राहतमा कलाकारबीच गुटबन्दी

राहतमा कलाकारबीच गुटबन्दी


funtimeसिनेमाको पर्दामा मात्र होइन कि कुनै औपचारिक कार्यक्रममा भाषण गर्नुप-यो भने पनि कलाकर्मीहरू ठूला कुरा गर्छन् । एकले अर्काका लागि साथ दिने अनि परिआयो भने जस्तोसुकै समस्यासँग पनि जुध्न सक्ने गफ लडाउँछन् । तर, वास्तविक जीवनमा भने यिनीहरूबीच राम्रो मेल मात्र होइन कि कुनै सामाजिक कार्यमा एकले अर्कालाई साथ पनि दिँदैनन् यिनीहरू । भएसम्म त कुरा मात्र काट्ने होइन कि एकले अर्कालाई पाएसम्म तथानाम गर्न पनि पछि पर्दैनन् यिनीहरू ।
आफ्नो पेसामा मात्र सीमित छैन यी कलाकारबीचको आपसी द्वन्द्व, वैमनष्यता र झगडा । कुनै सामाजिक कार्यमा पनि यी कलाकारबीचको सम्बन्धमा सुगन्ध छैन । प्रसङ्ग हो भूकम्पपीडितका लागि गरिने सहयोग र साथ । पीडित नेपाली जनतालाई राहत वितरण गर्ने र उनीहरूलाई सहयोग गर्ने मामिलामा पनि कलाकारबीच फाटो मात्र आएन कि समूहगत रूपमा विभाजित पनि भए यिनीहरू ।
निर्देशकले एउटा गुट बनाउने अनि नायिकाले अर्को गुट । एउटा गुटले सहयोग गरेको ठाउँमा अर्को गुट नजाने र त्यो गुटविरुद्ध आलोचनाले भरिएको कुराहरू गर्नेजस्ता गलत प्रचार गर्दा कलाकारबीचको सम्बन्ध छताछुल्ल हुन पुग्यो । अन्ततः उनीहरूले आफ्नो धोती फुस्किएको थाहा नै पाएनन् ।
अभिनेत्री नम्रता श्रेष्ठ एउटा समूहमा राहत बाँड्दै थिइन् भने चलचित्र निर्देशक आकाश अधिकारीको गुट अर्कै थियो । उता अभिनेत्री करिश्मा मानन्धरको समूह अर्कै थियो भने रेखा थापाले कुनै पनि गुटमा नलागेर स्वतन्त्र रूपले राहत बाँडिन् । कलाकारहरूबीच राहत वितरणमा देखिएको गुटबन्दीले एकातिर उनीहरूबीचको हैसियत स्पष्ट भएको छ भने अर्कोतर्फ चलचित्र क्षेत्रको ठेक्का लिएर बसेका केही सङ्घहरूबीच तारतम्य नमिल्दा यो समस्या देखापरेको कुरा पनि स्पष्ट हुन आएको छ । राहत वितरण र सहयोगमा त गुटबन्दी र समूह खडा गर्ने यिनीहरूले साँच्चै कुनै फलदायी काम हुन लाग्यो भने कत्तिको लुछाचुँडी गर्लान् ?

दुबईमा नेपाली मोडल
विदेशमा रहेका नेपालीको नेपाली कला संस्कृतिप्रतिको मोह साँच्चि नै उल्लेखनीय रहँदै आएको छ । विश्वको जुनसुकै कुनामा रहे तापनि उनीहरूले देखाएको माया र मोह स्मरणीय नै रहेको छ । यसैबीच लामो समयदेखि दुबईमा प्रहरी पेसामा कार्यरत जगदीश गुरुङ पनि नेपाली कला, संस्कृति र मोडलिङप्रति चासो राख्ने मोडल हुन् ।
यसैबीच यी मोडलले पनि हालै गायक रामचन्द्र काफ्लेको स्वर रहेको गीतमा मोडलिङ गरेका छन् । गीत–सङ्गीतमा मोडलिङ गरे जनमानसमा चिनिने र यो क्षेत्रमा लाग्ने आफ्नो सोच र योजना पुरानै भए तापनि अब भने विस्तारै आफ्नो योजना पूरा हुन लागेको उनले बताए । ‘पहिलोपटक नै रामचन्द्र काफ्लेको गीतमा मोडलिङ गरेको छु । अब भविष्य राम्रो देखेको छु,’ मोडल जगदीश गुरुङले भने । अबुधाबी प्रहरीमा कार्यरत जगदीश गुरुङ भट्ट हेर्दा सिनेमाको कुनै नायकभन्दा कम छैनन् । त्यसो त उनलाई समयसमयमा सिनेमाबाट नायक बन्ने अफर पनि नआएको होइन । ‘तर म अहिले मोडलिङतिर बढी चासो दिन थालेको छु । हेरौँ सिनेमामा पनि खेल्नुपर्छ,’ उनले भने । जगदीशले एल्बम सरिताको गीतमा मोडलिङ गरेका हुन् भने भिडियोलाई दयाराम घिमिरेले निर्देशन गरेका हुन् ।

