‘कसैबाट च्यापिनु परेको छैन’

‘कसैबाट च्यापिनु परेको छैन’


funtimeअरू केका लागि गीत गाउँछन् भन्ने भूमिकालाई थाहा छैन, तर उनी आफू भने आत्मसन्तुष्टिका साथै नेपाली सङ्गीत क्षेत्रलाई समृद्ध तुल्याउन अलिकता भए पनि योगदान दिने उद्देश्यले गायन क्षेत्र रोजेको बताउँछिन् । नेपाली गीत–सङ्गीत क्षेत्रमा भूमिका शाह शङ्करको नामले चिनिएकी यिनी गीत मात्र गाउँछिन्, गीत आफैँ लेख्छिन् भने त्यसमा सङ्गीत पनि आफैँ भर्छिन् ।
० एक व्यक्ति अनि तीनै विधामा पाइला, कसरी सम्भव भयो ?
– खै ! ईश्वरको इच्छा यस्तै भएपछि सम्भव हुँदोरहेछ ।
० कति भयो गीत गाउन थालेको ?
– औपचारिक रूपमा त ०६८ सालदेखि मात्र हो ।
० कति आए नि एल्बम बजारमा ?
– लोकगीतको पाँचवटा आए, अब आधुनिक र पप पनि आउँदै छन् ।
० लोकगीत गाउने गायिका किन आधुनिकतिर ?
– मलाई लाग्छ गायकले हरेक विधामा गीत गाउन सक्नुपर्छ । म पनि यही मान्यतामा छु । आधुनिक गीतले सबै वर्ग र तह–तप्कामा दर्शकलाई छुन्छ, तर लोकले गीतले स्रोतालाई समाउँछ । त्यसकारणले पनि सबै वर्गका दर्शकमाझ पुग्न सबैखाले गीत गाउने सोच बनाएकी हुँ ।
० नेपाली गायन क्षेत्रमा महिलालाई टिक्न गाह्रो छ भन्छन् नि ?
– महिलालाई मात्र होइन, सबैलाई गाह्रो छ । प्रतिस्पर्धा धेरै भएका कारण गाह्रो भएको हो ।
० महिला गायिकाहरूबीच नै मारामार प्रतिस्पर्धा छ भन्छन्, हो ?
– त्यो पनि हो । एउटी महिला गायिकाको प्रगति अर्कोले हेर्न नसक्ने प्रवृत्ति पनि छ यहाँ ।
० अनि सङ्गीतकारले गायिका च्याप्ने चलन पनि छ भन्छन् नि ?
– कसले कसलाई च्याप्यो त्यो थाहा भएन । तर, म भने स्वतन्त्र रूपमा अगाडि बढेकी छु । म कसैको गायिका भनेर भन्दा पनि सबै स्रोताकी सर्जकको रूपमा चिनिन चाहन्छु ।
० भिडियो बनाउन गाह्रो छ है ?
– अति नै गाह्रो छ । क्षमता भएर मात्र के गर्नु ? भिडियो बनाउन अनि बजाउन उत्तिकै गाह्रो छ । गाउनभन्दा बजाउन गाह्रो ।
० गायनकै सिलसिलामा कहाँकहाँ पुगियो त ?
– मुलुकबाहिर त पुगेकी छैन, तर नेपालमा नै स्टेज शोअन्तर्गत ६५ जिल्ला घुमिसकँे ।
० बढी स्रोता–दर्शक पाएको सहर ?
– सबै ठाउँमा रामै्र माया, साथ र सद्भाव पाएकी छु । त्यसमध्ये पनि झापा, महेन्द्रनगर, धनगढी र दमौलीमा बढी स्रोता–दर्शक पाएँ ।
० भनेपछि अब पपगीत पनि गाउने ?
– मेरो स्टेज पर्फमेन्स दर्शकहरूले मन पराउनुभएपछि उहाँकहरू सुझावअनुसार नै पपगीत गाउने तयारीमा रहेकी हुँ ।

