आमा मृत भेटिइन्, छोराछोरी अझै बेपत्ता

आमा मृत भेटिइन्, छोराछोरी अझै बेपत्ता


सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करिब एक सातादेखि बेपत्ता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुंगादोर्जी शेर्पा ६ फागुनदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नाम्चेको एक विद्यालयमा रहेको होस्टेलमा बसेर पढ्दै आएका उनीहरूलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले सोही दिन बिहान ७ः३० बजे जिम्मा लिएर घरतर्फ लागे पनि त्यहाँ नपुगेपछि खोजी गर्दा सोही दिन दिउँसो १ः३० बजे आमाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा फेला परेको थियो । तर, छोराछोरीको अवस्था अझैसम्म अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘उनीहरूको खोजी जारी राखेका छौँ,’ जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले भने, ‘आजसम्म उनीहरूको अवस्था अज्ञात छ, सबैले खोजीमा सहयोग गरिदिनुपऱ्यो ।’ प्रहरीका अनुसार मृतक महिलाको शव परीक्षणका लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।

मृतकका छोराछोरीको चप्पल र कपडासमेत दूधकोसी नदी किनारमा भेटिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । प्रहरीले आसपासका क्षेत्रमा खोजीलाई तीव्रता दिनुका साथै उक्त नदी बहने छिमेकी जिल्ला ओखलढुंगा, खोटाङ र उदययपुरका प्रहरी एकाइलाई समेत खोजीका लागि आग्रह गरेको जनाएको छ ।

आमाको शव नदी किनारमा भेटिएको र छोराछोरीको कपडासमेत फेला परेकाले उनीहरूसँगै खोलामा हाम फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।