क्षेत्रीय दलमा रूपान्तरित गराउने सहयात्रा– मुक्तिनाथ खनाल

क्षेत्रीय दलमा रूपान्तरित गराउने सहयात्रा– मुक्तिनाथ खनाल


bicharअहिले नै सहमति हुन लागेझैँ सहमतिको गफ लडाउने दलका नेताहरूबीच एकैक्षणमा पानीबाराबार भएको खबर आउँछ । सहमति र विमतिका कुरा सुन्दासुन्दा तमाम नेपालीका कान पाकिसकेका छन् । यतिबेला फेरि यिनीहरू कहिल्यै मिल्न नसक्ने पो हुन् कि भन्ने भान पर्नेगरी ठुस्किएको अवस्था छ । थाहा छैन कतिबेला फेरि जोइ–पोइको झगडा परालको आगो भन्ने उखान सम्झाउने ढङ्गले भोलि नै संविधान बन्ने पो हो कि भन्ने भ्रम पैदा गराउँदै यिनीहरू एकैठाउँ रौसे बनेर देखापर्ने हुन् !
तथापि, विद्रोहको शब्दले नेपाली जनताको कान दुख्न थालेको छ । अब त विपक्षी मोर्चाको रहर पनि पुग्यो होला गत फागुन १६ गतेको रत्नपार्कसभाले । यद्यपि त्यो सभा कति फलदायक भयो–भएन, सभा बोलाउनेलाई कति सन्तुष्टि मिल्यो–मिलेन र बाहिरबाट हेर्नेले के देखे ? आ–आफ्नै किसिमका मूल्याङ्कन हुने नै भयो । बाहिरबाट हेर्नेले सभामा उपस्थित मानिसको अनुहार हेर्दा दयनीय र गरिब खालका कुनै प्रलोभन वा बाध्यताले आएकाजस्ता बुझिन्थे । बेलुका सभाबाट फर्किएर आ–आफ्नो सवारी पक्रिन तँछाडमछाड गर्दाको तिनका भाव–भङ्गिमा र व्यवहारले अर्कै अवस्था झल्काउँथ्यो । बजारमा कसैले त सोधेछन् पनि– ‘कति रुपैयाँ पायौ ?’ बिचराहरू के जवाफ दिऊन् ? भरत जङ्गमको ‘कालो सूय’ले नामक भ्रष्टाचारविरोधी इलेक्ट्रोनिक कार्यक्रमले त्यस दिन प्रत्येक व्यक्तिलाई रु. हजार दिएर राजधानी उतारिएको कुरा उद्घोष गरेको थियो । त्यसमा पनि कति सत्यता थियो–थिएन, आफ्नै ठाउँमा छ । जे भए पनि त्यस दिनको सभा ठूलै मान्नुपर्ने हुन्छ, केही कार्यकर्ताबाहेक अरू गाउँका सीधासाधा गरिब मानिस बटुलिएको भए पनि । त्यति ठूलो मञ्चमा मधेसीहरू बस्न पाउँदा निकै प्रफुल्लित थिए ।
सभामा एक मधेसी नेता शरत्सिंह भण्डारीको भाषणमा भनिएको थियो, ‘जनतामा विभेद भयो भने विद्रोह हुन्छ, विद्रोह भयो भने देश विखण्डनमा जान्छ ।’ त्यो भनाइमा एमाओवादीका नेता–कार्यकर्ताले मच्ची–मच्ची ताली बजाएको दृश्य हेर्न रोचक थियो । ठूला भनेका राजनीतिक पार्टीका नेतालाई कुन शब्दमा ताली बजाउने कुन शब्दमा नहुने भन्नेमा पनि विवेक भएको देखिएन । झन् पुष्पकमल दाहाल प्रचण्डको त त्यस्तो सभामा हाउभाउ हेर्न लायक नै हुने भयो । त्यसो त मधेसी पार्टी र तिनका सिद्धान्त नाम मात्रका हुन् र ती कतैबाट निर्देशित छन् भन्ने कुरा सबैलाई थाहा छ । त्यही सभामा