नराम्रोसँग एक्लिए प्रचण्ड

नराम्रोसँग एक्लिए प्रचण्ड


कुनैबेला माओवादीका महाशक्तिशाली नेता प्रचण्ड आफ्नै पार्टीभित्र एक्लो र निरीह बन्दै जानुभएको छ । केही अघिसम्म प्रचण्डका अघिल्तिर अन्य नेताहरू बिरालोको अगाडि मुसाबराबर मानिन्थे र कसैले उहाँलाई चुनौती दिने या ठूलो स्वरमा कुरा गर्ने हिम्मत पनि गर्दैनथे । तर, अहिले प्रचण्ड केही ‘उरन्ठेउला’हरूको मात्र नेता बन्ने स्थितिमा पुग्नुभएको छ । हाल माओवादी भनेर चिनिने पार्टीको ‘ओरिजिनल’ रूप भनेर मशाललाई लिइन्छ । २०४२ सालमा मोहनविक्रम सिंहसँग विवाद भई पार्टी विभाजन भएपछि बनेको मशाल समूहको नेतृत्व मोहन वैद्य किरणले गर्नुभएको थियो र त्यसबेला प्रचण्ड पनि केन्द्रीय नेतृत्वमा हुनुहुन्थ्यो । तात्कालिक मशालका केन्द्रीय सदस्यहरूमध्ये अहिले प्रचण्ड एक्लै एकातिर, बाँकी सबै मोहन वैद्य किरणतिर एकताबद्ध भएका छन् । प्रचण्डको पक्षमा जनयुद्धसँग कुनै साइनो नभएका नवागन्तुकहरू तथा उछृङ्खल र उद्दण्ड मानिएका अन्य केही व्यक्तिहरू मात्र देखिएका छन् । पार्टीको संसदीय दलमा प्रचण्डले बहुमत गुमाउनुभएको मात्र होइन, दुईतिहाई सभासद् उहाँका विरुद्ध जुटिसकेका छन् । केन्द्रीय समितिमा प्राविधिक रूपमा प्रचण्डको बहुमतजस्तो देखिए पनि माओवादी भावनाको प्रतिनिधित्व गर्ने अधिकांश नेताले वैद्यलाई समर्थन दिएका छन् ।
मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईबीच समझदारी बनेपछि वैद्यको पलडा यसरी भारी भएको छ कि अब प्रचण्डलाई आफ्नो हैसियत जोगाउन मुस्किल पर्ने देखिएको छ । वैद्यका पक्षमा सीपी गजुरेल, डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, कृष्णबहादुर महरा, नेत्रविक्रम चन्द्र विप्लव, पम्फा भुसालर्,र् इश्वर दाहाल, लीलामणि पोखरेल, अमिक शेरचन, हरिभक्त कँडेल, देवेन्द्र पौडेलर्,र् इश्वरी दाहाल, स्वनाम, प्रकाण्ड, धर्मेन्द्र बास्तोला, राम कार्की, टोपबहादुर रायमाझी, जयपुरी घर्ती, सूर्य सुवेदी पथिक, महेश्वर दाहाल, सन्तोष बुढामगर, जगबहादुर महरा प्रताप, चन्द्रबहादुर सुवेदी, हिसिला यमी र दिनेश शर्मालगायतका नेता तथा नेत्रीहरू रहेका छन् । प्रचण्डलाई जोडदार समर्थन गर्नेहरूमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मजदुर नेता शालिकराम जमकटेल, वाईसीएल नेता चन्द्रबहादुर थापा, विश्वभक्त दुलाल -आहुती), कालिबहादुर खाम -विविध), अग्नि सापकोटा, गिरिराजमणि पोखरेल, पोष्टबहादुर बोगटी, वर्षमान पुन, जनार्दन शर्मा प्रभाकर, चन्द्रदेव खनाल र हरिबोल गजुरेललगायतका नेताहरू छन् । करिब तीन महिनाअघि माओवादी बनेका पोलिटब्युरो सदस्य डिलाराम आचार्य र गिरिधारीलाल न्यौपाने पनि बाबुरामको साथ छोडेर अचानक प्रचण्डलाई समर्थन गर्न पुगेका छन् । अर्को पक्षले यसलाई ‘लेनदेनको करामत’ भनी टिप्पणी गरेको छ । हाल भ्रष्टाचारको आरोपमा निलम्बित केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे पनि बाबुरामलाई छोडेर प्रचण्डतिर लहस्सिएका छन् । प्रचण्डका पक्षमा केही ‘जेन्युइन’ व्यक्तिहरू देखिए पनि अधिकांशको छवि खराब या विवादास्पद मानिन्छ । निष्ठावान क्रान्तिकारी र पुरानो प्रभावशाली नेताहरूको साथ किरण-बाबुरामलाई भएको हुँदा माओवादीको भावनात्मक प्रतिनिधित्व दुई नेताहरू जहाँ उभिन्छन् त्यसैले गर्ने ठानिएको छ । त्यसर्थ प्रचण्ड भौतिक रूपमा मात्र होइन राजनीतिक एवम् वैचारिक रूपमा समेत एक्लिँदै जानुभएको महसुस माओवादीभित्र गर्न थालिएको छ । प्रचण्डले पार्टी केन्द्रीय समितिको स्थगित बैठक सुरु गराउने कुनै चासो लिनुभएको छैन । बरु कसरी आफ्नो स्थिति सुदृढ तुल्याउने ‘विरोधीलाई सिध्याउने’ भन्नेमा उहाँ केन्द्रित रहनुभएको देखिन्छ । प्रचण्डको चालबाजी र उहाँको सोचलाई बुझेर वैद्य-बाबुराम खेमाले केन्द्रीय समिति बैठक सुरु गर्नका निम्ति निर्णायक दबाब दिने तयारी गरेको छ । प्रचण्डले बैठक बोलाउन, शक्ति बाँडफाँड गर्न र आर्थिक अनुशासनमा बस्न तत्परता लिनुभएन भने कुनै पनि कठोर कदम चाल्न वैद्य तयार रहनुभएको बुझिएको छ । यसपटक वैद्यलाई कुरैकुरामा भुलाउन गरिएको प्रयासमा प्रचण्ड पूर्णरूपले असफल हुनुभएको छ । यो महिना कुनै मुद्दामा सम्झौता नै भइहालेछ भने पनि प्रचण्ड अर्को महिना अर्कै कुरा गर्न थाल्ने हुनाले उहाँसँगको सहमतिको कुनै अर्थ नरहने वैद्यनिकट एक नेताको भनाइ छ । घटना र विचारसँगको भेटमा उनले भने, ‘वैचारिक दूरी टाढा भए पनि डा. बाबुराम भट्टराई विश्वसनीय छन् । प्रचण्डसँग भन्दा बाबुरामजीसँगको सहकार्य उपयुक्त हुने भएकोले हामी उहाँसँग नजिक भएका छौँ । उहाँसँग वैचारिक सङ्घर्ष गर्दै अगाडि जान सकिन्छ । तर, प्रचण्डको विश्वसनीयता नै भङ्ग भइसकेको हुनाले उहाँसँगको सहयात्रा जटिल बन्न पुगेको छ ।’
सहमति गरेर केन्द्रीय समितिको बैठक बोलाउने सोच वैद्य र बाबुरामको छ । उहाँहरू महाधिवेशन आयोजक समिति गठन, संसदीय दलको नेतृत्व परिवर्तन, मन्त्रिमण्डललाई समावेशी तथा समानुपातिक बनाउनेलगायतका विषयमा समझदारी बनेपछि केन्द्रीय समितिको बैठक बोलाउनु उपयुक्त हुने धारणा राख्नुहुन्छ । तर, प्रचण्ड समझदारीमा आउने सम्भावना नदेखिएको हुँदा कठोरतापूर्वक अघि बढ्ने विषयमा वैद्य र बाबुराम पक्षबीच छलफल चलिरहेको छ । गत सोमबार अपराह्न पनि डा. भट्टराईको सानेपास्थित निवासमा मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा बादल, सीपी गजुरेल र देव गुरुङबीच करिब तीन घन्टा गम्भीर छलफल भएको थियो । बादल र कृष्णबहादुर महरासमेत वैद्यका पक्षमा उभिने स्थिति बनेपछि प्रचण्ड थप कमजोर र एक्लो हुनुभएको छ ।