यतिबेला चलचित्र क्षेत्रमा प्रवेश गर्ने नयाँ युवतीहरूको सङ्ख्या बढ्दो छ । चलचित्रको आकर्षणले सबै उमेरका युवतीलाई तानेको देखिन्छ । ग्ल्यामर्स क्षेत्रलाई रहर या पेसा जे बनाउन खोजे पनि उनीहरू ‘आफ्नो मन पर्ने क्षेत्र हो’ भन्न रुचाउँछन् । यसै क्रममा म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा एक नयाँ युवती प्रवेश गरेकी छिन्, नाम हो– लीला राई । पढाइसँगै कला क्षेत्रलाई पनि अगाडि बढाएकी लीलासँग गरिएको कुराकानी :
० सोलुखुम्बुको मान्छे कसरी आइपुगियो काठमाडौं ?
– जीवन एउटा यात्रा नै त हो । यात्रामा हिँड्दा–हिँड्दै कहाँ पुगिन्छ भन्न सकिँदोरहेनछ । यस्तै संयोगवश राजधानी आइपुगेकी हुँ ।
० राजधानी छिर्नुको कुनै खास उद्देश्य त थियो होला नि ?
– त्यसो त पढाइका लागि आएकी हुँ ।
० कहाँसम्म पुग्यो नि पढाइ ?
– बाह्र कक्षामा अध्ययनरत छु ।
० अनि सिनेमा क्षेत्रमा चाहिँ कसरी प्रवेश भयो ?
– सोलुखुम्बुमा हुँदा नै मैले उतैकी गायिका उर्मिला खालिङको गीतमा मोडलिङ गरेकी थिएँ । त्यसैबाट सिनेमा क्षेत्रप्रति लगाव बढ्यो । जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखान पछ्याउँदै सिने दुनियाँमा प्रवेश गरेँ भन्नुपर्ला ।
० कुन फिल्म खेलियो ?
– सम्पूर्ण छायाङ्कन सिन्धुलीमा भएको चलचित्र आँसु खेलेँ । यो चलचित्रमा प्रमुख भूमिका नै छ मेरो ।
० अनि अरू… ?
– बाबु बोगटी, मौसमी गुरुङको गीतमा मोडलिङ गर्नुका साथै ‘ल बबाल’ नाम कमेडियन सिरियलमा पनि काम गरेकी छु ।
० कलाकारिता क्षेत्र रहर कि पेसा ?
– अहिले त रहर नै हो नि । आफू स्थापित भएपछि मात्र पेसा बनाउने हो यो क्षेत्रलाई ।
० चलचित्रबाहेक अन्य क्षेत्र… ?
– पढाइ नै हो । अब कलाकारिता र पढाइलाई एकसाथ अगाडि बढाउँछु ।
० यस क्षेत्रमा त दिनहुँ नयाँ–नयाँ साथी भेटिन्छ भन्छन्, व्वायफ्रेन्डहरू कति छन् नि ?
– यस्तो कुरामा कुनै इच्छा नभएकोले ब्वायफ्रेन्ड नै छैनन् ।
० यो उमेरमा पनि किन नि यस्तो ?
– व्वायफ्रेन्ड बनाएर बन्ने हो र ? यो त आफैँ हुने चिज हो । समय आएपछि आफै आइपर्लान् नि ।
० भनेपछि प्रेमप्रस्ताव पनि कतैबाट आएको छैन अहिलेसम्म ?
– आउँदै आएन भन्न नमिल्ला, आउँछन् । तर, सोचेर स्वीकार्नुपर्छ । प्रेमको प्रस्ताव गर्ने सबैलाई स्वीकारेर काम पनि त चल्दैन ।
बेल्जियमका कुमार ताते
कलाकारिता क्षेत्र यस्तो क्षेत्र हो जुन क्षेत्रबाट केही समय विश्राम लिन सकिन्छ होला, तर यो क्षेत्रलाई चटक्क माया मार्न या बिर्सन्न सकिन्न । यो क्षेत्र नसा पनि हो भने माया र सद्भावका कारण पनि यो क्षेत्रबाट टाढिन सकिँदैन । यो कुरा बुझेका र यस्तै कुराहरूलाई मनन गर्दै अगाडि बढेका पुराना कलाकर्मी हुन केदार जोशी ।
केदार जोशी यतिबेला सम्पन्न मुलुक बेल्जियममा बसोबास गर्छन् । उता पुगेको पनि १६ वर्ष भइसकेछ । उनी भन्छन्, ‘यहाँको अवस्था सुखद् र व्यस्त भए तापनि मैले नेपाली कला, कलाकार र माहोललाई मिस गरिरहेको छु ।’ पर्वत कुश्माका केदारलाई बेल्जियममा भने कुमार जोशीको नामले चिन्ने गरिन्छ । बेल्जियममा परिवारसहित बसोबास गर्दै आएका जोशी जापानिज, चाइनिज र थाई रेस्टुराँका सञ्चालक हुन् । बेल्जिमयमा प्रायले उनलाई माया गरेर कुमारदाइको नामले पनि सम्बोधन गर्ने गर्दछन् । ‘मलाई खुसी लाग्छ, सबैले मायाले र सद्भावले राम्रै सम्बोधन गर्ने गर्छन्,’ उनी भन्छन् ।
