आधा मात्रै पिननम्बर भएका रिचार्जकार्ड बजारमा

आधा मात्रै पिननम्बर भएका रिचार्जकार्ड बजारमा


डोटीमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइलका रिचार्ज कार्डका पिननम्बर आधा मात्रै भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

डोटीमा बिक्री वितरण भइरहेका कैयौँ रिचार्ड कार्डमा आधा मात्रै पिननम्बर र बिनासिरियल नम्बरका रिचार्ज भेटिएका छन् । बजारमा बिनासिरियल नम्बर र आधा मात्रै पिननम्बरका कार्ड फेला परेको गुनासो आएपछि नेपाल टेलिकम दिपायल राजपुरका प्राविधिक प्रकाश चौधरीले त्यस्ता कार्ड टेलिकममा बुझाउन आग्रह गरे । उनले भने, ‘के–कति कारणले बजारमा त्यस्ता कार्ड गए, हामी छानबिन गर्छौं, हामीलाई बुझाउनुहोस् ।’

बजारमा भेटिएका ती कार्डको कलरसमेत फरक भएको, रिचार्ज गर्ने पिन नम्बर नछोएिको र आधा मात्रै भएको भेटिएको दिपायलका स्थानीय व्यापारी सर्वजित देउवाले बताए । उनले भने, ‘रिचार्ज कार्डको कलर नै फरक छ, पिन नम्बर पनि आधा मात्रै भएको र नछोपिएको छ ।’ बजारमा अहिले भेटिएका ती रिचार्जकार्ड नक्कली भएको हुन सक्ने कतिपय स्थानीयको आशंका रहेको छ । यहाँका रिचार्ज बिक्री–वितरण गर्ने डिलरबाट ग्राहकले किनेका त्यस्ता कार्ड धमाधम फिर्ता हुन थालेको किरण इलेक्ट्रोनिकका प्रोपाइटर किरण भण्डारीले बताए ।

डोटीमा रु. ५० का रिचार्जकार्डमा आधा मात्रै पिननम्बर र बिनासिरियलका भेटिएका हुन् । यस्ता कार्ड बजारमा कति छन् भन्ने तथ्यांक संकलन गरी कहाँबाट आएका हुन् उक्त डिलरलाई सोधपुछ गरिने नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।