देउरालीको प्रसाद खाएका २५ जना बिरामी

देउरालीको प्रसाद खाएका २५ जना बिरामी


अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् ।

सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्गनिवासी दीपक केसीको घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको छ । गए रातिदेखि बिरामी परेका उनीहरू दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड पोइजन’का कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ ।

बिरामीहरूमध्ये २० जनाको अर्घाखाँची अस्पताल सन्धिखर्क, ४ जनाको ओमपोलि क्लिनिक र एक जनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भैरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।