अन्तिम वचन चलचित्रका निर्माता तथा कलाकार केदार जोशीले ठूलो पर्दाको चलचित्र ‘मजदुर’मा पनि लगानी गरेका थिए । विदेशको बसाइका कारण कलाकारिता क्षेत्रलाई निरन्तरता दिन नपाएका कुमार भने चलचित्र निर्माणलाई व्यावसायिक रूपमा अगाडि बढाउने योजनामा छन् । उनले भने, ‘अब चलचित्र निर्माणलाई योजनाबद्ध रूपमा अगाडि बढाउने योजनामा छु । नेपाल र नेपाली परिवेश झल्कने अनि नेपालीहरूले मन पराउने चलचित्र बनाउने प्रयासमा छु ।’
कलाकारहरूलाई बेल्जियममा आमन्त्रण गरेर सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने र नेपाली चलचित्रहरूको प्रदर्शन गर्ने मामिलामा अगाडि रहेका कुमार नेपाली चलचित्रको युरोप प्रवद्र्धनमा लामो समयदेखि लागिपर्दै आएका व्यक्ति हुन् । बेल्जियममा कुनै पनि सांस्कृतिक कार्यक्रमको आयोजना होस् या चलचित्र प्रदर्शन नै किन नहोस् ? जसले गरे पनि त्यसको लागि मरिमेट्ने व्यक्ति हुन् कुमार जोशी । उनले भने, ‘अहिलेसम्म यो क्षेत्रबाट जति ठाढिए तापनि अब भने दिलोज्यानले लाग्ने भएको छु । चलचित्र निर्माणमा बलियो भएर अगाडि बढ्ने योजना छ ।’
कविगोष्ठीमा कौशलाको सम्झना
सामाखुसी साहित्य समाजद्वारा ७६औँ शृङ्खलाअन्तर्गत आयोजित साहित्यिक कार्यक्रममा समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्व र नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जीवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा कविगोष्ठी सम्पन्न भयो । कार्यक्रममा देवीप्रसाद सापकोटा, अरुणबहादुर खत्री, रामचन्द्र न्यौपाने, द्वारिका कुइँकेल, शान्ता पराजुली, निर्मल पराजुली, विजयराज न्यौपाने, तारा के.सी., रामबहादुर पहाडी, निर्भीक राई, हेमन्तप्रसाद दाहाल, दिनेशविक्रम थापा, निशा पराजुली, उर्मिला कुँवर, चन्द्रवदना घिमिरे, मणिराज सिंह, ब्रह्मप्रिय प्रेमस्वरूपलगायत ४५ स्रष्टाले आ–आफ्ना कविता, गीत, गजल, मुक्तक आदि पढेर सुनाएका थिए । कार्यक्रमको अन्त्यमा ब्लड क्यान्सरबाट २८ वर्षको अल्पायुमै जीवन गुमाएकी साहित्यकार कौशला लामिछानेको सम्झना गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
रामजीका पुस्तकमाथि अन्तरक्रिया
राष्ट्रकवि माधव घिमिरेको निवासमा गत शनिबार साहित्यकार र पत्रकारहरूको घुइँचो लागेको थियो । राष्ट्रकवि घिमिरेले आफ्नै निवासमा कवि रामजी घिमिरेका दुई काव्य पुस्तक ‘हरायौ तिमी विरानो देशमा’ र ‘रामजी घिमिरेका १०१ गजलहरू’को विमोचन गरे । विमोचनउप्रान्त सोही दिन घिमिरेका दुवै काव्य कृतिमाथि अन्तरक्रियात्मक कार्यक्रमसमेत सम्पन्न भयो । वरिष्ठ गीतकारद्वय किरण खरेल र रत्नशमशेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दुवै अतिथिले कवि घिमिरेका गीत एवम् गजलमाथि चर्चा गर्दै कविलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले कवि घिमिरेका दुवै पुस्तकमाथि विवेचनात्मक अभिव्यक्ति दिएका थिए । उनले गजलकार रामजी घिमिरेका गजलहरूभन्दा गीतकार रामजी घिमिरेका गीतहरू सशक्त भएको उल्लेख गरे । उनले गजलका क्षेत्रमा गजलकार घिमिरेले गजलका अझै मिहिनेत गर्नुपर्ने राय दिएका थिए । गीतकार रामजी घिमिरेले आफूले गीत धेरै अगाडिदेखि लेख्दै आएको बताउँदै गजलमा भने एक वर्ष अगाडिदेखि मात्रै कलम चलाएकाले कमी–कमजोरी रहेको स्वीकार गरे । साहित्यकार एवम् पत्रकारहरूको बाक्लो उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रममा सभापति सूर्यशरण रेग्मी र साहित्यकार श्रीओम श्रेष्ठले मन्तव्य दिएका थिए ।
प्रतिक्रिया