‘फिल्म सोख हो, व्यवसाय बाध्यता’

‘फिल्म सोख हो, व्यवसाय बाध्यता’


funtimeयिनी हुन् अनुजा प्रधान । लामो समयदेखि बेल्जियम बस्दै आएकी अनुजाको यतिबेला परिचय फेरिएको छ । उनले अब नेपाली चलचित्रकी नायिकाको रूपमा आफ्नो परिचय बनाएकी छिन् । युरोपमै छायाङ्कन भएको चलचित्र ‘नमस्ते नेपाल’की नायिका अनुजालाई चलचित्रमा नायकको रूपमा सवित श्रेष्ठले साथ दिएका छन् । बेल्जियममा आयोजना हुने विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो दह्रो उपस्थिति जनाउने अनुजासँग यसपटक बेल्जियममै घटना र विचारले कुराकानी गरेको थियो ।
० कस्तो छ त अनुजाको बेल्जियम बसाइ ?
– राम्रो छ । आनन्दको लाइफ चलिरहेको छ यहाँ ।
० जीवनमा खुसी ठूलो कि सुख ?
– खुसी हुन सक्नु भनेकै सुख हो । खुसीबिनाको सुखको अर्थ हुँदैन ।
० बेल्जियममा अनुजाको चर्चा खुवै सुनियो, के जादु चलाइएको छ यहाँ ?
– जादु होइन, म सबैप्रति सकारात्मक सोच राख्छु । त्यसैअनुसार सबैले मलाई माया गर्नुहुन्छ, सबैको सद्भाव छ मलाई ।
० नामजस्तै दाम पनि खुवै कमाएको कुरा आयो नि ?
– चर्चा चलेअनुसारको दाम कमाएको छैन । यहाँ दामको खासै प्रभाव पनि छैन । तर, यहाँ मेरो जीवनयात्रा सुखसाथ अगाडि बढेको छ ।
० फिल्म नमस्ते नेपाल किन खेलेको ? दाम या नामका लागि ?
– मभन्दा सिनियर मान्यजन अनि प्रतिभाशाली कलाकारहरूले चलचित्र खेलेर कति नै धेरै कमाउनुभएको छ र मैले चलचित्र खेलेर कमाउनु ? एउटा फिल्म खेलेर नै मैले अहिले नै पैसाको पछि दगुरेँ भने कलाकारिता क्षेत्रलाई मैले कसरी निरन्तरता दिन सकुँला र ? अफ्कोर्स ! म त नामकै लागि हो नि फिल्म खेलेको । मेरो लागि फिल्म सोख हो, व्यवसाय बाध्यता ।
० कस्तो छ त नमस्ते नेपालमा भूमिका ?
– साह्रै राम्रो छ । उदाहरणीय अनि सम्झनलायकको भूमिका छ ।
० पहिला पनि त अफर आएको थियो रे नि हो ?
– अफर त पहिले पनि आएको थियो, तर दिन नआएसम्म केही हुँदोरहेनछ । बल्ल मेरो फिल्म खेल्ने मुहूर्त आएको रहेछ ।
० नमस्ते नेपाल नै पहिलो र अन्तिम हुने त होइन होला नि ?
– म भ्याइ–नभ्याई गरेर फिल्ममा काम गर्ने पक्षमा छैन । यता आफ्नो व्यापार–व्यवसाय पनि हेर्नुपर्छ । सबै कुरा मिलाएर काम गर्छु । त्यसैले यो फिल्म अन्तिम होइन, पहिलोचाहिँ अवश्य नै हो ।
० अनुजा युरोपमा रहेका नेपाली युवतीमध्ये नै सुन्दरी भन्छन् नि ?
– ए हो र ? मेरोबारेमा त्यस्तो भन्दारहेछन् ? तर, म त आफूलाई राम्री ठान्दिनँ ।
० बेल्जियममा कस्तो छ नि नेपाली चलचित्रको बजार ?
– युरोपका अन्य देशभन्दा राम्रो छ । नेपालबाट जति पनि कलाकारहरू आउनुहुन्छ, सबैले यहाँबाट राम्रो नाम र प्रशंसा कमाउनुभएको छ । चलचित्र प्रदर्शन र सांस्कृतिक कार्यक्रम दुवै हिसाबबाट बेल्जियम कलाकारहरूका लागि राम्रो मुलुक बनेको छ ।