उपेन्द्र यादवले एक मधेस एक प्रदेशको अलिकति कुरा झिक्दा सभाबाटै हुटिङ भएपछि चतुरा यादवले अन्यत्रै कुरा मोडेको दृश्य पनि देख्न पाइयो । आश्चर्य त यो छ कि मधेसको एक गाउँ पनि पहाडी प्रदेशमा मिलाउन नहुने र पहाडको एक गाउँ पनि मधेसमा मिलाउन नहुने ! केपी ओलीले भनेजस्तो समथर जग्गाजति घरको आँगन नै किन नहोस्, मधेसी प्रान्त (प्रदेश)मा चाहिने ! यो कस्तो माग हो र त्यसभित्र कहाँको कुन उद्देश्य लुकेका छ ? यसको जवाफ काङ्गे्रस–एमालेले माग्न नसके पनि सहयात्री एमाओवादीले त खोजी गर्नुपर्ने होइन र ? त्यस्ता मधेसी दलसँग घाँटी जोडेर कार्यगत एकता गर्दै नेतृत्व लिने एमाओवादीले जनतालाई भोलि कस्तो जवाफ देलान् ? अस्तित्व बाँकी रहेमा जवाफ त पक्कै दिनैपर्ने हुन्छ ।
नसम्झौँ भने पनि कहिलेकाहीँ पुराना सम्झनाले घच्घच्याउँदो रहेछ । कुनै दिन स्वयम् प्रचण्डले ‘उपेन्द्र यादव पनि नेता हुन सुहाउने मानिस हो’ भनेका धेरैले बिर्सेका छैनन् । आज त्यस्तै नेताहरूको खुदे्र पार्टीहरू जसले देश विखण्डनको धम्की दिन हिच्किचाइरहेका छैनन्, दशौँ वर्ष क्रान्ति गरेर आएको उच्चतहको माओवादी नेताहरू घाँटी जोड्दै कार्यगत एकताको नेतृत्व लिएर देशमा विद्रोह गर्न उत्सुक छन् । साँचो अर्थमा भन्ने हो भने तीस दलको मोर्चाले गरेको भनिएको गत १६ गतेको सभामा साम, दाम, दण्ड, भेदको नीति अपनाउँदा पनि जनसमूहको उपस्थिति ठूलो होइन । त्यति सङ्ख्या त आफूलाई भोट दिने भोटरेहरूको केही अंशमै पनि पुग्छ । त्यसलाई ठूलो आधार मानेर पुनः विद्रोहको धम्की दिनु एमाओवादीजस्तो ठूलो पार्टीलाई सुहाउने कुरा हुँदै होइन ।
यसै प्रसङ्गमा केही साताअघि संसद्मा भएको घीनलाग्दो वितण्डा मच्चाउँदै गरिएको तोडफोडको सम्झना आउँछ । देशको ठूलो क्रान्तिकारी नेता पुष्पकमल दाहाल, बाबुराम भट्टराईले तिनै उपेन्द्र यादव र उनीभन्दा अझ तलका कार्यकर्तासँग नारिएर कुर्ची भाँचेकै ठाउँमा उफ्रिएको देख्दा नेपालीले शर्माएर मुन्टो झुकाउनुपरेको थियो । सायद बाह्य समुदायमा पनि यसको राम्रो प्रभाव परेन । सौभाग्य हो कि कुनै मिडियाले प्रचण्ड र उपेन्द्रको फोटो सँगै राखेर देखाइदिएनन्, नेपालका मिडियाहरू सबैलाई प्रशंसा गरेरै बाँच्ने ‘भद्र’ खालका जो छन् ! एउटा उखान छ– ‘कहाँ राजाराम कहाँ गने भण्डारी ?’ प्रचण्डजस्ता प्रतिभाशाली नेताको कार्यशैली एक प्रदेशको प्रलाप गरिरहने उपेन्द्र यादवजस्तासँग जोड्न मिल्ने हो त ? खै प्रचण्डजीको सोचाइ ? हाम्रो मन दुखेर के गर्ने ? वास्तवमा यसपटक मधेसी दलहरूले माओवादीलाई नराम्रोसँग प्रयोग ग-यो ।