वरिष्ठ गायिकालाई हङकङबाट सहयोग
स्तनक्यान्सरबाट पीडित पुरानी गायिका तारा थापाको उपचारार्थ रकम सङ्कलन हुने क्रम जारी छ । हाल स्वास्थ्य उपचार गरिरहेकी गायिका थापालाई यसै साता हङकङमा रहेको नेपाली महिला सङ्घ हङकङले सङ्कलन गरेको पचास हजार रुपैयाँ गायिका तारा थापाकै निवास काठमाडौंको वनस्थलीमा पुगेर हस्तान्तरण गरियो ।
नेपाली महिला सङ्घ हङकङकी अध्यक्ष टीका गुरुङको संयोजकत्वमा हङकङमा उठेको पचास हजार रुपैयाँ सङ्घकी सदस्य माया गुरुङलगायतले गायिका थापालाई हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा गायिका थापाले आफ्नो ध्यान पु-याउन देश तथा विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोगका लागि धन्यवाद दिइन् ।

‘यस आई क्यान’को लोकार्पण
पुण्यप्रसाद प्रसाईंद्वारा लिखित पुस्तक ‘यस आई क्यान’को एक समारोहका बीच नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, डा. सञ्जीव उप्रेती र नायिका रेखा थापाले संयुक्त रूपमा लोकार्पण गरेका छन् । गत शनिबार साँझ सम्पन्न एक कार्यक्रममा सकारात्मक सोचलाई उत्प्रेरित गर्ने खालको पुस्तक ‘यस आई क्यान’को विमोचन मन्तव्य दिँदै प्रज्ञाका कुलपति उप्रेतीले नेपाली वाङ्मयका क्षेत्रमा एउटा नयाँ विषय प्रवेश गरेको उल्लेख गर्दै लेखक पुन्य प्रसाईंको यस पुस्तकले सकारात्मक मार्गमा अग्रसर हुनका लागि उत्प्रेरणा प्रदान गर्ने बताए । उनले प्रतिभा, ज्ञान र परिवेशको प्रसङ्ग उठान गर्दै यिनै विषयहरूले मानिसलाई माथि उठाउने बताए ।
कार्यक्रमका अर्का अतिथि डा. सञ्जीव उप्रेतीले जीवनमा केही प्राप्त गर्न भिजन सफा हुनुपर्ने बताउँदै मानिसले आफूमा रहेको असफलताको डरलाई हटाउनुपर्नेमा जोड दिए । डा. उप्रेतीले पुस्तकले सकारात्मक दृष्टिकोणको विकास गर्न मद्दत गर्ने बताउँदै हामीले जस्तो सोच्दछौँ, जीवन त्यस्तै हुने बताए ।
नायिका रेखा थापाले भनिन्, ‘यो पुस्तकले मजस्तै धेरैलाई मद्दत गर्ने छ, किनभने आज रेखा थापालाई रेखा थापा बनाउने मै हुँ । मैले ठानेँ र भने ‘यस आई क्यान’ । म गर्न सक्छु । त्यही अठोटको नतिजा आज म तपार्इंहरूको सामु छु ।’
पुस्तकका लेखक पुन्य प्रसाईंले आफूले छोटो समयमा नै उक्त पुस्तक तयार पारेको बताउँदै प्रेरणा दिनेहरू तथा सहयोगीहरू सबैमा धन्यवाद दिए ।
अन्तरक्रियात्मक लोकार्पण कार्यक्रममा एनपी शर्मा, कला अनुरागी, अच्युत कोइराला, द्रोण र ओमप्रकाश खरेलले पनि पुस्तकका बारेमा बोलेका थिए ।

‘मृत्युसङ्ग्रह’ पनि बजारमा
युवा साहित्यकर्मी लघुकथाकार सुमन सौरभको चौथो लघुकथा कृति मृत्युसङ्ग्रहको आइतबार एक समारोहबीच नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले विमोचन गरे । कार्यक्रमका प्रमुख अतिथि सरुभक्त श्रेष्ठले लघुकथा समाजको गठनपश्चात् लघुकथाका क्षेत्रमा उत्कृष्ट कामहरू भइरहेको बताउँदै लघुकथाकार सौरभको प्रस्तुत पुस्तकले पाठकहरूलाई सोच्न बाध्य बनाउने बताए । उनले भने, ‘यति लामो जीवनमा जीवनलाई त बुझ्न सकिएको छैन भने मृत्युलाई कसरी बुझ्ने ?’
कार्यक्रममा साहित्यकार एवम् नाट्यकर्मी अशेष मल्लले लेखक सौरभलाई शुभकामना दिँदै नेपाली कथा साहित्यमा उनले उत्कृष्ट कृति पाठकहरूको हातमा सुम्पेको बताए । उनले लघुकथाको विषय, प्रस्तुति, शैली र सौन्दर्यचेतले गर्दा सङ्ग्रहका कथाहरू उत्कृष्ट भएको बताउँदै यो लघुकथा सङ्ग्रहका रचनाहरूको विभिन्न भाषाहरूमा अनुवाद हुनुपर्नेमा जोड दिए ।
अर्का कथाकार किशोर पहाडीले पनि सौरभका लघुकथाहरूले मानिसको मन र मस्तिष्कमा झट्का दिने बताउँदै सुमन सौरभ लघुकथा लेख्नैका लागि जन्मेको बताए ।
समालोचक डा. लक्ष्मणप्रसाद गौतमले मृत्युको एउटै थिममा कथा लेख्ने काम गाह्रो भएको बताउँदै यस सङ्ग्रहमार्फत लेखकले विचारसहित उत्कृष्ट लघुकथाहरू प्रस्तुत गरेको बताए ।
लघुकथा समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुमन सौरभ, धु्रव मधिकर्मी, तुलसीहरि कोइरालाले समेत बोलेका थिए ।

