जब मुलुकमा गणतन्त्र आयो त्यसबेलादेखि नै नेपाल र नेपाली जनताको भाग्य र भविष्यमाथि कुठाराघात हुन थाल्यो भन्ने नेपालीको सङ्ख्यामा बढोत्तरी भइरहेको पाइन्छ । अशान्ति, अन्योल, अपराधलगायत अनेकन राजनीतिक दाउपेचले खुलेआम फस्टाउने मौका गणतान्त्रिक कालमा पाउनु सर्वसाधारण नेपालीका निम्ति अत्यन्त विडम्बनाको सन्दर्भ हो । जनताले सोचेका थिए कि नेपालको गणतान्त्रिक व्यवस्था पनि भारत, चीन र अमेरिकाको जस्तै होला, अब यहाँ शान्तिसुरक्षाको ग्यारेन्टी होला, गरिबी निर्मूल होला, राज्यले गाँस, बासको प्रबन्ध मिलाउला, मुलुकमा विकास निर्माण द्रुत गतिले अघि बढ्ला । यस्तै, उद्योगधन्दा, कलकारखाना र रोजगारमूलक निकायहरू पर्याप्त मात्रामा वृद्धि होला । महँगी र लोडसेडिङको मारबाट मुक्त होला, लाखौँ सङ्ख्यामा रहेका युवा बेरोजगार विदेशी भूमिमा पलायन हुन नपर्ला । मानवअधिकार र न्यायका लागि समान व्यवहार हुने कानुन बन्ला र दैनिक उपभोग्य वस्तुको बजारभाउदेखि कालोबजारी र मिसावटप्रति राज्य, सरकार र सदन गम्भीर भएर नेपाली जनताको काम गर्ला भन्ने सबैले सोचेका विषय हुन्, तर यी सबै कुरा ‘आकाशको फल आँखा तरी मर’ भनेझैँ हुन पुग्यो ।
विश्वका सबै राष्ट्रले मानेको, पत्याएको र विश्वास गरेको सानो तर प्रकृतिले भरिपूर्ण सगरमाथाको देश पशुपतिनाथको देश, बुद्धको देशलगायत विविध धर्म, भाषा, जातजाति र संस्कृति भएको नमुनायुक्त देश हो नेपाल । यस्तो महान् देशका हामी नेपाली जनता नै आज ‘बुद्धको देशमा शान्तिको खोजी’ गर्नुपर्ने बाध्यता र विवशता परेका छौँ । नेपालको अवस्था स्वार्थी नेताहरूका कारण ‘लोभले लाभ, लाभले विलाप’ हुन पुगेको छ । ठूला पार्टीका ठूला नेता स्वार्थ र सत्तामा लिप्त भए । आफू र आफ्नो पार्टी कसरी बलियो र सम्पन्न बनाउने यी कुरा प्राप्तिका निम्ति साम, दाम, दण्ड र भेद अपनाएर सत्तामा पुग्ने, भागवण्डा लगाएर बाँडीचुँडी सत्तामा टिकिरहनेजस्तो मनोवृत्तिले गर्दा न मुलुकमा शान्तिसुरक्षा भयो न संविधान नै बन्यो, न कुनै विकास निर्माण नै भएको छ । बरु नेपाली जनताले नेपालको इतिहासमै ठूलो दुःख, सास्ती, अशान्ति, असुरक्षा, महँगी भोगिरहेका छन् भने अखण्ड र स्वतन्त्र राज्य नेपालको अस्तित्व पनि दिन प्रतिदिन गुम्दै छ । विदेशी चलखेल र हस्तक्षेप बढ्नाले नेपालको राष्ट्रियतामाथि आँच पुगेको छ । पहिला एउटै राष्ट्रिय भाषा, धर्म, संस्कृति र राष्ट्रियता थियो, तर अब त्यो रहेन । यहाँसम्म कि राष्ट्रिय झन्डा र पोसाक जलाउने कामसमेत यहाँ भएको छ ।
‘हिमाल, पहाड तराई, कोही छैन पराई’ भन्ने मान्यतालाई आज लत्याइएको महसुस भएको छ । आत्मनिर्णयको अधिकार, एक मधेस प्रदेश र सङ्घीयताका कुरा अप्राकृतिक तवरबाट उठाइएका छन् । अनेकन फूलहरू एउटै धागोमा उनेपछि माला बनेझैँ हामी नेपाली पनि एउटै राष्ट्रिय झन्डामुनि अटाएका थियौँ । एउटै राष्ट्रिय भाषा, पोसाक, धर्म, संस्कृति थियो । तर, गणतन्त्रको आगमनसँगै सङ्घीयता, जातीयता र विखण्डनका कुराहरू निस्केका छन् । २१औँ शताब्दीमा पनि जातीयताको कुरा उठ्नु, कानुनी राज्य नहुनु, मानवअधिकारको हनन हुनु, महिला र पुरुषमा विभेद गरिनु, धिपधिपे टुकी बत्तीको उज्यालोमा भाग्य र भविष्य खोजिनुपर्ने अवस्था आएबाट हामी नेपाली जनता कति अभागी रहेछौँ– मनन गर्नैपर्ने भएको छ । हाम्रो अस्तित्व र मूल्यको खोजी गराँै र मुलुकप्रतिको कर्तव्य, दायित्व अनि जिम्मेवारीको पालना गर्न पनि सिकौँ । जुन देशमा हामी जन्मियौँ, हुर्कियौँ त्यो देशको जन्मभूमि र माटोप्रति हाम्रो कर्तव्यबोध हुनु जरुरी छ ।
