न्यायिक समितिमार्फत मुद्दाको छिनोफानो

न्यायिक समितिमार्फत मुद्दाको छिनोफानो


भरतपुर महानगरपालिकाको न्यायिक समितिले ७० मुद्दाको छिनोफानो गरेको छ । दोस्रो नगरसभापछि न्यायिक समितिले कार्यान्वयन गर्ने कार्यविधि बनेपश्चात सो अवधिमा ती मुद्दाको छिनोफानो गरेको हो ।

न्यायिक समितिमा परेकामध्ये ५० मुद्दा मेलमिलाप समितिबाट समाधान भएको र २० मुद्दा निर्णय भई अदालतमा सिफारिश भएको भरतपुर महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीले बताए । उक्त अवधिमा ९७ मुद्दा दर्ता भएका थिए । अझै २७ मुद्दा छिनोफानो हुन बाँकी रहेको अधिकारीले जानकारी दिए । पन्ध्र मुद्दा मेलमिलाप समितिबाट निरुपण हुन बाँकी छ । महानगरपालिकाको न्यायिक समितिमा परेका मुद्दा सकेसम्म मेलमिलापबाट टुङ्ग्याउने प्रयास गरिएको उनले बताए ।

‘हाम्रो प्राथमिकता मेलमिलाप गराउनु नै हो’, उनले भने, ‘यस अवधिमा श्रीमान–श्रीमतीको सम्बन्ध विच्छेद गरीपाऊँ भन्दै पुरुषका तर्फबाट ४० मुद्दा परेको छ ।’ विसं २०७५ भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदका मुद्दा सधैं अदालतमा दर्ता हुने गरेका छन् । महानगरको न्यायिक समितिमा दर्ता भएका सम्बन्धविच्छेदका मुद्दा संहिता लागू हुनुभन्दाअघिको मात्र हो । भरतपुर महानगरपालिकाका २९ वटै वडामा मुद्दा पर्ने र त्यहीँबाटै समाधान हुने गरेको अधिकारीले जानकारी दिए ।

वडामा समाधान हुन नसकेका मुद्दा महानगरको न्यायिक समितिमार्फत समाधान गर्ने गरिएको उनको भनाइ छ । तेह्र मुद्दा छिनोफानोको तयारीमा रहेको महानगरपालिकाको न्यायिक समितिले जानकारी दिएको छ । घरभाडा, लेनदेन, जग्गा विवाद, बाटो विवाद, नक्सापासलगायत मुद्दा न्यायिक समितिमा दर्ता हुने गरेका छन् । महानगरपालिकाले प्रत्येक वडामा नयाँ मेलमिलापकर्ताको सूचीकृत गर्ने तयारी गरेको छ । प्रत्येक वडामा कम्तीमा पाँच मेलमिलापकर्ता राख्ने योजना महानगरको छ ।