भूकम्प, दुःखी ड्राइभर र बहादुर बुहारी – पुण्य प्रसाईं

भूकम्प, दुःखी ड्राइभर र बहादुर बुहारी – पुण्य प्रसाईं


nepal-earthquakeसात सय झोलामा ट्याग लगाइसकिएको थियो । दुई हजार मानिस अवलोकन गरिरहनुभएको थियो, कम्तीमा १२ हजारले अवलोकन गर्ने अनुमान थियो । भयानक भूकम्पको झट्का लाग्यो । अचानक भूकम्पको झड्का लाग्नासाथ भृकुटीमण्डपमा चलिरहेको बृहत् पुस्तक प्रदर्शनीमा कोलाहल मच्चियो । मानिस आत्तिनु स्वाभाविक थियो ।
यो स्थान सुरक्षित छ जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस् भनेर कराएँ । कसैले पत्याएन । मेरो बुबा चियरमा बसिरहनुभएको थियो, उहाँले पनि पत्याउनुभएन, भाग्नुभयो, लडेर चोट लाग्यो । बहिनी जोडले रुन थालिन् । तिमी बहादुर केटी हौ, रोएर अरूलाई नअत्याऊ भनेँ । उनी पनि मानिनन्, रोएको रोएकै । भागदौडले किचिएर केटाकेटी घाइते हुने या मृत्यु हुन सक्थे, फेरि कराएँ, नभाग्नुस् जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस् यो ठाउँ सुरक्षित छ । ओम पनि कराइरहेका थिए यहाँ छानामा जस्तासमेत लगाएको छैन, हल्का पाल र प्लास्टिक मात्र हो । सुरक्षित छ तर मानिस आपत्मा परिणामको ख्याल गर्दो रहेनछ, न त कहाँ छु भनेर सोच्दो नै रहेछ, बस् भाग्न मात्र चाहँदोरहेछ । सबै भागे । तर केही मानिस बस्न पनि थाले ।
हल्लिरहेको थियो फोन लगाएँ घरमा, अँ हँ लागेन । ६ वर्षे छोरा सम्यकको बानी थियो दराज छेउमा सुतेर टीभी हेर्ने । उसको चिन्ता भयो । आँखा कम देख्ने आमा पनि अर्को तलमा हुनुहुन्थ्यो । फोन नलागेपछि छिटो घर पुग्ने विचार आयो । अप्पु डराइरहेकी थिइन् । बिलिङ गर्ने अरू बहिनीहरूको पनि उही हालत थियो । फोन नलागे पनि फेसबुक काम लाग्यो उनीहरूले फेसबुकबाट घरमा म्यासेज गरे । मैले उनीहरूलाई तिमीहरू सबै वीराङ्गना रहेछौ, काउन्टर सम्हाल भनेँ । उनीहरू बसे । केही आत्तिएकालाई घर पठाइदिएँ । यम दाइलाई यहाँ सम्हाल्नु म घर पुग्छु भनेँ । गार्डहरूलाई यहाँ विचार पु-याउनु भनेर ड्राइभरलाई गाडी निकाल्न लगाएँ । विनिता एकदमै छोरो सम्यकको चिन्ता गरिरहेकी थिइन् । हामी घरतिर लाग्यौँ । ड्राइभरलाई तिमी एकदमै राम्रो चालक हौ, मानिसहरू आत्तिएका छन् एकदम ध्यानले चलाऊ है भनेँ ।
भृकुटीमण्डपबाट निस्कनासाथ विध्वंश देखिन थाल्यो । रेडक्रसको अगाडिको पर्खाल ढलेको थियो । सञ्जय भाइको याद आयो। उनी गोदाम गएका थिए । बुक ढलेर किच्न सक्थ्यो । समय हेरँे, विश्वास लाग्यो उनी गोदामबाट निस्किसकेको हुनुपर्छ । बाटोमा विध्वंश देखिन थालेपछि अझ चिन्ता बढ्यो । कति गरे पनि फोन लागेन, तर झापाबाट फोन आयो, उता प्रभाव परेको रहेनछ यता सबै ठीक छ भन्दिएँ, तर कमलपोखरीको सिटी सेन्टर चर्केको देखेपछि आप्mनो घर पनि निकै अग्लो नै भएकाले चिन्ता झनै बढ्यो । धरहरा त लडिसकेको थियो ।