कविता सुनाएर एम्बुलेन्स दान
नेपाली भाषा, साहित्य, संस्कृति एवम् परम्परालाई भावी पुस्ताका लागि सुरक्षित र संरक्षित रूपमा हस्तान्तरण गरिनुपर्ने तथा तिनलाई विश्वव्यापीकरणसमेत गरिनुपर्ने मान्यताका पक्षपातीका रूपमा आफूलाई उभ्याउँदै आएका छन् कवि तथा गीतकार वसन्त चौधरीले । उनै रोमान्टिक गीतकार गत शनिबार विश्व काव्य यात्राको १३औँ संस्करणअन्तर्गत पोखरामा झुल्किए । स्थानीय सामाजिक संस्था ‘नवआदर्श सामुदायिक विकास समाज’को आयोजनामा गण्डकी बोर्डिङ स्कुलको प्रेक्षालयमा सम्पन्न ‘विश्व काव्य यात्रा’मा कवि÷गीतकार चौधरीले नेपाली र हिन्दी गरी १५–२० वटा प्रेमरसयुक्त आफ्ना कविता वाचन गरे । उनलाई कार्यक्रमस्थलमा कास्की आमा समूहले माल्यार्पण गरेर स्वागत गरेको थियो भने लोकगायक झलकमान गन्धर्व समूहले प्रस्तुत गरेको सारङ्गी धुनको राष्ट्रगानसँगै कार्यक्रमको सुरुवात गरिएको थियो । समाजका प्रथम उपाध्यक्ष बमबहादुर गुरुङले स्वागत गर्दै कवि÷गीतकार चौधरीको सहृदयी एवम् कोमल भावना नमनयोग्य रहेको बताए ।
विश्व काव्य दिवस पारेर कवि÷गीतकार चौधरीले प्रकृतिको अपार एवम् मनोरम छटा– सुन्दर माछापुच्छ«ेको काखमा अवस्थित भएर पाँच सयभन्दा बढी विशिष्ट साहित्यानुरागीहरूमाझ आफ्ना केही रचना पस्कन पाउनु जीवनकै अपूर्व क्षण भएको बताए । साहित्य, कला, सङ्गीत एवम् लोकसंस्कृतिप्रतिको पोखरावासीको लगाव एवम् प्रेम र समर्पण देख्दा आफू अत्यन्तै प्रभावित भएको भन्दै उनले कविता सुन्न उपस्थित पोखरेलीहरूलाई मख्ख पारे । पाँचवटा साहित्यिक पुस्तकहरू एवम् आठवटा गीति एल्बमहरू प्रकाशित गरिसकेका चौधरी साहित्यमा आधुनिक प्रविधि अङ्गाल्न खप्पीस मानिन्छन् ।
साहित्यिक कार्यक्रमको समापनलगत्तै पोखराको ‘नवआदर्श सामुदायिक विकास समाज’लाई कवि÷गीतकार चौधरीले आफ्नो नाममा स्थापित ‘वसन्त चौधरी फाउन्डेसन’का तर्फबाट नेपाल सरकारका प्रशासनिक सल्लाहकार बाबुराम आचार्यमार्फत एक सुसज्जित एम्बुलेन्स हस्तान्तरण गरे । कार्यक्रमको समापन समाजका अध्यक्ष धर्मपालसिंह भण्डारी ‘शैलेन्द्र’को धन्यवाद ज्ञापनबाट भएको थियो ।

