विषादी र रासायनिक मल प्रयोगमा सचेत रहन सुझाव

विषादी र रासायनिक मल प्रयोगमा सचेत रहन सुझाव


कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विषादी र रासायनिक मल प्रयोग कम गर्न किसान सचेत हुनुपर्ने बताएका छन् । ‘खाद्य मेला–२०७५’ को समापन कार्यक्रममा देशमा उत्पादित अर्गानिक उत्पादनलाई ‘ब्राण्ड’ गर्न सकियो भने त्यसबाट धेरै फाइदा हुने उनले औँल्याए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले खाने बानीमा सुधारका लागि मेलाले सहयोग गर्ने बताए । उनले भने, ‘आम उपभोक्तालाई सजग बनाउन अरू जिल्लामा समेत मेलाको आयोजना हुनेछ ।’

विभागले चौथो पटक आयोजना गरेको मेलालाई मन्त्रालयका सचिव युवकध्वज जिसीले शुक्रबार उद्घाटन गरेका थिए । मेलामा जम्मा ४५ स्टल रहेको विभागले बताएको छ । विभिन्न उद्योगले उत्पादन गरेका खाद्यन्नको १५, खाद्य प्रविधि विषय पढाइ हुने कलेजको २२ र अचार, जाम, पाउरोटीलगायत खाद्यन्न उत्पादन गर्ने साना उद्योगका १८ स्टल रहेको आयोजकले जनाएको छ ।