धादिङमा गाडीले किचेर दुई महिलाको मृत्यु

धादिङमा गाडीले किचेर दुई महिलाको मृत्यु


आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो । भुजेलको घटनास्थलमै र तामाङको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा घाइते भएकी गल्छी गाउँपालिका वडा नं ५ की ३६ वर्षीया धनकुमारी तामाङको पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घटनापछि गाडी चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उता, मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति ट्याक्टरको ठक्करबाट पैदलयात्री एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२त ६६५० नंको ट्याक्टरको ठक्करबाट सोही ठाउँकी ३२ वर्षीया माया तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक तामाङको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।