आयोजकद्वारा आफैँ पुरस्कृत !
झन्डै दुई साताअघिको सन्दर्भ हो । साहित्य विज्ञान प्रतिष्ठान कपनले आफ्नो प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा फागुन ३० गते एक कविगोष्ठीको आयोजना ग-यो । नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालबाट उद्घाटित कार्यक्रममा सतिसाल नामक संयुक्त कवितासङ्ग्रहको विमोचन गरिएको थियो । गोष्ठीमा डा. रामप्रसाद ज्ञवाली, खगेन्द्र सङ्ग्रौला र युग पाठकले मन्तव्य व्यक्त गरेका थिए । देशभित्र र बाहिरबाट ३५४ वटा कविता प्राप्त भएकामा ५८ वटा कवितालाई प्रतियोगितामा सामेल गरिएको जानकारी गराइएको थियो ।
कार्यक्रममा नाम चलेका कविहरू रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, सुदेश सत्याल, नवराज श्रेष्ठ, भक्तराज नेउपाने, गोपाल नेपाल, विजय विश्वासलगायत थोरैको मात्र सहभागिता थियो भने टहल दाहाल, शंकर निरौला, गीता त्रिपाठी, राजेन्द्र तारकिणी, रोशन परियार, सुशील नेउपाने, टीकाराम रेग्मी, ओमप्रकाश निरौला, अविराम भट्टराई, मञ्जु ज्ञवाली, दीपक नेपाल, निमेष सापकोटा, प्रतिमा ज्ञवाली, -याङ्गेली कान्छा, पारस ढकाल, कविता सुवेदी, राजेश पोखरेल, राजकुमार अधिकारी, सन्देश गिरी, तीर्थ प्रसाईं, वसन्त बाराकोटी, मोक्षप्रसाद दुलाल, राजन रेग्मी, केशवप्रसाद पौडेल, असीम सागर, कुमार खत्री, अविरल तिमिल्सिना, द्वारिका प्याकुरेल, सुनिता नेपाल, गणेशप्रसाद दङ्गाल, मनीषा ज्ञवाली, तेजकुमारी लामिछाने, सर्वज्ञ शाक्य, शिव निरौला, दीपिका खत्री आदि नवोदित कविहरूले कविता वाचन गरेका थिए । हरि सापकोटाले व्यङ्ग्य तथा केही कलाकारले कमेडी प्रस्तुत गरे ।
पूर्णविराम र युग पाठक निर्णायक भए पनि वसन्त बराकोटी, प्रतिमा ज्ञवाली, गीता त्रिपाठी, असीम सागर र रोशन परियारलाई पुरस्कृत घोषणा गरिएको थियो । पुरस्कृत पाँचैजना यस प्रतिष्ठानका आजीवन सदस्य हुन् । आयोजक सदस्य आपैँmले पुरस्कार लिएको घटना यो नै साहित्यिक जगत्मा पहिलो भएको भन्दै आपैँm आयोजक र आपैँm पुरस्कार लिने चलन बसालेकोमा सर्जकहरूले आश्चर्य व्यक्त गरे ।

विश्व कविता दिवसमा ‘पोयमाण्डु’
‘पोयमाण्डु’को २६औँ शृङ्खला गत सोमबार नेपाल वायुसेवा निगम भवनस्थित नेपाल–भारत पुस्तकालयमा आयोजना भयो । विश्व कविता दिवसको अवसर पारेर भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा आयोजित पोयमाण्डुको सो संस्करणमा विभिन्न सर्जकहरूले नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा रचिएका आफ्ना सिर्जना पाठ गरे ।
सोही दिन बिहान दिवंगत भएकी युवा सर्जक कौशिला लामिछानेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरु गरिएको कार्यक्रममा ‘पियार आमक अमृत रस’ नामक नेपाल र भारतका ख्यातिप्राप्त कवि–कवयित्रीका रचना समेटिएको काव्यसङ्ग्रहको विमोचन पनि गरिएको थियो । कवि एवम् पूर्वमन्त्री रामहरि जोशी, मैथिली साहित्यका ख्यातिप्राप्त सर्जक धीरेद्र प्रेमर्षी, व्यङ्ग्यात्मक शैलीका कवितामा ख्यातिप्राप्त कवि कृष्णमुरारी गौतम (चट्याङ मास्टर) र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले संयुक्त रूपमा सो कृतिको विमोचन गरेका थिए । विख्यात कविसमेत रहेका अभय कुमारले मैथिलीजस्तो पुरानो भाषामा महत्वपूर्ण कृति प्रकाशन गरेको भन्दै सम्बन्धित पुस्तकका प्रकाशकलाई बधाई दिए ।
कार्यक्रमको दौरान सुविख्यात कविहरू रामहरि जोशी, कृष्णमुरारी गौतम, धीरेन्द्र प्रेमर्षी, शरदकुमार वस्ती, दिनेश गुप्ता, प्रेम ओली, डिल्लीराम शर्मा, आनन्द गुप्ता, पुरुषोत्तम पोखरेल र अभय कुमारले आफ्ना सशक्त र सुन्दर सिर्जना वाचन गरेका थिए ।