केही न केही फरक काम गर्ने र मौलिक सोचलाई अगाडि बढाउने आफ्नो पृथक शैलीकै कारण इभाना मानन्धर मिस नेपाल–२०१५ हुन सफल भएकी छिन् । मिस नेपाल हुनुभन्दा अगाडि पनि मित्रमण्डलीबीच राम्रैसँग जम्ने गरेकी इभानाको विशेष रुचिचाहिँ मोडलिङ र चलचित्रमा छ । नेपाली चलचित्रकी नियमित दर्शक इभाना विशेष गरेर टेलिभिजनको त फ्यान नै हुन् । टेलिभिजन च्यानलमा सिनेमासम्बन्धी कुन कार्यक्रम कति बजे आउँछ र कुन कार्यक्रम कसले चलाउँछ, उनलाई कण्ठै छ । टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम प्रस्तोताको रूपमा दर्शकमाझ आउने उनको सपना पुरानै हो । उनले भनिन्, ‘अब एक वर्ष त मिल्दैन होला, तर एक वर्षपछि त म आफ्नो रुचिलाई मूर्त रूप दिने छु ।’ टेलिभिजनमा चलचित्रसम्बन्धी कार्यक्रम नै चलाउने उनको योजना छ । अहिले पनि कुरा नभएको होइन, तर विविध कारणले आफूले प्रस्ताव स्वीकार गर्न नसकेको कुरा पनि उनले लुकाइनन् ।
यदि यो वर्ष मिस नेपालको ताज उनको शिरमा नपरेको भए उनी यसै वर्ष नेपाली चलचित्रको नायिकाको रूपमा देखापर्ने थिइन् । उनका अनुसार केही सिनेमामा त कुरा पनि भइसकेको थियो, तर अब मिस नेपालको नियमलाई मिचेर अन्य क्षेत्रमा करिब एक वर्ष उनी जान पाउन्नन् । त्यसकारण पनि अब केही समय सिनेमाको हिरोइन बन्ने आफ्नो इच्छालाई उनले स्थगित गर्नुपरेको छ ।
रेखा थापाकी फ्यान इभाना रेखाको जस्तै नारीलाई सशक्त बनाउने, जुझारु र आत्मबल बढाउने चलचित्र खेल्न चाहन्छिन् । उनी भन्छिन्, ‘पर्दामा नाच्ने र उफ्रने मात्र होइन कि आफ्नो उपस्थिति पनि दह्रो हुने रेखाकोजस्तै सिनेमा अरूहरूले पनि बनाउन सके नारी जागरण र आत्मबल बढ्न सक्छ ।’
इभाना मानन्धर अब नेपाली सिनेमाको रूप र विषयमा फरक ल्याउनुपर्ने बताउँछिन् । उनले भनिन्, ‘नारी पात्रलाई रुवाएर दर्शकलाई हलतिर तान्नेजस्तो कमजोर कथा होइन, अब नारीलाई उत्साह, उमङ्ग र सशक्त बनाउने कथा तयार पार्नुपर्दछ ।’
प्रियंका बनिन् मिस पूर्वाञ्चल
धरानमा हालै सम्पन्न ‘नेपाल आइस मिस पूर्वाञ्चल–२०१५’को उपाधि मोरङ विराटनगरकी १८ वर्षीया प्रियंका श्रेष्ठलाई हासिल भएको छ । फाइनल प्रतियोगिताका मुख्य निर्णायक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठद्वारा सोधिएको ‘सामाजिक सञ्जाल फेसबुकमार्फत हुने विवाहलाई कसरी लिनुहुन्छ र किन ?’ भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ दिँदै प्रियंकाले आफ्ना तेह्र प्रतिस्पर्धीलाई उछिन्दै मिस पूर्वाञ्चल–२०१५ को उपाधि चुम्न सफल भएकी हुन् । उनी हाल काठमाडौंमा चार्टर एकाउन्टेन्ड विषयमा अध्ययनरत छिन् । धरान–८ स्थित सभागृहमा वैशाख २ गते बुधबार सम्पन्न मिस पूर्वाञ्चल–२०१५ को उपाधिसँगै प्रियंकाले मिस पब्लिक च्वाइसको सब टाइटलसमेत प्राप्त गरिन् । उनले यमाहा स्कुटी, हङकङ भ्रमणको अवसर पनि प्राप्त गरेकी छिन् भने उनी भेडेटार पर्यटन, आसरा सुधार केन्द्र र बुढासुब्बा गोल्डकप फुटबल क्लबको सद्भावना दूतसमेत बनेकी छिन् । उनलाई पूर्व मिस पूर्वाञ्चल–२०१५ की विजेता नेमिता आङबुहाङले ताज पहिराइदिएकी थिइन् ।
प्रतियोगितामा धरानकी अनु राईले फस्र्ट रनरअपको उपाधिसँगै मिस ट्यालेन्टको सब टाइटलसमेत जितिन् भने सेकेन्ड रनरअपको उपाधि झापा दमककी प्रमिसा बज्राचार्यलाई हासिल भयो । सो प्रतियोगिताका मिस चार्मिङमा लेटाङ मोरङकी सइरा मगर, मिस पर्सानालिटीमा चन्द्रगढी झापाकी सञ्जु मल्ल ठकुरी, मिस फ्रेन्डसिपमा इटहरी सुनसरीकी मिशाल श्रेष्ठ, मिस फोटो जेनिकमा केराबारी मोरङकी समुना लिम्बू, मिस वेष्ट वकमा धरानकी स्वरूपा थापा मगरले सब टाइटल जितेकी थिइन् ।
प्रतिक्रिया