अष्ट्रेलियन सरकारद्वारा नेपाली युवालाई महत्वपूर्ण नियुक्ति

अष्ट्रेलियन सरकारद्वारा नेपाली युवालाई महत्वपूर्ण नियुक्ति


  • राजन घिमिरे, सिड्नी

अष्ट्रेलियामा रहँदै आएका नेपाली युवा डा. नवराज दाहाललाई अष्ट्रेलियन सरकारले आफ्नो रक्षा विभागको कार्यकारी पदमा नियुक्त गरेको छ । उनलाई दुई साताअघि अष्ट्रेलियन सरकारले अनुसन्धान वैज्ञानिकको कार्यकारी पदमा नियुक्त गरेको हो ।

नियुक्तिबारे प्रष्ट्याउँदै उनले भने– ‘मैले अष्ट्रेलियन सरकारको मानवरहित विमान निर्माणका लागि आवश्यक अनुसन्धानको जिम्मेवारी पाएको छु ।’

नवराज दाहाल विगत १० वर्षदेखि साउथ अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्दै आएका छन् ।

दाहालले इन्जिनियरिङ विषयमा साउथ अष्ट्रेलियन विश्वविद्यालयबाट सन् २०१५ मा पीएचडी सकाएका थिए । २०५५ सालमा काठमाडौंको भिएस निकेतनबाट प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेका उनले काठमाडौं युनिभर्सिटीबाट आईएस्सी पास गरेका थिए ।

दोलखा मैनापोखरीका ३७ वर्षीय डा. नवराज दाहालले पुल्चोक इन्जिनियरिङ कलेजबाट ०६२ मा इलेट्रोनिक्समा बिई गरेपछि छात्रवृत्तिमा साउथ अष्ट्रेलियन विश्वविद्यालयबाट एमई पूरा गरेका थिए ।

विद्यार्थीको रूपमा अष्ट्रेलिया छिरेका दाहालको यो सफलताप्रति यतिबेला अष्ट्रेलियामा रहेका नेपालीहरू मात्र नभई अन्य मूलुकमा छरिएर रहेका प्रवासी नेपालीहरूले समेत गौरवानुभूति गरेका छन् ।