बसाइँसराइले जन्ती र मलामीसमेतको अभाव

बसाइँसराइले जन्ती र मलामीसमेतको अभाव


बसाइँसराइले सामाजिक काम र बाँझो जमिनको कुरै छाडौँ, बाग्लुङको एक गाउँमा बिहेका लागि जन्ती मर्दा मलाम जाने मानिससमेत छैनन् । जिल्लाको गलकोट नगरपालिका–७ (साबिक मल्म गाविस– ९) स्थित टोकरी गाउँ बसाइँसराइका कारण रित्तिएको छ ।

गाउँको खेतीयोग्य अधिकांश भूमि बाँझो छ भने पाखापखेरा रूखबिरुवाले भरिएका छन् । गाउँ नै सुनसान छ । गाउँमा अहिले वृद्धवृद्धा तथा बालबालिका पनि न्यून मात्रमा देखिन्छन् । टोकरीका स्थानीयहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सडकलगायत भौतिक पूर्वाधारको खोजीमा बसाइँसराइ गर्दा गाउँनै रित्तिएको स्थानीयकोभनाइ छ । चालीस घर रहेको टोकरी गाउँमा बसाइँसराइका कारण अहिले १३ घरमा मात्र स्थानीय बसोबास गर्दै आएका र बाँकी घर खण्डहरजस्तै भएको स्थानीय गंगाबहादुर थापाले बताए । ‘बसाइँसराइले गाउँ नै खाली हुन लाग्यो, मर्दापर्दा अगाडि सरेर काम गर्ने कोही छैनन्,’ थापाले भने, ‘मर्दा शव उठाउने युवाहरूसमेत नहुँदा महिलाले शव बोक्नुपर्ने अवस्था छ ।’

टोकरीका अधिकांश युवा जापानलगायतका मुलुकमा जाने र शहरबजारमा घर खरिद गर्दा बसाइँसराइ बढेको हो । टोकरीका स्थानीय बासिन्दा नगरपालिकाको केन्द्र रहेकोे हटिया, जिल्ला सदरमुकाम बाग्लुङ, पोखरा, काठमाडौं, बुटवल, चितवनलगायतका क्षेत्रहरूमा बसाइँसराइ गर्ने गरेका छन् ।

दश वर्षदेखि यता बसाइँसराइको दर ह्वातै बढे पनि कानुनीरूपमा बसाइँसराइ गरेर जाने परिपाटी नरहेको कार्यबाहक वडाध्यक्ष लोकबहादुर थापाले बताए । ‘कानुनी प्रक्रियाका लागि देशको जुनसुकै स्थानमा गए पनि वडामा आउने गरेका छन्,’ उनले भने, ‘ठेगाना स्थानीय भए पनि गाउँमा बस्ने न्यून छन् ।’ अहिले टोकरी गाउँमा बालबालिका, वृद्धवृद्धा गरी करिब ६० जना रहेको स्थानीय विष्णु थापाले बताए ।

गाउँमा धेरैजसो उमेर ढल्केकाको मात्र बाहुल्य छ । स्कुले विद्यार्थी शहरबजार र युवायुवती विदेश गएका कारण गाउँमा सामाजिक काम गर्नसमेत मुस्किल परेको थापाले बताए । सबैले गाउँ छाडेर जान थालेपछि गाउँको खेतीयोग्य जमिन बाँझो रहेको छ भने घाँसपात गर्ने पाखापखेरा झाडीमा परिणत भएका छन् ।

बढ्दो बसाइँसराइका कारण टोकरी गाउँमा रहेकोे देउराली आधारभूत विद्यालयमा समेत विद्यार्थीको संख्या घटेर अन्य विद्यालयसँग गाभ्ने अवस्थामा पुगेको छ । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा जम्मा १४ विद्यार्थी रहेको प्रधानाध्यापक केयरसिंह थापाले बताए ।

गाउँमा सामान्य आधारभूत सेवासुविधाको पहुँच नपुग्नु र विप्रेषणमार्फत आएको रकम शहरबजारमा लगानी गर्नु नै बसाइँसराइको प्रमुख कारण रहेको स्थानीयको भनाइ छ । टोकरी गाउँ जिल्लामै उच्च बसाइँसराइ हुने गाउँमध्येमा पर्दछ ।