एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु, दुई घाइते

एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु, दुई घाइते


चितवनमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मंगलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग.२च ४६०० नम्बरको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना.१ज ७७७३ नम्बरको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको हो । ठक्करबाट घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी उच्चरक्तचापका बिरामी थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

दुर्घटनामा बिरामीसँगै आएका गोरखा पालुङटारकै ६५ वर्षीय उदयप्रसाद श्रेष्ठ र म्याजिकचालक तनहुँ श्यामघाट–६ का १९ वर्षीय प्रविनकुमार श्रेष्ठ घाइते भएका छन् । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । एम्बुलेन्सको तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।