मित्रपार्कमा पुगेपछि एक घाइते भेटिए, हालत खराब थियो । घर पुग्नुभन्दा पहिला उनलाई ओम हस्पिटल पु-याउने काम ग-यौँ । उडन्तेले ओम हस्पिटल पनि लडेर धुलो भएको छ के त्यहाँ लगेको भनेका थिए । तर, घाइतेको उपचारका लागि ओम हस्पिटल उही पुरानो चालले खडा थियो । हस्पिटल अव्यवस्थित थियो, सबै आत्तिएका तर पनि डाक्टर र नर्स महान् हुन् उनीहरू आप्mनो चिन्ता हुँदाहुँदै पनि घाइतेको उपचारमा खटिएका थिए ।
अब त्यसबेलासम्म पनि फोन नलागेपछि विनिता घर चाँडो पुग्न हुटहुटी लगाउन थालिन् । हामी हानियौँ । सिन्धुपाल्चोक घर रहेका मेरा ड्राइभर भूपाल तामाङको फोन बज्यो । उनको घर लडेर माटोमा मिलेछ । सँगै फोन गर्नेले भने, सिन्धुपाल्चोकमा सग्ला घर एउटा पनि छैन । यो महाविपत्ति हो भन्ने अब मात्र मलाई लाग्यो । उफ मेरो छोरो, सबै मानिस सडकमा आइसकेका थिए । मलाई लाग्यो गाडीबाट भन्दा म दौडेँ भने छिटो पुग्छु । गौरीघाट पुगेपछि गाडीले गति लियो । घर लडेको ड्राइभरको हालत खराब भइसकेको थियो । चिन्ता गर्न थाले । सम्झाएँ, सबै परिवार सकुशल हुनुहुँदोरहेछ, चिन्ता नगर, अब नयाँ घर बन्छ, सकेको सहयोग म पनि गरौँला, मलाई लाग्छ सरकारले पनि सहयोग गर्ला ।
के गर्छ सरकारले पहिला भूकम्प आउँदा मानिसलाई पाँच हजार दिएर झारा टारेको होइन । आउँदै गर्दा थाहा भयो– जोरपाटी बाहुनडाँडाको ६ तले घर लडिसकेको थियो । तर, यहाँसम्ममा मैले बाटोमा नलडेका र लडेका घर हेरेर के अनुमान लगाएँ भने, मेरो घर लडेको छैन ।
घर पुगेँ, मेरो घर खडा थियो, र घर बाहिर गाउँका सबै मानिस निस्केका थिए । मैले आमा र छोरालाई देखेँ, अनि हाँसिरहेकी बहादुर बुहारी सीतालाई देखेँ । उनैले सम्हालेर आमा र मेरो सम्यकलाई घरबाट निकालेकी थिइन् ।
छोराले सुनायो, बाबा म रेलिङ समाएर ओर्लें, तर आयुष दादा आत्तिएर कुद्ने भएर लड्नुभयो । छोरो बिस्तारै बुहारी सीता भएको ठाउँमा गएछ । उसलाई सम्हालेपछि बुहारी सीताले आमालाई डो-याएर तल झारिछन्, तर त्यसैबेला माथि छतमा भाउजू कराएको आवाज आएपछि उनी माथि चढिछन् । भूकम्पको धक्काले भाउजू छतमा रहेको बेला ढोका लागेछ र थुनिनुभएछ । आत्तिएर भाउजू ढोकामा लातले हानेको हान्यै । हलिएर सीताले निकैबेर ढोका खोल्न सकिनछिन् । बुहारी सीता एक टिचर हुन् । आपत्विपत्मा सम्हाल्न सक्ने उनको क्षमता देखेर हरेक टिचरहरूप्रति म नतमस्तक भएँ । अब बहिनी र ज्वाइँको खबर लिन बाँकी थियो । फोन त लागेकै थिएन ।