तङ्ग्रिँदै चलचित्र क्षेत्र
विनाशकारी भूकम्पका कारण यतिबेला सबै क्षेत्र प्रभावित बन्न पुगेका छन् । अन्य क्षेत्रजस्तै नेपाली कला र चलचित्र क्षेत्रमा पनि असर परेको छ । सबै कुराबाट पर्याप्त भएपछि मानिस मनोरञ्जन लिने गर्छन् । अन्ततः मानिसको अन्तिम रोजाइमा पर्ने मनोरञ्जन क्षेत्रमा अहिले बेहालको अवस्थामा छ ।
वर्षमा सयभन्दा बढी चलचित्र रिलिज हुने नेपाली चलचित्र क्षेत्र र कलाकारिता क्षेत्र यतिबेला गुपचुप र गुमनाम छ । कलाकारहरू बेकामे भएका छन् भने सिनेमा हलहरू खाली छन् । गीत–सङ्गीतहरू बज्न र निर्माण हुने क्रममा ‘बे्रक’ लागेको छ । मुलुकमा यस्तो नाजुक अवस्था भएका कारण सिनेमा क्षेत्र बिस्तारै तङ्ग्रिने अवस्थामा पुगेको छ । वैशाख महिनामा करिब एक दर्जन चलचित्र रिलिज हुने तयारीमा थिए तर भूकम्पका कारण सबै चलचित्रको रिलिज साउनपछि सर्न पुगेको छ । यसै हप्ताबाट भूकम्पका कारण असर नपुगेका सिनेमा हलहरू सञ्चालनमा आएका त छन्, तर नयाँ नभएर पुराना सिनेमाहरू मात्र चल्ने भएका छन् हलमा । सबै सिनेमाले रिलिजको डेट पछि सार्नाले अब दशैँताकाको समयमा चलचित्रहरूको रिलिजमा भीड हुने देखिएको छ । चलचित्रको रिलिज मात्र होइन कि सुटिङ पनि पछि हटेका छन् । अवस्थामा यस्तो रहे तापनि अन्य क्षेत्रजस्तै मनोरञ्जनको क्षेत्र पनि अब बिस्तारै तङ्ग्रिने अवस्थामा छ ।

मकै पोल्ने महिलाद्वारा पुस्तक लोकार्पण
ज्योति साहित्य प्रतिष्ठानको १०२औँ शृङ्खलामा कवि मुकुन्द अर्यालको चौथो कृति ‘मान्छेभित्रको मान्छे’को लोकार्पण भयो । बानेश्वरमा मकै पोलेर जीवन निर्वाह गर्ने महिला श्रीमती डम्बरकुमारी दाहाल र वरिष्ठ गजलकार रामबहादुर पहाडीले संयुक्त रूपमा उक्त कृतिको विमोचन गरे । त्यस अवसरमा विमोचित कृतिको चर्चा गर्दै कवि तथा समीक्षक मित्रलाल पंगेनीले कविताहरू निकै सशक्त, सामाजिक यथार्थमा आधारित र पाठकलाई भावलोकमा विचरण गराउन सक्षम रहेको बताए । यस कविताका कविता भाषिक रूपमा सरल र वस्तुगत रूपमा सघन रहेको कवि भाग्यशाली अधिकारीले बताए भने ज्योति साहित्यका प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले सङ्ग्रहभित्र देशको सामाजिक परिवेश झल्काउने र वित्तीय चेतना फैलाउने ३३ कविताहरू समाविष्ट रहेको उल्लेख गरे ।
कार्यक्रममा वरिष्ठ कवि पूर्णविराम, समालोचक ज्ञाननिष्ठ ज्ञवाली, कणाद महर्षि, दिनेशविक्रम थापा, सूर्य बस्नेत, उर्मिला पन्त पाण्डे, प्रमोद स्नेही, तर्कना शर्मालगायतका कविले कवि मुकुन्द अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरे । त्यसैगरी भैरवी ढुङ्गाना, विष्णा विरही, रश्मि रिमाल, डा. रेणुका थापा, जनार्दन अधिकारी, गंगाप्रसाद अकेला, उदास कार्की, भुवन थापा, हरिप्रसाद पाण्डे, राधिका पन्त, गुप्तबहादुर श्रेष्ठ, सूर्य बस्नेतलगायतका कविले कविता वाचन गरे । तथापि, पुस्तक लोकार्पणलगत्तै गएको भुइँचालोका कारण ‘मान्छेभित्रको मान्छे’को चर्चा भने ओझेलिन पुग्यो ।