद्यालयको तुलनामा अझै अब्बल नतिजा निकाल्न सके । देशभरिको शैक्षिक उन्नतिका लागि तिनले अवलम्बन गरेको शैक्षिक प्रक्रिया अपनाउने हो भने वा थप उपायका लागि तिनको ज्ञानलाई प्रयोग गर्ने हो भने यो मुलुकबाट शैक्षिक समस्या र अस्तव्यस्तताको अन्त्य हुन सक्छ । अर्का राजकृष्ण कँडेल जस्ता सक्षम र त्यागी नागरिक पनि छन् यही जिल्लाको शैक्षिक क्षेत्रमा । तिनको ज्ञान र अनुभवलाई पनि यो देशले ग्रहण गर्नुपर्ने अवस्था देखिन्छ । कृषि अनसन्धानकर्ता बुद्धिराज ढकाल छन् चितवन भरतपुरको कृष्णपुरमा । यिनको मद्दतले नेपालमा दीर्घकालीन रूपमा कृषि उत्पादन बढाउन सकिन्छ । पशुपक्षीको लागि प्रयोग हुने औषधी उत्पादनको क्षेत्रमा कृष्णप्रसाद अधिकारी र मित्रराज दवाडीहरूले पनि आर्थिक उपार्जनको हकमा महत्वपूर्ण विचार प्रदान गर्न सक्छन् । पोल्ट्री क्षेत्रको विकासले पनि नेपालको आर्थिक प्रगति आकाशिन सक्छ । चितवनमा छन् डा. तिलचन्द्र भट्टराई, गुणचन्द्र विष्ट, देवेन्द्र श्रेष्ठ र उपेन्द्र रिजालहरू । यिनीहरूसँग कसरी पोल्ट्री व्यवसायलाई अगाडि बढाउन सकिन्छ भन्ने भरमग्दुर उपाय छ । तर यी विभिन्न क्षेत्रका विवेक, ज्ञान र उपाय भएका नागरिकहरूलाई उचित सम्मानका साथ यिनको खुबीलाई प्रयोग गर्नु त कता हो कता कहिल्यै यो देशको सरकारले सोधखोजै गरेन । उल्लेख गरिएका केही क्षेत्रका र केही व्यक्तिहरू मात्रै होइन, समाज परिवर्तनका लागि अचुक उपाय बताउन सक्नेहरू, आर्थिक प्रगतिका सुत्रहरू दिन सक्ने खुबीवान नागरिकहरू थुप्रै–थुप्रै छन् नेपालमा । ती सबैलाई राष्ट्र निर्माण प्रक्रियामा सामेल गराउनु पथ्र्यो, तर सदाबहार बहिरो र अन्धो सरकारले यस्ता महत्वपूर्ण नागरिकहरूलाई प्रयोग गर्न सकेन मात्रै होइन, उपेक्षा गरेर देशमै बस्न नसक्ने अवस्थामा पु-याउन आँटिसकेको छ ।
पहिले–पहिले सुनिन्थ्यो आजको अमेरिकाले निकै समयअघि उसका जनतालाई सार्वजनिक रूपमा आह्वान गथ्र्यो र भन्थ्यो– ‘राष्ट्र विकासका लागि कुन नागरिकसँग के खुबी छ, आउनुस् सरकारलाई सहयोग गर्नुस्, सरकार तपार्इंलाई पनि सहयोग गर्न तयार छ ।’ यसरी आह्वान हुन्थ्यो र हरेक नागरिकको खुबीलाई प्रयोग गरिन्थ्यो । त्यसकै कारण आज अमेरिका संसारको एक मात्र त्यस्तो देश भएको छ जुन देशको मुख नताकी अरू देशको कामै चल्दैन भने पनि हुन्छ । त्यसकारणले यदि यो मुलुकलाई साँच्चै साँच्चै उँभो लगाउने इच्छा गरिन्छ भने चिनिएका खुबी भएका नागरिकहरू र चिनिन बाँकी सम्पूर्ण नेपाली नागरिकको खोजी र पहिचान हुनु पर्दछ, जसले मुलुकलाई अघि बढाउन इन्जिनको रूपमा काम गर्न सकुन् । आजसम्मका सरकार र राजनीतिक दलहरू ‘ज्ञानी पुरुषको मुटु, कलेजो र गिदी खान्छु भन्ने कथाका रैतिजस्ता बनेका छन् भने ज्ञानका धनीहरू ज्यान जोगाएर भाग्नुपर्ने अवस्थाका ज्ञानी पुरुषझैँ देखिएका छन् । यो अवस्थाको अन्त्य हुनुपर्छ । सरकार साँच्चैको सरकारजस्तो हुनुपर्छ । राजनीतिक दल दलजस्तै हुनुपर्छ र ज्ञान भएकाहरूलाई सहज तरिकाले बाँच्न दिएर राष्ट्र निर्माणमा तिनको ज्ञानलाई प्रयोग गरिहाल्नु पर्छ । ढिला गर्नै हुँदैन । लौ ! अब जे गर्छन् देश हाँकिरहेका र हाँक्न जुर्मुराएर बसेकाहरूले नै गर्ने छन् ।
प्रतिक्रिया