उसैबेलै खबर आयो मेरै घरनजिकको पसले पर्खालले च्यापिएर मरेछन् । अनि एकैछिन् अर्को खबरले मुटु हल्लायो, मेरो घरअगाडिका मारवाडीका छोरा काष्ठमण्डपमा ब्लड डोनेसन गर्न गएको बेला ब्लड दिँदादिँदै मरेछन् । सबै गाउँले रुँदै गर्दा उनी मृतकका बाबु भने गाउँलेहरूलाई भन्दै थिए, तपाईंहरू कोही नरुनुस् ।
फोन नलागेकाले बहिनीको घर पुगेर खबर बुझेँ । सबै सकुशल थियो । उनीहरूको घरमाथि राखिएको एनसेलको टावर भने हल्लिरहेको थियो । पर्खाल छेउमा बसेकालाई नबस्नुस् बरु बाटोबीचमा बसेर छेउको बाटो गाडी जान छोड्नुस् भन्दै पुनः भृकुटीमण्डपमा बृहत् पुस्तक प्रदर्शनीमा गएँ । बीचमा काकाको फोन आयो । बुहारी र विनिताको माइतीबाट पनि फोन आयो, अब मेरा सबै परिवार सकुशल थिए, तर मेरो देशको कहालीलाग्दो क्षति भइसकेको थियो । हजाराँै मानिस मरिसकेका थिए ।
अब प्रदर्शन स्थगन गर्नुको विकल्प थिएन । केही मानिस आत्तिएर पुस्तक लगिएछ भनेर बुझाउन आइरहेका थिए । तर राति भृकुटीमण्डपका सबैले हाम्रो पुस्तक प्रदर्शनीमा सेल्टर लिए । साङ्ग्रिला पब्लिकेसनका अध्यक्ष मणिजीले पनि त्यहीँ सेल्टर लिनुभयो क्यार । जे होस् पुस्तक पढाउन नसके पनि यो महाविपत्तिको बेला हामीले लगाएरको पुस्तक प्रदर्शनी हलले धेरै मानिसलाई पानीबाट भने जोगायो ।
साँझ मलामी गएँ । दुःखी ड्राइभरलाई दुःख दिन मन लागेन बेलुका मारवाडीको मलामी आपैँm गाडी कुदाएर गएँ । कम्तीमा पचास लास जलिरहेका थिए । हामीले एउटा सानो बालक जलिसकेपछि पालो पायौँ । मलामीविहीन लास थिए सबै । हामी पनि जम्मा दशजना मात्र थियौँ । मर्दा मलामी चाहिन्छ भन्थे, तर मानिस एक्लाएक्लै जलिरहेका थिए । रुने मानिस पनि थिएनन् ।
भोलिपल्ट थाहा भयो, यो प्रदर्शनीमा हराएका पुस्तकको हिसाब लाउँदा लाखौँ घाटा भएको थियो, मलाई साथै प्रदर्शनी स्थगनको घाटाको त कुनै हिसाबै छैन तथापि मेरो परिवारमा मानवीय क्षति भएको थिएन । परिवारका सदस्य गुमाउनुहुनेहरूको दाँजोमा यो भौतिक क्षति केही होइन जस्तो लाग्यो मलाई । परिवारको चिन्ता परेको त्योे क्षण सम्झँदा अहिले पनि यस्तो लाग्छ मलाई । विनिताले मलाई सम्झाएकी हुन् या आपैँmलाई भन्दै थिइन्, सम्पत्ति त गयो हामी त बाँचेका छौँ नि, जीवन रहे धन त कमाइहालिन्छ नि । आप्mनो परिवार मात्र नभनी आज आर्मी, सशस्त्र र प्रहरीहरू खटिरहनुभएको छ । उसैगरी डाक्टर र नर्सहरू पनि । तर, नेपाल बन्द भनेर स–सानो कुरामा सडकमा टायर बाल्ने र नेपाल बन्द गर्ने राजनीतिक दलको भ्रातृ सङ्गठन भने कतै देखिएनन् । सबैको मुटु दह्रो नहुन पनि सक्छ । तर, केचाहिँ हो रहेछ भने केही मानिस साँच्चै नै दरिला हुँदारहेछन् ।