एकै देशका हामी नेपाली दाजुभाइ दिदीबहिनीप्रतिको सद्भाव, एकता र भ्रातृत्वप्रति पनि शङ्का र भयको दृष्टिले हेर्ने परिस्थितिको सिर्जना भएको छ । एकले अर्कालाई निस्तेज गर्ने, शत्रुताको व्यवहार गर्ने, दुश्मनको आँखाले हेर्ने संस्कारको विकास भएको छ । विदेशी मुलुक र त्यहाँका जनताप्रति हामी सद्भावको हात बढाउन आतुर छौँ । तर, एक नेपालीले अर्को नेपालीलाई दुव्र्यवहार गर्ने गरिएको पाइन्छ । अनेकन खिचातानी, दाउपेच, षड्यन्त्र, सत्तालिप्साका लागि भएका कारण नेपाल र नेपाली जनताको भाग्य र भविष्य पनि सुनिश्चित छैन । शान्ति र संविधानको चाहना साकार हुने कुनै लक्षण देखिएको छैन । आपसी मदभेद र कलह बढेको छ । ठूलो माछाले सानो माछालाई निलेझैँ ठूला पार्टीका ठूला नेताले नेपाली जनता र साना पार्टीलाई निलेका छन्, दबाएका छन् । सो निर्णय नै कानुन र नियम बनाएका छन् । देश र जनताप्रति उत्तरदायी बन्न सकेका छैनन् । प्रधानमन्त्री र मन्त्री को बन्ने, पैसा कमाउने, भ्रष्टाचार गर्ने र आफ्ना कार्यकर्तालाई भर्ती गर्न सकिने मन्त्रालय छान्ने प्रवृत्तिका नेताहरूबाट के नै अपेक्षा गर्न सकिन्छ र ?
नेपाली जनताले गाँस काटेर, स्वास्थ्य र शिक्षामा खर्चिनुपर्ने रकम राज्यलाई कर तिरेर, अनि सो करबापतको राजस्व सभासद्हरूलाई खुवाएर पाल्नुपर्दा पनि सहेर बस्नुपरेको छ । किनकि सत्ता र भत्तामा चुर्लुम्म डुबेकाहरूको अगाडि ‘गोहीको अगाडि आँसु झार्नुजस्तै हो’ जनताले रोग, भोग र शोकसँग लड्नुपरेको छ । गरिबी र अशान्तिले थिलथिलो भएका जनता भोकभोकै बाँच्न विवश छन् । योग्यता र क्षमताअनुसारको रोजगारी छैन । रोेग लागे औषधोपचार छैन । शिक्षा आर्जनका लागि आर्थिक अवस्था कमजोर छ । हत्या, हिंसा, आतङ्क, अपहरण, चोरी, लुटपाट र डकैती बढ्दो छ । राजधानी त सुरक्षित छैन भने अन्य जिल्लाको अवस्था झनै डरलाग्दो र भयावह छ । बिजुली, पानी, सिँचाइप्रति सरकारको ध्यान गएको छैन । विकास निर्माण र कृषिमा नयाँ प्रविधिप्रति पनि चासो छैन । हरेक दैनिक उपभोग्य सामान विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । लाखौँ–लाख पढेलेखेका युवा विदेश पलायन हुने क्रम बढ्दो छ । विश्वको दोस्रो जलस्रोतको धनी देश नेपाल बाह्रै महिना लोडसेडिङको मार खेपिरहेको छ । आर्थिक–सामाजिक अवस्था दिन प्रतिदिन खस्कँदो छ । समाजमा अनेकौँ विकृति र विसङ्गति भित्रिएको छ । बलिया र शक्तिशालीको गुन्डागर्दीले मुख्य स्थान पाएको छ । ती समूहहरू ठूला पार्टीका छत्रछायामा हुर्की–बढी समाजमा झनै अराजकता फैलाएका छन् । उनीहरू राजनीतिक आवरणमा देखापरेका छन् भने राज्यले जे गर्न पनि छुट दिएको छ र कुनै सजायको पनि भागीदार हुँदैनन्, उल्टो बरु पुरस्कृत हुने गरेका छन् । यसरी यो अभिभाज्य, अखण्ड र स्वतन्त्र शान्तिप्रिय बुद्धको देशमा शान्तिको खोजी गर्नु हाम्रो बाध्यता र विवशता बनेको छ । विदेशीहरू शान्ति खोज्न नेपाल आउँछन्, तर हामी भने शान्ति र संविधान निर्माणका लागि भौँतारिरहेका छौँ ।
प्रतिक्रिया