‘कन्भर्सेसन्स’मा अम्बिका र विनिता
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासद्वारा गत सोमबार नेपाल वायुसेवा भवनस्थित नेपाल–भारत पुस्तकालयमा आयोजित ‘कन्भर्सेसन्स’को २६औँ शृङ्खला सम्पन्न भयो । ‘कन्भर्सेसन्स’को उक्त एपिसोडकी प्रमुख आकर्षण थिइन् उदीयमान लेखिका अम्बिका गिरी र कार्यक्रम सञ्चालनको जिम्मेवारीका साथ उपस्थित थिइन् पत्रकार/स्तम्भकार विनिता दाहाल ।
आफ्नो हालै प्रकाशित पुस्तक ‘मान्छेको रङ्ग’बारे जानकारी गराउँदै अम्बिकाले आफ्ना भनाइ राख्नुअघि बीबीसी नेपाली सेवामा समेत आबद्ध रहेकी विनिताले ‘युवापुस्ताकी सबैभन्दा मुखर एक लेखिका’को रूपमा उनको परिचय दिइन् । लेखनीमा पात्रहरूको निर्माण र तिनलाई सजीव ढङ्गले प्रस्तुत गर्नमा अम्बिका खप्पीस रहेकी विनिताको भनाइ थियो ।
अम्बिकाद्वारा सिर्जित पहिलो पुस्तक ‘कम्युनिस्ट’ (कथासङ्ग्रह) पढेदेखि नै आफू उनको लेखनीप्रति सम्मोहित भएको उल्लेख गर्दै विनिताले ‘मान्छेको रङ्ग’ एवम् उक्त पुस्तकभित्रकी प्रमुख पात्र ‘माया’ (जो दशक अवधि चलेको माओवादी जनयुद्धमा होमिएर योगदान पु-याउन उद्यत् थिइन्)बारे उपस्थित दर्शक/स्रोतालाई चिनारी दिइन् । त्यसपछि नेपालको राजनीतिक इतिहासकै ऐतिहासिक कालखण्ड ‘माओवादी जनयुद्ध’का क्रममा भएको जनधनको क्षति तथा उक्त कालखण्डसँग जोडिएका विषयवस्तुहरूबारे अम्बिका र विनिताबीच छलफल चल्यो । स्रोताहरू सुन्दै गए ।
लेखिका अम्बिकाले आफ्नो अनुभूति बाँड्दै भनिन्, ‘माओवादी जनयुद्ध चल्दै गर्दा हुर्किएकी मैले त्यसैबाट प्रभावित भई यो पुस्तक लेखेकी हुँ । हुन त म प्रत्यक्षतः जनयुद्धको हिस्सा थिइनँ, तथापि माओवादी जनयुद्धले देश र जनतामा पारेको प्रभाव या यसका असरहरूको म पनि एक साक्षी थिएँ । मेरो पुस्तककी चरित्र ‘माया’ त्यस्ती एक प्रतिनिधि पात्र हुन् जो जनताको आन्दोलन सफल तुल्याउन सहयोग गर्न चाहन्थिन् । पितृसत्तात्मक समाजको छवि तोड्न चाहने तमाम महिलाको प्रतिनिधित्व ‘मान्छेको रङ्ग’की मायाले गरेकी छिन् ।
कार्यक्रमको अन्त्यमा लेखिका गिरी र स्रोताबीच अन्तरक्रिया भएको थियो भने बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले विनिता र अम्बिकालाई सम्झनाको चिनो प्रदान गरेका थिए ।