हो, यो गल्तीबाट उम्किन एमाओवादीलाई निकै मुस्किल पर्नेछ । एमाओवादी नेता प्रचण्ड धेरै उदारवादी र साथीहरूको विश्वासमा चाँडै पग्लिने नेतामा गनिन्छन् अरे । उनको बोली जस्तोसुकै खरो भए पनि हृदय कठोर छैन भन्ने कुरा उनकै साथीहरू बताउँछन् । उनीमा अस्थिरता छ, बोलीमा अडान नहुने, फूलमाला लगाउन पाउने जुनसुकै सङ्घ–सङ्गठनको नेतृत्वमा बस्न पाए हुने स्वभाव ! यो धेरैले देख्दै–महसुस गर्दै आएको तथ्य हो । यो हल्कापनले कद होचिँदै गएको आभास प्रचण्ड स्वयम्ले पाउन नसक्दा एकातिर आफ्ना कार्यकर्ताको गुनासो बढिरहेकै छ, त्यसमाथि उनका शुभचिन्तकहरूलाई समेत दुःखी बनाएको छ । नेपाली जनताले सोचेका थिए, गिरिजाप्रसाद कोइरालापछिका नेता प्रचण्ड नै हुन्, अरू छैनन् । बाबुराम भट्टराई आफैँले आफूलाई जति विद्वान् माने पनि सुरुदेखि नै अरूको नेतृत्वमा हिँड्ने बानी परिसकेकाले उनीमा अगाडि हिँड्ने र नेतृत्व दिने साहस आएन र अब आउलाजस्तो पनि लाग्दैन । बरु उनले आफ्नो नेताको निर्देशित भाषा इमानदारीपूर्वक बोल्छन् भनिन्छ ।
अस्ति भर्खरको कुरा हो– क. प्रचण्ड एमाओवादी नेताले आफू राजनेता हुने इच्छा व्यक्त गरेको सुन्नमा आयो । तर, राजनेतामा के–के गुण हुनुपर्ने हो र त्यो गुण आफूसँग छ कि छैन भनी सम्बन्धित सबैले पछाडि फर्केर हेर्ने बानी पनि सिक्नुपर्छ । यदि त्यस्तो गुण छैन भने रहरले मात्र पुग्दैन, मौका पाउँदा देखाउन सक्नुप-यो । जनताले मूल्याङ्कन गर्दै जान्छन् । कुर्लेर, तर्साएर, अरूलाई गाली गरेर अथवा देश विखण्डनको धम्की दिने कुनै पनि तत्वको नेतृत्व गर्दैमा राजनेता हुन त सकिँदैन । त्यसैले यतिबेला नेपालको राजनेता हुने व्यक्तित्व देशले खोजिरहेको छ र यही अवसरमा हिजोआज अर्को प्रश्न पनि उब्जिरहेको छ, कहीँ एमाओवादी पनि क्षेत्रीय (प्रादेशिक) राजनीतिमा सीमित हुन खोजेको त होइन ? अन्यथा नेपालको राजनेता हुने इच्छा राख्ने व्यक्तिले नेपाल देशको हित हुने राजनीति गर्नुपर्ने हो, क्षेत्रीय वा जातीय राजनीति होइन । यदि साँच्चि नै पुष्पकमल दाहालले राजनेता हुने इच्छा व्यक्त गर्नुभएको हो भने उहाँ योग्य र क्षमतावान पनि हुनुहुन्छ, तर पहिले क्षेत्रीय एवम् जातीय आन्दोलनको मोर्चारूपी दलदलबाट निस्केर पछिसम्म देशको अखण्डता जोगिने गरी नयाँ संविधान बनाउने पक्षमा मोर्चाका साना पार्टीलाई समझदारीमा ल्याउने भूमिका निर्वाह गर्नुपर्छ । के प्रचण्डजीमा यो चेत आउला ? अविश्वास नै गर्ने बेलाचाहिँ अझै भएको छैन कि ?