सफलताको स्वाद चाख्ने सरोजको दृढता

सफलताको स्वाद चाख्ने सरोजको दृढता


funtimeनेपाली गीत–सङ्गीत क्षेत्रतर्फ यतिबेला युवा पुस्ताको आगमन बढ्दो छ । यसै क्रममा एकजना आशालाग्दा युवा प्रतिभा देखापरेका छन्– सरोजकुमार श्रेष्ठ । साङ्गीतिक नाम सरोज साजन श्रेष्ठ राखेका गायक सरोजले आफ्नो नाम र थरको बीचमा साजन राख्नुको अर्थलाई यसरी स्पष्ट पारे, ‘साजन भनेको साङ्गीतिक नाम हो । म आफूलाई म्युजिक लभर भएका कारण पनि यो नाम राखेको हुँ ।’
सरोज विशेष गरेर पे्रमगीत गाउनमा रुचि राख्छन् । अहिलेका स्रोताहरूको इच्छा र माग यस्तै गीतहरू भएका कारण आफू पनि यस्तो गीत सिर्जना गर्न इच्छुक भएको कुरा उनले बताए ।
सरोजले ‘एस थ्री’ नामक एल्बम बजारमा ल्याइसकेका छन् । पाँचवटा गीत समावेश यो एल्बमको दुईवटा गीतको भिडियो बनाइसकेका उनलाई यो भिडियोले स्रोता–दर्शकमाझ रामै्रसँग चिनायो । ‘अहिले भिडियोकै जमाना रहेछ । आफू पनि जमानाअनुसार नै हिँड्नुप-यो नि,’ उनले बताए । युवापुस्ताका स्रोतामाझ परिचित सरोज अब निरन्तर रूपमा गीत–सङ्गीत क्षेत्रमा लाग्दै अगाडि बढ्ने कुरा बताउँछन् । एनएलसी इन्सुरेन्सका कर्मचारी सरोज गायन र आफूले गरेको कामलाई एकसाथ अगाडि बढाउने योजनामा रहेका छन् । ‘गायन क्षेत्रलाई त म जीवनपर्यन्त छाड्न सक्दिनँ । यो क्षेत्र मेरा लागि प्राण नै हो,’ उनले भने ।
आधुनिक र पप मात्र नभएर सरोजले अब विस्तारै चलचित्र गीत–सङ्गीततिर पनि ध्यान दिन थालेका छन् । केही चलचित्र निर्माता र सङ्गीतकारहरूले आफूलाई चलचित्रमा गीत गाउनका लागि अवसर दिन लागेको कुरा उनले बताए । ‘म आत्तिएको छैन । विस्तारै हिँड्छु र एक दिन सफलताको स्वाद चाखेर नै छाड्छु,’ उनी ढुक्क छन् ।

कलापारखी विपिनको मनकारी रूप
धन धेरैजनासँग हुनसक्छ, तर मन सबैभन्दा ठूलो कुरा रहेछ । यो कुराको पुष्टि गरेका छन् कलापारखी एवम् समाजसेवी विपिन कर्माचार्यले । नेपाली कलाकारिताका राम्रा प्रशंसक एवम् म्युजिक भिडियोका निर्माता विपिन कर्मचार्य कलाकार र प्रतिभा भएकालाई राम्रोसँग अवसर दिने कलापारखीको रूपमा चिनिन्छन् । यिनै विपिन यतिबेला मुलुकको भयावह अवस्थाप्रति चिन्तित मात्र छैनन् कि आफ्नोतर्फबाट केही सहयोग गर्न सकेमा आफ्नो जीवन धन्य हुनसक्ने कुरामा विश्वस्त रहेका छन् । करिब आधा दर्जन म्युजिक भिडियोमा दशौँ लाख लगानी गरेर क्षमता र प्रतिभा भएर पनि बजारमा आउन नसकेका मोडलहरूलाई राम्रो अवसर दिँदै आएका छन् उनले । भूषण दाहालदेखि निर्देशक स्व. आलोक नेम्वाङसम्मलाई आफ्नो लगानीमा म्युजिक भिडियो बनाएर वाहवाही पाएका विपिन कर्माचार्यले नै जन्माएका मोडलहरू अहिले रामै्र स्थानमा जमिरहेका छन् । मनोरञ्जन क्षेत्रको यो सहभागितासँगै कर्मचार्यले विनाशकारी भूकम्पबाट विस्थापित भएका नेपालीलाई राहत सहयोग गर्दै धन मात्र होइन, मन, इच्छाशक्ति र भावना पनि हुनुपर्छ भन्ने गतिलो उदाहरण पेस गरेका छन् । व्यक्तिगत लगानीमा दिल्लीबाट सामान मगाएर उनले यसै साता पनौती, धादिङ, रसुवामा राहत वितरण गरेका छन् भने अब चाँडै नुवाकोट, गोरखा र दोलखा पनि जाँदै छन् उनी । ‘नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःख हेर्न सकिनँ । यो मेरो विशुद्ध सामाजिक कार्य हो,’ उनले भने ।
सर्वसाधारणपछि अब विपिन भूकम्पबाट पीडित र प्रभाव परेका नेपाली कलाकार एवम् प्राविधिकहरूसमक्ष पुग्ने भएका छन् । ‘जुन क्षेत्रलाई म माया गर्छु र मन पराउँछु त्यो क्षेत्रमा लागेका सजर्कहरूको दुःख म कसरी हेर्न सक्छु ?’ उनले भने । विपिनले आफ्नै निजी खर्च र पहलमा भारतबाट ब्ल्याङ्केट, चाउचाउ, पाल, बिस्कुट, चामल, आँटा, दाल, टर्चलाइट, नुन, झुललगायतका सामग्रीहरू वितरण गरेका थिए भने अबको चरणमा उनी अवस्था हेरेर जिन्सी वा नगद सहयोग गर्ने सोचमा छन् ।

