नेपालमा पहिलोपटक अश्वमेध महायज्ञको आयोजना

नेपालमा पहिलोपटक अश्वमेध महायज्ञको आयोजना


नेपालमा पहिलोपटक यही फागुन १९ गतेदेखि २२ गतेसम्म (३–६ मार्च, २०१९) अश्वमेध महायज्ञको आयोजना हुने भएको छ । साँस्कृतिक तथा व्यापारिक महानगर वीरगन्जको आर्दशनगर रंगशालामा उक्त महायज्ञ हुने भएको छ ।

सोमबार अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । अखिल विश्व गायत्री परिवारको अयाोजना तथा वीरगन्ज महानगरपालिकाको सहयोग र समन्वय साथै विभिन्न धार्मिक, आध्यात्मिक, सामाजिक संघ÷संस्थाहरुको सहभागितामा सनातन विधिविज्ञानसहित २५१ कुण्डीय भव्य यज्ञशाला स्थापना गरी यो महायज्ञ सम्पन्न हुने आयोजकले विश्वास दिलाएको छ ।

उक्त महायज्ञको उद्धघाट्न राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ भने महायज्ञको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते दिउँसो १२ बजे सोही स्थानमा गर्ने कार्यक्रम छ । आयोजकका अनुसार फागुन १९ गते विहान ८ बजेदेखि विहान ११ बजे कलश र विभिन्न झाँकीसहितको कलशयात्रा हुनेछ । त्यस्तै विश्व गायत्री परिवारका प्रमुखद्धय डा. प्रणव पण्ड्या र शैलवाला पण्ड्ये सम्बोधन गर्ने कार्यक्रम रहेको छ । फागुन २० गते विहान बजेदेखि अश्वमेध देवपुजन एवं महायज्ञ हुने पनि आयोजकले जनाएको छ । सोही दिन साँझ ५ बजेदेखि सत्संग, प्रवचन एवं सांस्कृतिक कार्यक्रम पनि रहेको छ ।
त्यस्तै, आयोजकका अनुसार फागुन २१ गते विहान बजे अश्वमेध यज्ञ एवं १२ संस्कारको कार्यक्रम राखिएको छ । सोही दिन साँझ एक लाख बत्तिकको भव्य दीप महायज्ञको कार्यक्रम राखिएको छ । फागुन २२ गते विहान ८ बजेदेखि यज्ञ संस्कार एवम् अश्वमेध महापूर्णाहुति दिने कार्यक्रम राखेको छ ।

मूल आयोजक समितिका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले यो यज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य नै राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउने उधेश्य प्रर्वद्धन गर्नको लागि भएको विश्वास दिलाए । महतोले थपे,‘यसको साथै यो एउटा आध्यात्मिक प्रयोग पनि हो ।’ उनले भने,‘मान्छे शक्तिशाली बन्नको लागि पहिले आफ्नो क्षमता थाहा पाउनुपर्छ, आफ्नो क्षमता थाहा नभए केही पनि गर्न सकिँदैन् । नेपाल तपोभुमी हो, देव भुमी हो । ऋषिमुनिहरुको भूमि हो । यो कुरा हामीले पढेका छौं। अब यसलाई पुरा विश्वमा चिनाउनको लागि महायज्ञ फलदायी हुनेछ । यो साँच्चै देशको नाम चिनाउने कार्यक्रम हो ।’

नेपाल र भारतलगायत विभिन्न ४० देशबाट महायज्ञमा श्रद्धालुहरुको उपस्थिति हुने उक्त महायज्ञ प्रचार प्रसार समितिका सह–संयोजक डा. राजु अधिकारीले जानकारी दिए । मूल समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘महायज्ञको सम्पूर्ण तयारीको संयोजन अखिल विश्व गायत्री परिवार नेपालले गरिरहेका छ। समस्त देशवासीमा साहस एवम् बल वृद्धि गर्नु र राष्ट्रलाई नै समर्थ बनाउनु अश्वमेधको मूल उद्देश्य हो ।’