प्रचण्डको गद्दी खोसिने निश्चित

प्रचण्डको गद्दी खोसिने निश्चित


माओवादी पार्टीमा विगत दुई दशकदेखि कायम प्रचण्डको एकछत्र राज (तन्त्र ?) अब अन्त्य हुने भएको छ । आफूले निर्वाह गरिरहेको पदीय जिम्मेवारी सुम्पिएर प्रचण्डलाई ‘हिरो’ बनाउनुहुने मोहन वैद्य किरण कस्सिनुभएपछि प्रचण्ड ‘जिरो’ बन्ने अवस्थामा पुग्नुभएको छ । प्रचण्डमा निहित शक्ति बाँडफाँड गरेर पार्टीलाई सामूहिक नेतृत्व प्रणालीअन्तर्गत लैजान वैद्यले गर्नुभएको प्रयासमा डा. बाबुराम भट्टराई, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ र लीलामणि पोखरेलहरूसमेतको साथ रहेको छ । संविधानसभाको संसदीय दलमा वैद्य-बाबुराम पक्षमा दुईतिहाइ मत जुटेको छ भने केन्द्रीय समितिमा समेत दुईतिहाइ पुर्‍याउने प्रयास वैद्यबाट भइरहेको छ । एक सय छयालीस सदस्यीय केन्द्रीय समितिमा वैद्य समर्थकहरूको सङ्ख्या कम्तीमा अठचालीस (४८) तथा भट्टराई समर्थकहरूको सङ्ख्या कम्तीमा बाइस (२२) रहेको बताइन्छ । पूर्व एकता केन्द्रको पृष्ठभूमिका तेत्तीस सदस्यमध्ये नारायणकाजी श्रेष्ठ प्रकाशका समर्थकहरू बीसजनाको हाराहारीमा रहेको ठानिन्छ । श्रेष्ठको समेत साथ पाएपछि प्रचण्डविरुद्ध केन्द्रीय समितिमा पनि संविधानसभा दलमा भै वैद्य-बाबुराम पक्षमा दुईतिहाइ पुग्ने विश्वास गरिएको छ । दुवै निकायमा प्रचण्ड चालीस प्रतिशतभन्दा कम सङ्ख्यामा रहनुभएमा उहाँले बेग्लै राजनीतिक दल खडा गर्ने हैसियत गुमाउनुहुनेछ । त्यस्तो अवस्थामा प्रचण्ड या त शक्तिहीन भएर बस्न मञ्जुर हुनुपर्नेछ या उहाँले छुट्टै राजनीतिक दल गठन गर्नुपर्नेछ । वैद्य र भट्टराई सकेसम्म प्रचण्डलाई छुटि्टएर जान नदिन कसरत गर्दै हुनुहुन्छ । त्यसैले संसदीय दलको नेताबाट राजीनामा दिएर सहज वातावरण बनाउन किरणले प्रचण्डसँग आग्रह गर्नुभएको छ । तर, उहाँले राजीनामा दिन अस्वीकार गर्दै संसदीय दलमा हैसियत सिद्ध गर्न चुनौती दिनुभएको छ । प्रचण्ड तत्काल केन्द्रीय समितिको बैठक बोलाउने पक्षमा पनि हुनुहुन्नथ्यो । उहाँ केन्द्रीय समितिको विस्तारित बैठक वा कुनै रूपको विशेष सम्मेलन गरेर समस्याहरूको निरूपण गरौँ भन्दै हुनुहुन्थ्यो । तर, वैद्य र बाबुरामले त्यसो गर्न मान्नुभएन । उहाँहरूले असार २९ गते केन्द्रीय समितिको बैठक बस्न चर्को दबाब दिनुभएपछि मात्र प्रचण्ड बैठक बोलाउन बाध्य हुनुभएको हो । असार २९ को बैठक स्थगित गराइने हो कि भन्ने कुरामा चिन्तित वैद्यले कुनै पनि हालतमा बैठक पन्छाउन नदिने अठोट गर्नुभएको बताइन्छ । कदाचित बैठक रोक्ने प्रयत्न भएमा त्यसको प्रतिवाद गर्दै बैठक सञ्चालन गरी एउटा निष्कर्षमा पुर्‍याउन वैद्य पक्ष दृढ रहेको छ । पार्टीलाई एकल होइन सामूहिक नेतृत्व-प्रणालीद्वारा सञ्चालन गर्न वैद्य आफूले सङ्गठनसम्बन्धी, डा. बाबुराम भट्टराईले मोर्चा र सरकार, महासचिव रामबहादुर थापा बादलले सैन्य तथा लडाकुसम्बन्धी विभागको जिम्मेवारी सम्हाल्ने योजना बनेको छ । नारायणकाजी श्रेष्ठ प्रकाशलाई संसदीय दलको उपनेता बनाइने र सरकारमा पार्टी सहभागी हुनुपर्ने अवस्था आएमा उहाँकै नेतृत्वमा सहभागी हुने सोचअनुरूपको समझदारी बनाउन किरण राजी हुनुभएको छ । प्रचण्डको झुटा आश्वासन र ‘मारुनी कार्यशैली’बाट हैरान नारायणकाजी श्रेष्ठलाई वैद्यको कुराले केही भरोसा जगाएको बुझिन्छ । तर, प्रचण्ड श्रेष्ठलाई आफ्नै पक्षमा राखिरहन फेरि पनि भरमग्दुर प्रयास गर्दै हुनुहुन्छ । मंगलबार बिहान पनि उहाँले आफ्नो खास मानिस वर्षमान पुनलाई नारायणकाजी श्रेष्ठको निवासस्थान पठाएर ‘धर्ना’ बस्न लगाउनुभएको थियो । कदाचित श्रेष्ठको साथ छुटेमा लीलामणि पोखरेल र अमीक शेरचनको साथ प्राप्त गर्न प्रयास गर्नुहुने बताइन्छ ।
जे होस्, प्रचण्ड पछिल्लो चरणमा अत्यन्त कमजोर हुनुभएको छ । दुई दशक पुरानो आफ्नो ‘गद्दी’ जाने स्थिति आएपछि प्रचण्डको कार्यव्यवहार थप असन्तुलित र अस्थिर हुँदै गएको छ ।