सुनौला हजार दिन : सुत्केरीलाई अन्डा, शिशुलाई लुगा

सुनौला हजार दिन : सुत्केरीलाई अन्डा, शिशुलाई लुगा


दिपायल सिलगढी नगरपालिका– ९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवतीलाई अन्डा वितरण गरिएको छ । नगरपालिका बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत कलेनामा सञ्चालित दुई पोषण परामर्श केन्द्रबाट ६६ गर्भवती तथा सुत्केरीलाई अन्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिए ।

कलेनाभित्र रहेका ६६ गर्भवती तथा सुत्केरीलाई एक–एक क्यारेट अन्डा वितरण गरिएको हो । स्थानीय तालिमप्राप्त पोषण सहजकर्ताले पोषण परामर्श केन्द्रमा पोषण, सन्तुलित आहार, घरायसी सरसफाइ, तरकारी खेती तथा लैंगिक हिंसाजस्ता विषयमा जानकारी दिने गरेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक चाणक्य अधिकारीले जानकारी दिए ।
अर्कोपटक नगरपालिकाका वडा नं. ३ दिपायल र वडा नं. ५ मा अन्डा वितरण गरिने नगरपालिकाले जनाएको छ ।

यसैगरी सामुदायिक विकास केन्द्र डोटीले आफ्नो कार्यक्षेत्रका चार हजार बालबालिकालाई न्यानो लुगा वितरण गर्ने भएको छ । वल्र्ड भिजन इन्टरनेसनल नेपाल र सामुदायिक विकास केन्द्र डोटीबीचको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसिप परियोजनाअन्तर्गत लुगा वितरण गर्न लागिएको कार्यक्रम संयोजक रामचन्द्र जोशीले बताए ।