प्रि-डिप्लोयमेण्ट तालिमको समापन

प्रि-डिप्लोयमेण्ट तालिमको समापन


संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ ‘अनमिस मिसन’ (UNMISS Mission) दक्षिण सुडानमा तैनाथ हुन जाने श्री देवीदत्त गण (शासे) नवौँ डफ्फाको प्रि-डिप्लोयमेण्ट तालिमको समापन गरिएको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा आयोजित समारोहबीच राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले तालिम समापन गर्नुभएको हो ।

सो अवसरमा श्री देवीदत्त गण (शासे) नवौँ डफ्फामा सहभागी भई जाने सकलहरुलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ‍तालिमबाट प्राप्त गरेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सिप र क्षमता मिसन इलाकामा उच्चतम उपयोग गरी शुरता र वीरताको गौरवमय इतिहास बोकेको नेपाली सेना शान्ति तथा समृद्धिका लागि अहिंसा, सहिष्णुता र करुणाको सन्देश विश्वमा फैलाउन संयुक्त राष्ट्रसंघको आह्वानमा विगत ६ दशकदेखि खट्टिएको स्मरण गराउनुभयो ।

नेपाल र नेपालीको छवि उच्च राख्न शान्ति स्थापना कार्यमा निष्ठा र इमान्दारिताका साथ समर्पित हुन निर्देशन दिनुहुँदै कार्यक्षेत्रमा आफूलाई एक योग्य शान्ति सैनिकको रुपमा परिचय गराई आफ्नो पेशागत दक्षता, प्रतिष्ठा एवं मानवअधिकारको उच्च सम्मान तथा मानवीय सहयोगको भावनासहित विश्वशान्तिप्रति नेपालको प्रतिबद्धताको सन्देश फैलाउने कार्यमा सफलताको शुभकामना दिनुभएको नेपाली सेनाले जनाएको छ ।

समापन समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।