म कसरी फ्लप ?†
चलचित्रका निर्माता स्वयम् आफ्नो लगानीमा बनेको चलचित्रप्रति सन्तुष्ट छन् । उनी आफ्नो सिर्जनाको सफलताबारे पनि ढुक्क छन् । उनको लगानी मात्र फर्किएको नभई नाफा नै कमाएका छन् । तर, बजारमा हल्ला चल्छ– फलानाको चलचित्र फ्लप भयो, चलेन भनेर गलत हल्ला फैलाउनेलाई के भन्ने ?
अहिले यही प्रश्नको जवाफ खोजिरहेका छन् चलचित्र ठूलीका निर्माता पुष्कर पन्त । नेपालमा मात्र होइन, उनले यो चलचित्रलाई अमेरिकाको विभिन्न सहरमा देखाएर नेपाली चलचित्रको बजार विस्तार गर्ने कार्य गरेका छन् । चलचित्र क्षेत्रको हक र हितका लागि भनेर खोलिएका सङ्घ/संस्थाहरूले गर्नुपर्ने कार्यलाई पन्तले व्यक्तिगत रूपमा गरे, तर उनले यो कार्यको प्रशंसा नगर्ने र उत्साह नदिने, तर चलचित्र चलेन भने गलत चर्चा गर्नेहरूप्रति पुष्करको गुनासो छ, ‘मैले व्यक्तिगत नभएर समग्र चलचित्र क्षेत्रको फाइदाका लागि काम गर्दा पनि सपोर्ट पाइनँ । लगानी गर्ने, म तर नाफा–नोक्सान अरूले देखाउने ? उनको प्रश्न छ ।
चलचित्र ठूलीका निर्माता पुष्कर पन्त आफू चलचित्र ठूलीबाट सन्तुष्ट मिलेको कुरा बताउँछन् भने अब चाँडै अर्को नयाँ चलचित्र निर्माण गर्न लागेको जानकारी दिए । ‘म फ्लप निर्माता होइन, सफल निर्माता हुँ । लगानी धेरै भएका कारण त्यस्तो देखिएको होला । तर, चलचित्रले लगानी उठायो,’ उनले भने । यतिबेला अमेरिकाको विभिन्न सहरहरूमा प्रदर्शन भइरहेको चलचित्र ठूलीको हिसाबकिताब आउन अझै बाँकी छ, तर हिसाबकिताब फत्ते नै नभईकन गलत प्रचार गर्नुलाई पन्त नराम्रो संस्कारको रूपमा लिन्छन् ।
चलचित्रमा ठूलीका निर्माता पुष्कर पन्तले यो चलचित्रलाई अब आफू युरोपका विभिन्न देशमा प्रदर्शन गर्ने तयारीमा रहेको जानकारी पनि दिएका छन् । ती देशहरूबाट उनले दशदेखि बीस लाखसम्मको व्यापार हुने अनुमान लगाएका छन् । यस अर्थमा आफूले मुलुक बाहिरबाटै लगानी उठाएको र मुलुकको कमाई फाइदामा रहेको कुरा उनले बताए । उनले भने, ‘मुलुकबाहिरबाट लगानी उठेको फिल्म कसरी फ्लप र म कसरी फ्लप निर्माता…?’